ताजा अपडेट »

पर्यटनमा प्रदूषणको असर

विहीबार, ०९ माघ २०७६

नेपाल भ्रमण वर्ष- २०२० शुरु हुँदै गर्दा नेपाल घुमेर गएका विदेशी पर्यटकका केहि ट्वीटहरु सञ्चार माध्यमहरुमा निकै चर्चामा आए । ति ट्वीटमा उनीहरुले नेपालको प्रदुषण, शौचालयको दुरावस्था र सडकको दुर्दशाको बारेमा गुनासो गरेका थिए । हुन त नेपालको प्रदुषण तथा फोहरमैलाको बारेमा विदेशी पर्यटकहरुले गरेको यो गुनासो नौलो भने हैन, नेपाल घुमेर गएका पर्यटकहरुले जति नेपालको सुन्दरताको बयान गर्छन, उति नै यहाँको शहरी क्षेत्रको फोहरमैलाको बारेमा समेत गुनासो गर्छन् । पछिल्लो समयमा प्रमुख पर्यटकीय गन्तव्यहरु सगरमाथा, लुम्बिनी, सौराहा, अन्नपूर्ण क्षेत्र, फेवातालमा प्रदुषण बढेको गुनासो गर्ने पर्यटकहरुको संख्या बढिरहेको छ ।

नेपाल प्राकृतिक सुन्दरता र साँस्कृतिक विविधताको लागि प्रसिद्ध छ । यहि हेर्न र अध्ययन गर्नको लागि विदेशी पर्यटकहरु नेपालमा आउने गरेका छन् । तर पछिल्ला वर्षहरुमा यी सम्पदाहरु प्रदुषणको चपेटामा परेकाले पर्यटकहरुले दिक्क मान्न थालेका छन् । नेपालमा धेरै पर्यटक आउने विन्दु त्रिभुवन विमानस्थल हो । यहाँबाट नेपाल टेक्ने वित्तिकै वायु प्रदुषण र फोहरमैलासँग पर्यटकको भेट हुने गरेको छ । काठमाण्डौ उपत्यका दुषित ग्याँसहरूको च्याम्बर बनिसकेको छ । यहाँ हिड्ने पर्यटकले धुवाँ , धुलो र दुर्गन्धबाट बँच्नको लागि नाक मुख थुन्दै हिडेको दृश्य काठमाण्डौँ उपत्यकामा जताततै देख्न पाइन्छ । काठमाण्डौमा जताततै थुप्रिएका फोहरमैला, पुराना सवारी साधन र भट्टीहरुले निकालेको धुवाँ तथा सडक निर्माण लथालिङ्ग हुँदा निरन्तर फैलिरहने धुलोको कारणले काठमाण्डौं उपत्यकाको वायु सधै स्वास फेर्नको लागि अयोग्य रहँदै आएको छ । काठमाडौं उपत्यका भित्रका नदीहरू दुर्गन्धित ढलको रुपमा परिणत भैरहेका छन् । यस्तो दुर्गन्धित वातावारनले गर्दा काठमान्डौ ओर्लने पर्यटकको मनमा नेपालकै बारेमा नकारात्मक छाप पर्ने गरेको छ । यहि कारणले गर्दा धेरै दिन नेपालमा नबिताई फर्कने र नेपालकै बारेमा नकारात्मक कुरा गर्ने गरेका छन्, जसले गर्दा पर्यटन बजारमै नेपालको तस्विर धमिलो हुने गरेको छ ।

