ताजा अपडेट »

असुरक्षित बन्यो बुटवल : बीच बजारमा दिनदहाडैं युवामाथि लखेटी-लखेटी खुकुरी प्रहार

आइतबार, ०७ साउन २०८०

बुटवल । सामान्य विवादले उग्र रुप लिएपछि बुटवलका युवाहरु बीच खुकुरी हानाहान भएको छ । बुटवलको रात्रिकालिन बजारका रुपमा चर्चा हुँदै आएको कालिका पथमा दिनदहाँडै खुकुरी नचाउँदै कुटपिटको घटनाले यहाँको सुरक्षा व्यवस्था माथि पनि प्रश्न उठेको छ । रात्रिकालिन बजार सञ्चालन गर्ने भनिएको ठाउँमानै दिनदहाँदै देखिने हिंसात्मक दृश्यले यहाँको पर्यटन तथा अन्य व्यवसायहरुमा समेत सुरक्षा चुनौती थपिएको स्थानीयहरु बताउँछन् ।

युवाहरुको एक समूले खुकुरी तथा ढुङ्गा मुढा प्रहार गर्दा बुटवलका निर्माण व्यवसायी निर्मल खत्री घाइते भएका छन् । गएको शुक्रबार दिउँसो करिब पौने १२ बजेको समयमा बुटवल–११ कालिकापथ अन्तरगत होराइजन चोक नजिकै युवाहरुको कुटपिटबाट खत्रीको ढाड तथा टाउकोमा चोट लाग्दा ६० वटा टाँका लगाउनु परेको छ । तिलोत्तमाको क्रिमशन अस्पतालमा २ दिनको उपचारपछि घर फर्किएका उनी अहिले पनि उपचारका लागि फलोअपमै छन् ।

खत्रीमाथि आक्रमण गर्ने ३ जनालाई ईलाका प्रहरी कार्यालय बुटवलले नियन्त्रण्मा लिएर अनुसन्धान अघि बढाएको छ । पक्राउ पर्नेमा फलफूल व्यवसायी अब्दुल कादिर, कृष्ण केसी र गणेश भन्ने लोकबहादुर कुँवर रहेको प्रहरी नायव उपरीक्षक दानबहादुर थापाले जानकारी दिए । आक्रमणम गर्ने एक आरोपित युवा लगायतका अन्य भने घटनापछि फरार रहेका छन् । करिब ३ दर्जन बढीको समूहमा आएका युवाहरुले बीच बाटोमा रोकेर खुकुरी, हेलमेट, इट्टा लगायतका हतियार प्रयोग गरी आक्रमण गरेको पीडितले आरोप लगाएका छन् ।

नियन्त्रणमा लिइएकाहरुलाई शरिर अङ्गभङ्गको अभियोगमा मुद्दा दायर गरी फरार भनिएका युवा तथा घटना संलग्न अन्यलाई समेत खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । जिल्ला अदालत रुपन्देहीबाट आइतबार म्याद थपको आदेश लिई थप अनुसन्धान अघि बढेको जनाइएको छ ।

निर्माणाधिन सडक भत्काएपछि सुरु भएको विवाद कुटपिटमा परिणत

निर्माणधिन कालिका पथ अन्तरगत बुटवल-११ योगीकुटी नजिकै काली गण्डकी निर्माण कम्पनीका सञ्चालक डि.बी. खत्रीले विहिबार साँझ सडक पीच गर्नका लागि प्राइमर (कालोपत्रे) लगाएर राखेका हुन्छन् । निर्माण सम्पन्न नहुँदासम्मका लागि सवारी साधन चल्न रोक लगाइएको उक्त ठाउँमा स्थानीय व्यापारी अब्दुल कादरीले फलफूल बोकेको ट्रक चढाएपछि सडक भत्किन्छ । सडक भत्किएपछि निर्माण कम्पनीका सञ्चालक खत्रीले कादरीलाई क्षति दिनुपर्ने माग गर्छन् । आफूले बाटो बिगारेर गल्ती गरेको स्वीकार गर्दै उनले पनि भोलि (शुक्रबार) पैसा दिने सहमती अनुसार त्यहाँबाट छुट्टिन्छन् ।

