क्याफेमा कृषि हाटबजार चलिरहेको थियो । किसानहरुले आफ्ना उत्पादनहरु बेच्दै थिए । त्यही थिइन् रक्षा पौडेल पनि । उनले आफ्नो स्टलमा काँचो केरा, फर्सीका मुन्टा, गाभा, पिठो, बेसार र माछाको अचार कलात्मक रुपमा सजाएर राखेकी थिइन् । ग्राहकहरुसँग मीठो बोल्दै आफ्ना बस्तु बेच्दैथिइन् । उनको बिक्रयकला देखेर म दङ्ग थिएँ ।
अरु किसानभन्दा उनी फरक थिइन् । सम्भवत् त्यहाँ उपस्थित किसानहरुमध्ये उमेरले कान्छी समेत । हाउभाव र ग्राहहरुसँग गर्ने व्यवहार उत्कृष्ट । उनको स्टलको फोटो खिचें र केही कुराहरु गर्ने अवसर प्राप्त गरें । नेपाली समाजमा पढेपछि कुटोकोदालो छुन हुन्न,माटोसँग माया लगाउन सम्भव छैन । गोबरसँग गाँसिन हुन्न कि झैं गर्ने नेपाली युवा पुस्ताका लागि रक्षा नमूना हुन सक्छिन् ।
कंकाली माध्यमिक विद्यालयबाट प्रवेशिका परीक्षा उत्तीर्ण रक्षाले विज्ञानमा प्लस टू भने कलंकी काष्ठमण्डप कलेजबाट गरेकी थिइन् । त्रिभुवन विश्वविद्यालय अन्तर्गतको ललितपुर भ्याली कलेजबाट करिव एकवर्ष अघि ब्याचलर्स इन फूड टेक्नोलोजी उत्तर्णि गरेकी छिन् । त्यसैले होला,उनको कृषि हाटबजारमा फरक प्रस्तुती रहेको पाइयो । मधुर मुस्कानसहितको सेवाले ग्राहकहरु उनीप्रति आकर्षित देखिन्थे ।
पर्वत पुख्र्यौली घर भएकी रक्षा भने चितवनमा जन्मेकी रहेछिन् । २०६० तिर उनको परिवार काठमाडौं,चन्द्रागिरी नगरपालिकाको वडा नं. १३ को मितेरी चोकमा बसाइँ सरि आएका रहेछन् । स्टलमा रक्षाले गाभाको मुठालाई साठी रुपैयाँमा र फर्सीको मुन्टालाई पचास रुपैयाँमा बेच्दैथिइन् । बस्तु बेच्दा त्यसको विशेषता र त्यहाँ भएका पौष्टिक पदार्थ अनि महत्वका बारेमा प्रकाश पारिहेकी थिइन् । उनले गाभामा आइरनको मात्रा बढी,फर्सीको मुन्टामा फाइवर पाइने र ताजा तरकारीले मानिसको स्वास्थ्यलाई फाइदा गर्ने बताउँदै थिइन् । उनको त्यो बयानले, ग्राहकहरुलाई बस्तुप्रतिको पौष्टिक ज्ञान जान्न मद्दत पुगिरहेको थियो ।
रैथाने एग्री प्रोडक्ट,नेपालले काठमाडौको दरबारमार्गमा गरेको उक्त निःशुल्क कृषि हाटबजार,पहिलो अभ्यास र प्रयास रहेको थियो । त्यहाँ रक्षाजस्तै किसानहरु आइपुगेका थिए । रक्षाका आमा,बाबाले आफ्नो तीन रोपनी जग्गामा अर्गानिक खेती गर्दै आएका छन् । उनीहरुले गाईको गोबर र गहुँत प्रयोग गरेर तरकारी उत्पादनमा सहयोग लिइरहेका छन् । अर्गानिक प्रविधिबाट तरकारी खेती गर्दा उत्पादन कम र तुलनात्मक रुपमा महँगो हुने रक्षाले सुनाइन् ।
विषय नै फूड टेक्नोलोजी भएकोले खाना बनाउने,विभिन्न किसिमका अचार बनाउने प्राविधिक ज्ञान आफूसँग रहेको रक्षाले बताइन् । साथै उनले यतिबेला डेरी,अचार,वाइन र फलफूलको पिउरीको प्रोजेक्टमा आफ्नो प्राविधिक सेवा दिइरहेकी छिन् । आफ्नो साइड स्टार्ट गर्दै आइरहेकी छिन् ।
रक्षाले आफूलाई वर्तमान परिवेशमा घुलमिल गराउन योग्य छिन् । आफूमा भएको ज्ञान,सीप र कलालाई व्यवहारमा उतार्न सक्षम र सिपालु छिन् । ‘गरे आफ्नै देशमा सम्भव छ ’ भन्ने सन्देश प्रवाह गर्ने रक्षा पौडेलले आफूजस्तै युवाहरुलाई आफ्नै भूगोलमा समर्पित गराई देश विकासको मूलधारमा क्रियाशील गराउन आर.क्वी. फूड सर्भिस सेन्टर खोलेर दर्ता गर्ने अन्तिम तयारीमा छिन् । रक्षा आफ्नै खुट्टामा उभिने हिम्मत राख्छिन् । जहिलेसम्म रैथानेले क्याफेमा कृषि हाटबजार लगाइ रहन्छ , रक्षा त्यही भेटिने छिन् ।
प्रतिक्रिया