ताजा अपडेट »

क्याफेमा किसान

आइतबार, ०७ साउन २०८०

राति निद्रा राम्रो परेन । सायद सुगर बढेर हो कि ! पिसाव लागि रह्यो । काठमाडौंको चिसोले नि हुन सक्छ । विहान गौतम पौड्याल सरकहाँ डोल्पोबाट ल्याइएको आयुर्वेदिक चिया खाएपछि हल्का भयो शरीर । चना र प्याजको खाजा खाएपछि उनीसँगै सुईकिएर दरबार मार्ग पुगियो स्कूटीमा । लामो समय वन, वातावरण र वन्यजन्तु संरक्षणका क्षेत्रमा क्रियाशील उनी यतिबेला निवृत्त जीवन बिताउँदैछन् ।

शनिवारको विहान । हामी ओरियन्ट क्याफे, दरबारमार्ग पुग्दा विहानको साढे आठ बजिसकेको थियो । त्यहाँको क्याफेभित्र कृषि हाट बजार लागिरहेको थियो । क्याफे भित्र कृषि हाटबजार ! मलाई भने अनौठो लाग्यो । करिव डेढ दर्जन स्थानीय कृषकहरु थिए । कसैले ताजा हरिया तरकारी बेचिरहेका थिए । कसैले मह भने कसैले आलु बेचिरहेका भेटिन्थे । नवलपुर, कावासोतीको राजा च्याउ र डोडे (ठूलो खाले निउरो) किने गौतम सरले पनि । अनि भुटेको मकैसँग दुई गिलास निःशुल्क मोही तन्काए, चुकौनी पनि रन्काए । पाल्पाको चुकौनीले काठमाडौंमा स्थान पाएकोमा म भने खुसीले उम्लिएँ ।


स्यागु, थुन्से, नाङ्गलो, छतरी, पानी घट्ट, ढिकी, भुने, ठेकी, डालो र सारङ्गी हेर्न ग्राहकहरु झुम्मिएका थिए । पहिलो पटक साउन ६ गते सुरु भएको उक्त कृषि हाटबजारको आयोजक रहेछ रैथाने एग्री प्रोडक्ट, नेपाल । “गाउँको उत्पादन सहरमा, रैथाने खाना घरघरमा” नाराका साथ सन् २०१९ मा गठित रैथाने एग्री प्रोडक्ट, नेपाल, सायद नेपालकै नौलो एग्रो कम्पनी हो । सहरको हाटबजार, सहरीया ग्राहक । ग्राहकमात्र थिएनन् । नीति निर्माता, योजनाकार, कृषक, गृहणीहरुको समते बाक्लो उपस्थिती देखिन्थ्यो ।


उक्त प्रोडक्टका अध्यक्ष रहेछन् तिलक ढकाल । लामो समय वन, वातावरण र जैविक विविधता संरक्षणमा रहेर निवृत्त जीवन बिताउँदै आएका उनले देशभरिका आफूजस्तै साथीहरुलाई आफ्नो कम्पनीमा साथी बनाएर अघि बढिरहेका भेटिए । उनको प्रोडक्टले काठमाडौको दरबारमार्गको ओरियन्टल क्याफेमा प्रत्येक शनिवार, विहान ६ वजेदेखि मध्यान्ह १२ वजेसम्म सञ्चालन गर्ने गरी ६ साउन २०८० देखि उक्त कृषि हाटबजार सुरु गरेका रहेछन् । सो हाटबजारमा स्थानीय किसानहरुले स्टलको भाडा तिर्नुपर्ने रहेनछ । साथै उपस्थित सबै ग्राहक र किसानहरुलाई निःशुल्क मोही वितरणको व्यवस्था समेत रैथानेले नै मिलाएको रहेछ । हिक्की नामकी महिलाले ठेकीमा घार्रघुर्र मोही पार्दे इच्छुक सबैलाई पिलाइ रहेकी थिइन् । मोही खाएपछि हिक्कीको फोटो खिच्नेको घुँइचो थियो ।

अग्ला कदका तिलक सरले आगन्तुक सबै खालका ग्राहकहरुलाई स्वागत गर्दै आफ्नो रैथाने एग्रो प्रोडक्टले किसानहरुका उत्पादनलाई बिनाबिचौलिया ग्राहकहरुसँग पुराउने उद्देश्यका साथ साप्ताहिक कृषि हाटबजार सुरु गरेको सुनाउँदै थिए । उनले यो बजारले उपभोक्ता र उत्पादकबीचको गहिरो सम्बन्ध स्थापना गर्ने, बिनाबिचौलिया कृषि उत्पादक र ग्राहक बीचको बजारीकरणमा सहयोग गर्ने, जलवायु अनुकूलित रैथाने कृषि प्रणालीको प्रवर्द्धन र खाद्य सुरक्षामा योगदान दिँदै साना तथा सीमान्तकृत किसानहरुका समृद्धिमा टेवा पुराउन, जैविक कृषि र मौलिक नेपाली खानामा जोड दिन समेत यो कृषि हाटबजारले सहयोग गर्न सक्ने उनले उल्लेख गरे ।

