ताजा अपडेट »

सैनिक जवानकी श्रीमति छोरी जन्माएपछि अपहेलित : डिप्रेसनमा पुगेर आफूसहित छोरीहरु जलाउन खोज्दा गोठ जल्यो

बुधबार, १० साउन २०८०

गुल्मी । श्रीमानको अपहेलनाबाट पीडित भई डिप्रेशनमा पुगेकी एक महिलाले गुल्मीमा आफ्ना सन्तानसहित आत्महत्या प्रयास गर्दा गोठ जलेर नष्ट भएको छ । आफूसँग भएकी २ छोरी र आफूलाई पनि जलाउने प्रयास गर्दा गुल्मीको मदाने गाउँपालिका–१ अग्लुङ्ग निन्युखर्ककी मिना बिकले गोठ जलाउन पुगेकी हुन् ।

नेपाली सेनामा कार्यरत श्रीमान मँगल बिकले छोरी अपहेलना गरेपछि माइती घरमा बस्दै आएकी मिना डिप्रेसनमा पुगेकी छन् । वि.स. २०६९ साल मंसिरमा प्रेम विवाह गरेको यो जोडीले दुई छोरी जन्माएपछि फाटो आएको थियो । मिनाका आफन्तहरुका अनुसार लगातार दुई छोरी जन्मिएपछि श्रीमान मँगलले मिनालाई वास्ता गर्न छाडे, अपहेलनामा रहेकी उनी विगत ५ वर्षदेखि माइतिघरमै बस्दै आइन् । पीडा सहन नसकेर डिप्रेसनमा पुगेकी मिनालाई आफन्तहरुले पटक–पटक आग्रह गर्दा पनि मँगलले उपचार गर्न नखोजेको आरोप छ ।

मिनाकी दिदी दुर्गाका अनुसार गएराती मिनाले आफू पनि मर्ने र छोरीहरुलाई पनि जलाएर मार्छु भन्दै आगो सल्काउँदै जादा गोठ–बङ्गाला जलेर नष्टभयो । उनले भनिन ‘मैले धेरै चोटी ज्वाइँसँग हात जोडे, बरु हजुरलाई अर्को बिहे गर्ने मन छ भने हाम्रै हातले बिहे गराइ दिन्छौ तर बहिनीको डिप्रेशन बिमार उपचार गर्न सुधार केन्द्रमा राखी दिनुसभन्दा वास्तै गर्नु भएन ।’ मँगल नेपाली सेना जाजरकोटस्थित चन्द्रनाथ गणमा कार्यरत छ्न । गएराती गोठ बङ्गालोमा आगो लगाएर हिँडेकी मिना बेखबर भएपछि प्रहरीले उनलाई खोज्दै हिँडेको जिल्ला प्रहरी प्रबक्ता डिएसपी डिल्लीनारायण पाण्डेले बताए ।

खरले छाएको २ तले गोठ जलेर पूर्ण रुपमा जली क्षति भएको डिएसपी पाण्डेले बताए । उनका अनुसार गोठ जल्दा मानवीय, चौपया क्षति नभए पनि नगद तिन लाख पचास हजार, सुनको गरगहँना साढे तिन तोला सुन अन्य जिन्सीसहित १२ लाख बराबरको क्षति भएको दाबी गरिएको छ । घटना स्थलमा ईप्रका पुर्कोटदहका इन्चार्ज कुशल सिंह ठकुरीको नेतृत्वमा प्रहरी टोली खटिएको डिएसपी पाण्डेले बताए ।

बिक परिवारका दाजु–भाइ छैनन् । बाबुको मृत्युपछि आमासहित तीन बहिनी घर–माइती दुबै सम्हालेका छ्न् । दिदि दुर्गाले भनिन ‘नेपाली सेनाका अफिसरहरुले मेरी बहिनीको उद्दारका लागि ज्वाइलाई जिम्मेवार बनाइ दिन विन्ती गर्छु ।’ मिनाका श्रीमान मँगलले भने २०७६ सालदेखि उपचार गर्दै आएको दाबी गर्छन् । आफूले केही सीप नलागेर उपचार गर्न छाडेको उनले उल्लेख गरे । श्रीमतीको उपचारका विषयमा थप प्रश्न उठाउँदा उनले दशै विदामा आएर उपचार गर्ने प्रतिक्रिया दिए ।