ताजा अपडेट »

बुटवलको न्यू दुर्गा टोलले रकम असुलेको भन्दै कार्यालयमा उपमहानगरको छापा, सबै कागजात नियन्त्रणमा

बुधबार, १७ साउन २०८०

बुटवल । बुटवल उपमहानगरपालिकाले वडा नम्बर ११ स्थित न्यु दुर्गा टोल विकास संस्थाको कागजात नियन्त्रणमा लिएको छ । गैरकानुनी रुपमा रकम असुली गरिएको भन्दै उपमहानगरले मँगलबार दिउँसो कार्यालयमा पुगेर सम्पूर्ण कागजात नियन्त्रणमा लिएको हो ।

संस्थाले जग्गाधनी प्रमाण पूर्जा वितरण गरेको र रकम संकलन गरेको सूचनाका आधारमा नक्कली लालपूर्जा, रकम संकलन गरेका रसिद, जग्गा रजिष्ट्रेशन किताब र अन्य सामग्री नियन्त्रणमा लिएको उपमहानगरले जनाएको छ । टोल विकास संस्थाले आफ्नो क्षेत्राधिकारभन्दा बाहिर गएर काम गरेको र अवैध रुपमा लालपूर्जा वितरण गर्ने र रकम संकलन गर्ने काम गरेकाले सबै कागजात अनुसन्धानका लागि नियन्त्रणमा लिएको भू उपयोग तथा भूमि व्यवस्थापन शाखाका उपनिर्देशक विजयदेव भुर्तेलले जानकारी दिए । उनका अनुसार टोल विकास संस्थाको क्षेत्राधिकार बाहिर गएर जग्गासम्बन्धि काम गरेको पाइएकाले टोल विकास संस्थालाई आवश्यक कारबाही गरिनेछ।

टोल विकास संस्थाले लालपूर्जाका नाममा १ हजार र अन्य शुल्कहरु लिँदै आएको स्थानीय ललिता गुरुङले बताइन्। उनका अनुसार लालपूर्जा पाउने भन्दै स्थानीयलाई शुल्क तिर्न बाध्य बनाइएको थियो। टोल विकास संस्थाका एक सदस्यले भने सबै टोलबासीको सहमतीमा कार्यालय व्यवस्थापन तथा टोलका अन्य विभिन्न विकास निर्माणका लागि आर्थिक संकलन गर्ने उद्देश्यले रकम उठाइएको स्वीकार गरे ।