समस्या उपत्यकामा मात्र नभएर अन्य पर्यटकीय स्थलमा पनि देखिएको छ । स्थलमार्गबाट धेरै पर्यटक नेपाल पस्ने नाका बेलहिया हो । सुनौनी कटेर नेपाल प्रवेश गर्ने बित्तिकै हिलो र धुलोले पर्यटकलाई स्वागत गरिरहेको हुन्छ । यहाँ सार्वजनिक सौचालय त छ तर त्यहाँ पुग्नको लागि हिलोको आहाल पार गर्नुपर्ने हुन्छ । भैरहवातर्फ आउदैगर्दा प्रदुषित डण्डा नदीले स्वागत गरिरहेको हुन्छ । नेपालको प्रमुख गन्तब्य मध्येको एक लुम्बिनी पनि आन्तरिक र सीमापार प्रदुषणको चपेटामा परेको छ । लुम्बिनी पुग्ने धुलाम्मे सडक, सडक छेउछाउका उद्योगहरुले फ्याँक्ने प्रदुषित वायुले गर्दा लुम्बिनी आउने पर्यटकलाई सताउने गर्छ । लुम्बिनीको प्रदुषणको बारेमा पर्यटकहरुले बारम्बार आवाज उठाए पनि यसको समाधान हुन् सकेको छैन । लुम्बिनी जस्तै पर्यटकीय नगरी पोखराको हालत पनि उस्तै छ । पोखराको आकर्षण फेवा ताल होटेलबाट निस्कने फोहर र पर्यटकहरुले फ्याँकेका फोहरमैलाले गर्दा प्रदुषित भएको छ । प्रदुषणको कारणले जलकुम्भी जस्ता झारपातहरू भरिएर ताल कुरूप बन्दै गएको छ । यसले पोखराको पर्यटन क्षेत्रमा गम्भीर असर पर्ने देखिन्छ ।
नेपालको मुख्य पर्यटकीय आकर्षण हिमाल हो ।

पर्यटन विभागका अनुसार नेपाल भ्रमणमा आउने कूल विदेशिहरुमध्ये १६ प्रतिशत हिमाली क्षेत्रको भ्रमण र आरोहणको लागि आउने गरेका छन् । हिमालको सौन्दर्यताले पर्यटकलाई मोहनी लगाउने गरेको छ । नेपालको प्रमुख पर्यटकीय गहँना बनेको हिमाली क्षेत्र पनि पछिला वर्षहरुमा प्रदुषणको चपेटामा परेको छ । वायु प्रदुषणले बढिरहेको विश्व व्यापी उष्णिकरण समस्याले गर्दा हिमाली क्षेत्रको तापमान वृद्धि भएर हिउँ पग्लने क्रम बढेकोले हिमालहरु कुरूप देखिन थालेका छन् । हिमाल पग्लने र हिम पहिरो जाने क्रममा तिब्रता आएकोले पर्यटकहरुलाई समस्या परिरहेको छ । वायु प्रदुषणको कारणले हवाई दृश्यावलोकन राम्रो नहुने समस्याले पर्यटकहरुलाई निरास बनाउने गरेको छ । हिमाली क्षेत्रमा पर्यटक र पर्वतारोहिहरुको कारणले पनि प्रदुषण बढिरहेको छ । पर्यटकहरु हिमाली क्षेत्रमा जाँदा लैजाने अक्सिजन सिलिन्डरहरू, पेय र खाद्य पदार्थका खाली बोतल र प्याकेताहरु लगायत अन्य सामाग्रीहरु हिमाली क्षेत्रमा जथाभावी फाल्ने गरेकोले सगरमाथा लगायतक चल्तीका पर्वतारोहण र पदयात्राका क्षेत्रहरुमा फोहरमैला बढिरहेको गुनासो बढिरहेका छन् ।

