ताजा अपडेट »

भैरहवा मालपोतमा मिलेमतो गरी जग्गा पास प्रकरण : जग्गाको रकम पाईन कलमावतीले

बुधबार, १० साउन २०८०

भैरहवा । आफ्नो अनुपस्थितिमै पारीत भएको जग्गा बापतको रकम भारतीय महिला कलमावती यादवले पाएकी छन् । मंगलबार मालपोत कार्यालय भैरहवाको रोहवरमा उनले ९० लाख रुपैया नगद एवम शुक्रबार सम्म पाउने गरि ४० लाखको चेक पाएको जानकारी दिईन । जग्गाको कारोबार गरेको भनिएका ढल बहादुर चौधरीले ९० लाख रुपैया नगदै दिएका हुन् ।

साथै चौधरीले नेपाल एसबीआई बैंकको २०/२० लाखको दुई वटा चेकबाट १ करोड ३० लाख रुपैया कलमावतीका आफन्त धकधई बस्ने राजकुमार यादवलाई रकम बुझाएका हुन् । यस अघि ढल बहादुर चौधरीले जग्गा बापतको रकम बुझाएको भनेका थिए । तर उनले रकम नै नदिई जग्गा आफ्नो नाममा पारीत गराएको अहिले पुष्टि भएको छ । भारत घर भएकी कलमावती यादवले भाईको हत्या पछि अपुताली बापत भाईले पाउनु पर्ने जग्गा पाएकी थिईन । भारतीय नागरिक भएको कारण जग्गा अरुलाई नै हक हस्तान्तरण गर्नु पर्ने उनलाई कानूनी बाध्यता थियो । सोही बमोजिम आफूलाई जग्गा प्राप्तीमा सहयोग गर्ने ढल बहादुर चौधरीलाई उनले जग्गा बिक्रि गरेकी थिईन ।

चौधरीले उक्त जग्गा आफ्नै नाममा नभई बुटवलका हरि प्रसाद पोखरेल र जवाहरलाल कसौधनको नाममा जग्गा पारीत गराएका थिए । मालपोत कार्यालय समेतको मिलेमतोमा जग्गाधनि नै उपस्थित नभई र रकम पनि लेनदेन नभई जग्गा पारीत भएको थियो । जग्गा पास भएको पछि मात्र थाहा पाएकी कलमावतीले त्यसपछि जिल्ला प्रहरी कार्यालयमा ठगिको उजुरी दिएकी थिईन । प्रहरीले यस बिषयमा अनुसन्धान सुरु गरे पछि ढल बहादुर चौधरीले मालपोत कार्यालयकै रोहवरमा नगद र चेकबाट रकम भुक्तानी गरेका छन् । जग्गाधनि नै उपस्थित नभई मालपोत कार्यालयको मिलेमतोमा जग्गा पास भएको एवम जग्गा धनिले रकम नपाएको बारे ग्लोबल आवाजले निरन्तर समाचार सम्प्रेषण गरेको थियो ।

https://www.globalaawaj.com/archives/249396