उक्त कृषि हाटबजारमा विभिन्न पार्टीका नेताहरु देखिन्थे । योजना आयोगका पूर्व उपाध्यक्ष डा.दिनेशचन्द्र , कृषि बैंकका पूर्वकर्मचारी, पर्यटनसँग सरोकार राख्ने संस्थाहरुका जिम्मेवार ब्यक्तिहरु, चिकित्सक, पत्रकारको समेत बाक्लो उपस्थिती देखिन्थ्यो । कृषकका रुपमा बिटेक उत्तीर्ण रक्षा पौडेल (विस्तृत स्टोरी पछि आउने छ ।) आफ्नो उत्पादन बेच्दै थिइन् ।

रैथाने एग्रो प्रोडक्टले सञ्चालन गरेको कृषि हाटबजारलाई व्यवस्थित रुपमा सञ्चालन र व्यवस्थापन गर्नका निम्ती कृषिविज्ञ्, पोषणविज्ञ् र आयोजकतर्फबाट समेत गरी पाँच सदस्यीय अनुगमन तथा निरीक्षण उपसमिति गठन भएको रहेछ । जसका कारण कुनै किसिमका मिसावट र कैफियत हुने छैन । निःशुल्क स्टलका कारण उक्त कृषि हाटबजार निरन्तर सञ्चालन हुन सक्नेछ । तर स्थायी ग्राहकहरुको खोजीमा भने आयोजकले बढी मिहिनेत गर्नुपर्ने देखिन्छ । कृषि हाटबजारमा रैथान बीऊबीजनका बारेमा समेत परामर्श सेवा दिइएको थियो । सीपमा आधारित हस्तकलाले कृषि हाटबजारलाई सुनमा सुगन्ध थपेको भेटें ।

मन्दमन्द संगीतको धून, कोलाहलविहीन कृषि हाटबजार, निश्चित किसानहरु, भलाद्मी ग्राहक र अनुभवी एवम् सक्षम आयोजक रैथाने एग्री प्रोडक्टको संयोजनले पहिलो पटकमै कृषि हाटबजार सफल भएको मैले अनुभव गरें । रैथानेको कृषि हाटबजार देखेर केही क्षण रमाएँ । कुनातिरको सोफामा बसेर किसानको क्रियाकलाप हेरें । ग्राहकहरुको व्यवहार नियालें । तराईका बजारमा जस्तै कृषकहरु चिच्चाएर आफ्नो बस्तुहरु बेचेका थिएनन् । अनि सामानको भाउ घटाएर किसानको अवमूल्यन गर्ने ग्राहकहरु पनि देखिनँ मैले । माथिल्लो तलमा बसेर कफी पिउँदै किसानका कुरा गरेको पनि सुनें । तल लागेको कृषि हाटबजारको दृश्य मनमोहक देखिन्थ्यो ।

ढाइघण्टा कृषि हाटबजारमा भुलिरहँदा मैले मेरो गाउँको उत्पादन सम्झिरहें । पहिला पहिला बिचौलियाले किसानको ढाड सेकेको कुरा अनि किसानहरुले बजार नपाएर आफ्नो उत्पादन सस्तोमा बेचेको कहानी मनमा गुञ्जिरह्यो । पछिल्लो पटक पाल्पाको तिनाउ गाउँपालिकाले आफ्ना किसानहरुलाई केही राहत दिनका निम्ति बुटवलमा कृषि हाटबजारका लागि सटर लिएर काम थालेको कुराले हल्का मन सन्तोष भयो । मनमा अनेक कुरा खेलिरहे ।

किसानले आफ्नो उत्पादनको मोल कहिले पाउलान् ? बिचौलिया बिहिन बजार कहिले होला ? बजारीकरणमा सरकारले कहिले सहयोग गर्ला ? किसानहरु कहिले सम्मानित होलान् ? माटोको सुगन्ध सुघ्ने सरकार कहिले आउला ? मनमा यिनै कुराहरु खेलिरहे । यति कुरा मनमा खेलाउँदै गर्दा सँगै बसेका गौतम सरलाई मैले भुलेको रहेछु । हामी कृषि हाटबजारबाट हाँडीगाउँ नजिकै विशालनगर ,गौतम सरकहाँ फर्किदा विहानको ११ बजिसकेको थियो ।