पर्यटन नीति- २०६५ ले पर्यटकीय क्रियाकलापमा प्रयोग हुने हिमशिखरहरू, पदयात्रा क्षेत्रहरु तथा मार्गहरु र जलयात्रामा प्रयोग हुने नदीहरुको वातावरणीय स्वच्छता कायमै राखी दिगो व्यवस्थापन गर्न त्यस्ता क्षेत्रका लागि छुट्टै फोहरमैला व्यवस्थापन तथा वातावरण संरक्षणसम्बन्धी निर्देशिका तर्जूमा गरी लागू गर्ने व्यवस्था भएको एक दशक भैसक्दा पनि त्यस्तो निर्देशिका तयार गरेर फोहरमैला व्यवस्थापन गर्न सकिएको छैन । अब पनि यस्ता गतिविधिहरुलाई पूर्ण नियन्त्रण गरेर हिमाली क्षेत्रलाई फोहरमैला मुक्त राख्न सकिएन भने हिमाली पर्यटनमा गम्भीर धक्का पुग्नेछ । कुनै ठाउँको समाज कति सभ्य छ भन्ने कुराको परिचय त्यहाँको बाटोघाटो र राजमार्गले दिन्छन् । सफा, सुन्दर र हराभरा सडक किनाराले पर्यटकहरुलाई आकर्षित मात्र गर्दैन , घुम्न नहिडेको मानिसलाई पनि घुमांै–घुमौं भन्ने गराउछ । त्यसैले पर्यटकीय मार्गको सौन्दर्यिकरणलाई पर्यटक आकर्षित गर्ने उपायको रुपमा लिने गरिन्छ । हाम्रै छिमेकी देश भारतका सिक्किम, शिमला, चंण्डीगढ़ लगायतका पर्यटकीय स्थानका सडकहरुलाई सफा राख्ने र आकर्षक विरुवाहरुले सजाउने गरेको देखिन्छ ।

हाम्रो देशमा अन्य ठाउँका सडकको त कुरै छोडौ, पर्यटकहरु आवागमन गर्ने र घुमफिर गर्ने ठाउँका सडकहरु पनि व्यवस्थित, सफा र सुन्दर बनाउन सकिएको छैन । वस्ती नजिकका सडकहरु अघोषित डम्पिङ्ग साइट बनिरहेका छन् भने अन्य सडक, बाटो किनारा पनि यात्रीले फालेका पानीका बोतल र अन्य फोहरमैलाले कुरूप बनेको देखिन्छ । सडक किनारमा फोहर थुपारेर बाल्ने, सिनो फाल्ने जस्ता कार्य गर्दा सडकमा यात्रा गर्ने पर्यटक लगायत सर्व साधारणले नाक थुनेर यात्रा गर्नुपर्ने बाध्यता समेत देखिन्छ । यस्ता सडकमा यात्रा गरें बाध्य पर्यटकहरु गन्तव्यमा पुग्न, घुम्न र लामो समयसम्म बस्न कति इच्छुक रहलान ? कम्तिमा पनि राजमार्गमा रहेका पुलको सौन्दर्यिकरण गर्ने, राजमार्ग छेउछाउ सफा राख्ने र साना पार्कहरु बनाउने, सडक किनारामा फुल र अन्य वनस्पतिहरु हुर्काउने गर्ने हो भने पर्यटकलाई आकर्षित गर्न र घुमाउन सजिलो हुन्छ । रुपन्देहीमा तिलोत्तमा नगरपालिका र बुटवल उमनपाको प्रयासले कोटिहवा देखि राजमार्ग चौराहासम्म अहिले सिद्धार्थ राजमार्ग निकै सुन्दर बनेको छ । यो कामको सिको अन्यत्र पनि भए कति राम्रो हुने थियो ?