समाचार स्रोतका अनुसार भोली पल्ट क्षतिपूर्ति बापतको रकम लिन निर्माण व्यवसायी डि.बी खत्रीले आफ्ना छोरा निर्मल खत्रीलाई कादरीकोमा पठाउँछन् । यसअघि नै कादरीले विवाद बारे आफ्ना साथीहरुलाई सुनाएका हुन्छन् । उनको कुरा सुन्दै कादरीका साथी सरोज शेरचनले पैसा नतिर्न सल्ला दिन्छन् । आवश्यक परे क्षतिपूर्ति माग्ने व्यवसायी खत्रीलाई धम्क्याउन र थर्काउनका लागि आफूहरुले केटाहरु बोलाउने बताउँछन् । सोही योजना अनुसार शुक्रबार विहान कादरीसँगै सरोज शेरचन, किशन र गणेश भन्ने लोक बहादुर कुवर जम्मा भएका हुन्छन् । उनीहरुले जम्मा भएर व्यवसायी खत्रीलाई धम्क्याउँदै ‘के को पैसा दिने तँलाई ?’ ‘किन दिने ?’ लगायतका प्रश्नहरु गर्न थाल्छन् । उनीहरुको यस्तो व्यवहारले झर्किँदै खत्रीले कादिरलाई झपार्छन् । ‘पैसा दिन्छु भनेर मलाई केटाहरु लिएर कुट्न आउने ?’–खत्रीको यो प्रश्न र त्यसपछिका सवाल–जबाफसँगै उनीहरु बीच सामान्य हात हालाहात हुन्छ । त्यसपछि कादरीको समूह त्यहाँबाट जान्छन् ।

उनीहरु बीचको यो घटनापछि डि.बी खत्री घरतिर लाग्छन् भने छोरा निर्मल खत्रीले आफ्ना साथीहरुलाई घटना बारे सुनाउँछन् । त्यसपछि उनका साथीहरु सुमन गुरुङ, सुमन बस्याल, झविन गौतम निर्मललाई भेट्न योगीकुटी आइपुग्छन् । विवादलाई सकेसम्म छलफलबाटै मिलाउनु पर्छ भन्ने निश्कर्षसहित एक होटलमा चियाँ पीउँदै गफ गर्ने भनि उनिहरु त्यहाँबाट गाडी चढी मिलनचोकतर्फ आइरहेका हुन्छन् । सोही क्रममा यसअघि नै कादरीले बोलाएका करिब ३ दर्जन युवाहरु होराइजन चोकमा जम्मा भएका हुन्छन् ।

बाटोमा आउँदै गरेको अवस्थामा निर्मल खत्रीको गाडीलाई देखेपछि उक्त समूहका युवाहरुले अगाडी मोटरसाइकल तेर्स्याएर बाटो छेक्छन् । बाटो छेकेपछि गाडीबाट उत्रिएका निर्मल खत्रीमाथि त्यहाँ जम्मा भएका युवाहरुको समुहले एक्कासी कुटपिटमा उत्रिन्छन् । खत्रीसँगै भएका अन्य ३ जना साथीहरु ठूलो हुलका बीच केही गर्न सक्ने अवस्थामा हुँदैन । ज्यान बचाउन भागेका खत्रीलाई स्थानीय केही युवाहरुले नजिकैको किराना पसलको सटरमा बन्द गरेर सुरक्षित राख्छन् ।

भाग्यबस सोही समयमा उक्त सडक हुँदै एम्बुलेन्सले हर्न बजाउँदै आएको हुन्छ, कुटपिटमा उत्रिएका युवाहरु प्रहरीको गाडी सम्झेर त्यहाँबाट तितरवितर हुन्छन् । घटना लगत्तै घाइते भएका खत्रीलाई तिलोत्तमाको क्रिमशन अस्पतालमा लगिन्छ भने प्रहरीलाई खबर गरेर ३ जना युवाहरुलाई नियन्त्रणमा लिइन्छ । अन्य युवाहरु भने घटनास्थलबाट फरार हुन सफल हुन्छन् ।