बुटवल । स्टुडेन्ट काउन्सिल अफ होराजन जीबीएसले ब्रेन्ड ट्युमरको उपचार गराइ रहेकी पूर्व विद्यार्थी श्रद्धा श्रेष्ठलाई आर्थिक सहयोग प्रदान गरेको छ। रूपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिका वडा नम्बर २ स्थायी बसोबास भई ५ वर्ष अगाडि वैदेशिक रोजगारीको शिलशिलामा जापान पुगेकी श्रद्धालाई ४ महिनाअघि डाक्टरले ब्रेन्ड ट्युमर भएको जानकारी दिएका थिए । श्रीमानसँगै जापान गएकी श्रद्धाकी ५ वर्षकी एक छोरी रहेकी छन्।
आर्थिक सहयोग कार्यक्रममा बोल्दै विद्यालयका प्राचार्य गोपाल आचार्यले स्टुडेन्ट काउन्सिल अफ होराजन जीबीएसले विगतदेखि नै अप्ठ्यारोमा परेका विद्यार्थी तथा अभिभावकलाई आर्थिक ,नैतिक रूपमा साथ र सहयोग पुर्याउँदै आएको स्मरण गरे । स्टुडेन्ट काउन्सिलका विद्यार्थीले अभियान सञ्चालन गरी प्राध्यापक, कर्मचारी तथा विद्यार्थीबाट सङ्कलन गरेको ३१ हजार १७० रूपैयाँ बिरामीका आफन्त प्रकाश श्रीसलाई प्रदान गरेका छन् । विद्यालयका प्राचार्य गोपाल आचार्य, सहायक प्राचार्य इन्द्र भुसाल, प्राध्यापक डा. नारायणप्रसाद पन्थ, प्रदीप अर्याल, प्रकाश घिमिरे तथा काउन्सिलका भ्वाइस प्रेसिडेन्ट स्मारिका थापा लगायतको उपस्थिति रहेको थियो । आर्थिक सहयोग ग्रहण गर्दै प्रकास श्रीसले सहयोगप्रति आभार प्रकट गरे ।
प्रतिक्रिया