ब्रिटिश सरकारले गत सेप्टेम्बर २७ मा नेपाल भ्रमण गर्न चाहने ब्रिटिश नागरिककको लागि ट्राभल एडभाइस जारि गरेको थियो । उक्त एडभाइसमा नेपालमा वायु प्रदुषणको स्तर निकै उच्च रहेकोले बालबालिका र प्रौढहरुले नेपालको वायु प्रदुषणको अवस्था यकिन गरेर मात्र नेपाल भ्रमण गर्न सुझाव दिइएको थियो, यो एडभाइजरी अझै पनि हटाइएको छैन । नेपाल स्थित अमेरिकी दुताबासले त हरेक दिन नेपालको वायु प्रदुषणको तथ्यांक आफ्नो वेव साइटमा राख्ने गरेको छ र यसैको आधारमा नेपाल भ्रमण गर्ने सुझाव दिने गरेको छ । नेपालले भ्रमण वर्ष मनाइरहदा र पर्यटनबाट समृद्धि ल्याउन खोजिरहदा पर्यटक आउने मुलुकले नेपालको प्रदुषणको बारेमा आंैला उठाउनुले नेपालको पर्यटन क्षेत्रको भविस्यमाथि नै प्रश्न उठेको छ । तत्कालिन स्वास्थ्यमन्त्री गगन थापाले–०७३ चैत्रमा वायु प्रदुषण सम्बन्धि विशेष प्रस्ताव प्रधानमत्रीसामू प्रस्तुत गरेका थिए । उनको प्रस्तावमा वायु प्रदुषणाले चितवन, लुम्बिनी र काठमाण्डौ लगायतको पर्यटकीय स्थलमा गम्भीर असर पर्न थालेकोले वायु प्रदुषण नियन्त्रणलाइ विशेष कार्यक्रम ल्याएर नियन्त्रण गर्नुपर्ने उल्लेख थियो । २०७५ साल बैशाखमा वनमन्त्रि शक्ति वस्नेतले पनि वातावरण सुधार महा अभियान घोषणा गरेका थिए । तर यी प्रस्ताव र घोषणाहरु कार्यान्वयन हुन नसक्दा प्रदुषणको स्तर बढ्दै गएर पर्यटनमा समस्या थपिरहेका छन् ।

विश्व पर्यटन बजारमा नेपालको मुख्य पहिचान यहाको प्राकृतिक वातावरण हो । यहाँका जल, भूगोल र जंगलमा रमाउन तथा संस्कार र सभ्यता बुझ्न पर्यटकहरु आउने गरेका छन् । पछिल्ला वर्षहरुमा पर्यटकीय क्षेत्र लगायत सबैतिर फोहरमैला, वायु तथा जल प्रदुषण बढेको छ र यो अवस्थाले विश्व पर्यटन बजारमा नेपालको नकारात्मक छबी बन्ने खतरा बढेको छ । नेपाल भ्रमण वर्षलाई सफल पार्न र नेपालमा दिगो पर्यटनको लागि प्रदुषण नियन्त्रण र सौन्दर्यिकरणका कामहरु तत्कालै गर्नु आवस्यक छ । कम्तिमा पनि पर्यटकहरु प्रवेश गर्ने, बस्ने र घुमफिर गर्ने ठाउँहरुलाइ स्वच्छ सफा र हराभरा राख्ने, सडक र पदमार्गहरुलाई व्यवस्थित गर्ने, तालतलैया तथा सडक किनारमा फूल र शोभाका विरुवाहरु हुर्काएर तथा अन्य कलात्मक संरचनाहरु निर्माण गरेर सौन्दर्यिकरण गर्ने जस्ता कामहरू स्थानीय वासिन्दालाई साथमा लिएर तीनै तहका सरकारहरुले गर्नुपछ ।

पदमार्गमा फोहरदानी राख्ने र पर्यटकहरुलाई त्यसैमा फोहर फाल्न लगाउने, हिमाल आरोहण गर्न जानेलाई अनिवार्य रुपमा आफ्ना सामाग्रीहरु फिर्ता ल्याउन लगाउने साथै पर्यटन व्यवसायीलाई उनीहरुले उत्पादन गरेको फोहर वातावरण मैत्री तरिकाले व्यवस्थापन गर्न लगाउनु पर्छ । वातावरणिय प्रभाव मुल्यांकन गरि पर्यटकीय क्षेत्र वरपर संचालनमा आएका उद्योगहरुलाई अन्यत्र सार्ने, पुराना गाडीहरुलाई हटाउने, सडक निर्माण गर्दा धुलो नियन्त्रण गर्ने प्रविधि अपनाउने र निर्माण कार्य छिटो पुरा गर्ने हो भने पर्यटकीय स्थललाई वायु प्रदुषण मुक्त राख्न सकिन्छ । यी कार्यहरुले पर्यटन बजारमा सकारात्मक प्रभाव त पर्नेछ नै नेपालीले समेत स्वच्छ वातावरणमा बस्ने अवसर प्राप्त गर्नेछन् ।