ताजा अपडेट »

व्यवसायीको गुनासो : बुटवलमा रात्रीकालिन बजार व्यवहारमा लागू भएन, १० नबज्दै प्रशासनको सिटी

बुधबार, १० साउन २०८०

बुटवल । बुटवलमा रात्रीकालिन बजार सञ्चालन गर्ने भनिएपनि व्यवहारिक रुपमा कार्यान्वयन नभएको भन्दै व्यवसायीहरुले गुनासो व्यक्त गरेका छन् । स्थानीय सकारहरुले आर्थिक चलायमान गराउने भन्दै रात्री कालिन बजार सञ्चालनको कुरा गरे पनि व्यवसायीहरुले रातको १० बजे नै सटर डाउन गर्नुपर्ने बाध्यता रहेको व्यवसायीहरुले गुनासो गरेका छन् । होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीले बुधबार बुटवलमा आयोजना गरेको ‘शान्ती सुरक्षा तथा समसामयिक विषयमा अन्तरक्रिया’ विषयक एक दिवसीय कार्यक्रममा सहभागी व्यवसायीहरुले सो गुनासो गरेका हुन् ।

रातको समयमा व्यवसाय सञ्चालन गर्न पाउने समयावधि बढाउनु पर्ने माग गर्दै उनीहरुले स्थानीय सरकारले घोषणा गरे पनि प्रहरी प्रशासनले सिटी फुक्दै १० बजेभित्र सटर डाउन गराउने गरेको उल्लेख गरे । ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक दानबहादुर थापाले रात्रिकालिन ब्यवसायीहरुको बिरोधी नभएको दाबी गर्दै समुदाय अनुसार यो संचालन गर्न मिल्ने बताए । ‘हामी कुन सोसियो कल्चरमा छौ भन्ने कुरा महत्वपूर्ण छ’— उनले भने । धेरै जिल्लाबाट बसाईसराई भएर आएको विविध क्षेत्रका बसोबासी रहेको तथा बैमन्यश्यतालाई पूरा गर्ने अवसरका रुपमा लिने गरिँदा रात्रीकालिन ब्यवसायमा समस्या देखिएको उनले बताए । प्रहरी सधै कानुन कार्यान्वयन गर्ने पक्षमा ३ वटा पीलाई कार्यान्वयन गर्ने बताए । शान्ति सुरक्षा, अमनचयन कायम गर्नका लागि प्रवद्र्धनात्मक गतिविधि, निरोधात्मक विधि र दण्डनात्मक नीति लागु गर्ने उनले बताए ।

यसैगरी वडा प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक अर्जुन पौडेलले रात्रीकालिन ब्यवसायको विषयमा समाजको फरकफरक दृष्टिकोणका कारण समस्या आईपरेको बताए । आवासिय क्षेत्रमा संचालन गर्न धेरै कठिनाई रहेको भन्दै उनले छुट्टै क्षेत्र तोकेर रात्रिकालिन ब्यवसाय चलाउन सकिने बताए ।
जिल्ला सुरक्षा संयन्त्रको बैठकबाट निर्णय भए अनुसार आफूहरुले कार्यान्वय गरेको उनले दाबी गरे । राजमार्ग, अस्पताल, बिमानस्थल क्षेत्रमा पर्यटक रातिको समयमा भित्रदा समस्या भोग्नुपरेको गुनासो आएको भन्दै छिट्टै नै यसको ब्यवस्थापन हुने उनले बताए । ब्यवसायीहरु स्वनियमलाई पालना गरेर तोकिएको समयमा बन्द गर्न सके सहज हुने उनले बताए । राति १२ बजेपछिको समयमा सबैभन्दा धेरै घटना घटेको उनले दाबी गरे । सवारी दुर्घटना, लुटपाट, मारपिट, हत्याजस्ता घटनाहरु हुने गरेको उनले बताए ।

कार्यक्रममा महासंघका संस्थापक अध्यक्ष तथा संघका प्रमुख सल्लाहकार माधव नेपालले बुटवलमा कालिका पथ र अमरपथबाट रात्रीकालिन ब्यवसाय शुरुवात गर्ने तयारी रहेको बताउँदै होटल व्यवसायीहरुलाई मर्यादित भएर पेशा गर्न सुझाब दिए । ४० वर्षको लामो ब्यवसायिक कार्यकालको अनुभव सुनाउंदै उनले होटल सामान्य पेशाका रुपमा लिईने भएपनि त्यस्तो नभएको दाबी गरे । समुदायको सुधार गर्ने कामलाई सबैको साथ र सहयोग जरुरी हुने उनले बताउँदै उनले नयाँ पुस्तामा नेतृत्व हस्तान्तरण भईरहेको र गम्भीर भएर ब्यवसायी लाग्नुपर्ने बताए ।

संघका जिल्ला अध्यक्ष लेखनाथ भण्डारीले ब्यवसायीक हकहितको पक्षमा सरकारबाट आवश्यक पहल नभएको दुखेसो गरे । ‘कोभिड १९ संक्रमण र अहिले आर्थिक समस्या ब्यवसायीहरुले झेलिरहेका छौ ’–उनले भने । सरकार घोषणामात्र गर्ने तर ब्यवहारमा लागु गर्नेतर्फ ध्यान नदिएको उनले गुनासो गरे ।

वरिष्ठ उपाध्यक्ष माधव खनालले रात्रीकालिन सेवा र शान्ति सुरक्षा, एउटै सिक्काको दुई पाटा भएको दाबी गर्दै यसलाइ सहि ढंगबाट ब्यवस्थापन जरुरी रहेको बताए । कोभिड १९ को संक्रमणबाट भर्खर उठ्न लागेको पर्यटन क्षेत्रमा फेरि आर्थिक लकडाउन भएको बताए । नेपालको जल, पर्यटन र कृषि राष्ट्रको आर्थिक मेरुदण्ड मानिएको उनले दाबी गरे । पर्यटन क्षेत्रमा ठूलो लगानी भएको उनले दाबी गरे । सानो देशहरु अहिले पर्यटनबाट आर्थिक समृद्धि हुन सफल भएको दाबी गर्दै उनले नेपाल प्राकृतिक बरदान पाएको नेपाल उत्कृष्ट गन्तव्यका रुपमा रहेको बताए ।

कार्यक्रममा होटल ब्यवसायी महासंघ लुम्बिनी प्रदेशका पर्यटन उपाध्यक्ष समुन्द्र जिसीले, निवर्तमान अध्यक्ष रामकुमार गौतम लगायतले बोल्दै व्यवसायीहरुका समस्या बारे सरकार गम्भिर बन्न आग्रह गरेका थिए । यसैगरी व्यवसायीक मर्यादालाई ख्यान गर्न समेत आफ्ना सदस्यहरुलाई आग्रह गरेका थिए । लोकदोहोरी प्रतिष्ठानका केन्द्रीय सचिव दिपक गरौजाले नेपाली लोकदोहरीको संरक्षणसंगै कलाकारलाई ब्यवसायीकरण गर्ने रुपमा दोहोरी सांझ प्लेटफर्म भएको दाबी गरे । दोहोरी सांझलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्न जरुरी रहेको उनले बताए । कार्यक्रममा संघका महासचिव अर्जुन थापा, तिलोत्तमा शाखाका संयोजक मीन तिवारीले होटल ब्यवसायीहरुको समस्यामा सरकारको ध्यान जानुपर्ने बताए ।