ताजा अपडेट »

भैरहवामा जग्गाधनी नै नआई मालपोतको मिलेमतोमा जग्गा पास

आइतबार, ०७ साउन २०८०


भैरहवा । तपाईको नाममा जग्गा छ ? यदि त्यो जग्गा मालपोत कार्यालय भैरहवा अन्तर्गत रहेको छ भने अलि होसियार रहनुहोला । समय-समयमा मालपोत पुगि आफ्नो जग्गा आफै जाँच गर्नुहोला । अन्यथा तपाईको जग्गा थाहै नपाई कतिबेला अर्कैको नाममा पारीत हुन सक्छ । अर्को तर्फ तपाईले भैरहवा मालपोत मार्फत जग्गा खरिद गर्दा पनि ख्याल गर्नुपर्छ नत्र तपाईको लाखौ रकम आकाशे कित्ताको कारण डुब्न सक्छ ।

मालपोत कार्यालय भैरहवाबाट त्यहीका कर्मचारीहरुको मिलेमतोमै पटक-पटक यस्ता किर्ते कामहरु हुँदै आएको छ । जिल्लामा रहेका अधिकांश सरकारी जग्गाहरु किर्ते मिसिल खडा गरि ब्यक्तिका नाममा दर्ता भएका छन् । भू-माफियाहरुसंग मिलेमतो गरि जग्गा हडप्न जानेका मालपोत कर्मचारीको अर्को बदमाशी अहिले फेरी सार्वजनिक भएको छ ।

भू-माफियाहरुसंगको मिलेमतोमा जग्गाधनी नै उपस्थित नभई जग्गा अर्कै ब्यक्तिको नाममा पारीत गरेको रहस्य खुलेको छ । भारत घर भई नेपालमा अपुताली जग्गा प्राप्त गरेकी एक महिलाको जग्गा भू-माफिया र मालपोतका कर्मचारीहरुको मिलेमतोमा महिलालाई रकम नै नदिई पास भएको पाईएको छ ।

भारत महाराजगञ्ज जिल्लाकी कलमावती यादवको माइत सियारी गाउँपालिका वडा नम्बर २ मा हो । उनको भाई राजिन्द्र यादवको अंश मागेकै कारण हत्या भएको थियो । राजिन्द्र यादवको भागमा पर्ने जग्गा पछि अदालतको आदेश अनुसार कलमावती यादवले पाईन । अनागरिक रहेको कारण हकभोग गर्न नपाउने भएको कारण उनलाई उक्त जग्गा बिक्रि गर्नुपर्ने बाध्यता रहेको थियो ।

उनलाई सो जग्गा प्राप्तीमा सियारीकै ढाल बहादुर चौधरीले सहयोग गरेका थिए । “जग्गा मेरो नाममा आएपछि १ करोड रुपैयाँ दिने र जग्गा पास लिने चौधरीले भनेका थिए ।”-कलमावतीले भनिन । यादवको नाममा जग्गा आएपछि असार २५ गते चौधरी मालपोत कार्यालयमा पुगेका थिए । चौधरीले उक्त जग्गा आफ्नो नाममा नभई दिगाम गुल्मी घर भै हाल बुटवल बस्ने हरि प्रसाद पोखरेल र बुटवल नै बस्ने जवाहिर लाल कसौधनको नाममा जग्गा पारीत गरेका छन् । पोखरेलको नाममा साविक मैनहिया गाविसको वडा नम्बर ७क कित्ता नम्बर ६७ को १४ कठ्ठा ८ धुरबाट ६ कठ्ठा ४ धुर र सोही गाविसको वडा नम्बर ७ख को कित्ता नम्बर १०० को २ कठ्ठा १३ धुर गरि ८ कठ्ठा १७ धुर जग्गा पास गरिएको छ । यी जग्गाको थैली रकम ५२ लाख १ हजार रुपैया राजीनामाको लिखतमा उल्लेख रहेको छ ।

यस्तै जवाहर लाल कसौधनको नाममा थैली रकम ८३ लाख ९ हजार रुपैया उल्लेख भएको साविक मैनहिया गाविसको वडा नम्बर ७ख कित्ता नम्बर १२० बाट ५ कठ्ठा साढे १३ धुर जग्गा पारीत भएको छ । पिडित कलमावती यादवका अनुसार ढाल बहादुर चौधरीले भने अनुसार असार २५ गते मालपोत कार्यालय भैरहवामा जग्गा पास गर्न जादा उनले आफुले पाउनु पर्ने रकम माग गरिन । “मैले गर्नु पर्ने सबै ठाउमा मेरो हस्ताक्षर गराए, मैले रकम माग गर्दा बिभिन्न तरिकाले उनिहरुले आलटाल गर्न थाले ।” उनले भनिन् “मैले पाउनु पर्ने रकम नपाएपछि म पारीत गर्न मानिन र मेरो घर भारत फर्किए ।”

असार २५ गते पारीत नभएको दुबै राजीनामा मध्ये पछि उनको अनुपस्थितिमै एउटा असार २७ गते र अर्को असार २८ गते पारीत भयो । मालपोत कार्यालयका मालपोत अधिकृत बाल प्रसाद श्रेष्ठले जग्गा धनि नै नभई र रकम नै नपाई आफ्नो नामको जग्गा पारीत गरिदिएको पिडितले बताईन । आफ्नो करोड बढी पाउनु पर्ने रकम गुमेपछि अहिले उनि बिभिन्न निकाय धाईरहेकी छिन् । यी सबै कामको “मास्टर माईण्ड” ढाल बहादुर चौधरी र लेखापढी ब्यवसायी भागवत प्रसाद उपाध्याय एवम हालका जग्गा धनिहरु हरि प्रसाद पोखरेले र जवाहर लाल कसौधन लाई कार्यवाही हुनुपर्ने उनको माग छ । स्मरण रहोस भागवत प्रसाद यादव तिनै लेखापढि ब्यवसायी हुन जो पटक पटक किर्ते एवम जालसाजीको आरोपमा हिरासतमा बसिसकेका छन् । मालपोत कार्यालयमा हुने किर्ते एवम जालसाजी मूलक घटनामा उनको नाम जोडिएकै हुन्छ ।

कलमावती सित जालझेल भएको अर्को कागजातले पनि पुष्टि गरेको छ । लेखापढि ब्यवसायी भागवत प्रसाद उपाध्यायले उनै कलमावती एवम जवाहर लाल कसौधन बिच बैनाको कागज पनि बनाएका छन् । कलमावतीको नाममा २०८० सालको जेठ १९ गते प्राप्त हुन आएको जग्गाको बैना बापत उनले २०७८ साल असार ४ गतेमै ८० लाख १० हजार बुझाएको देखाएका छन् ।

यस्तै अर्का ब्यक्ति हरि प्रसाद अर्यालले २०७८ असार ५ गते ५० लाख १ हजार बैना बापत रकम दिएको कागज राजीनामा लिखतमा संलग्न राखेका छन् । तर यो दुबै बैनाको कागज किर्ते भएको कलमावतीको दावी छ । “मैले कुनै रकम बुझेको छैन, मेरो नाममा के कति जग्गा कहिले आउने उहाहरुलाई कसरी थाहा भयो ?” उनले भनिन “यी बैनाका कागज पनि सबैको मिलेमतोमा तयार पारिएको हो, त्यसमा रहेको औठाछाप पनि मेरो हैन ।”

बैनाको कागज किर्ते रहेको हालका दुबै जग्गा धनिहरुको भनाईले पनि पुष्टि हुन्छ । यस बिषयमा कुरा गर्दै जग्गाधनि हरि प्रसाद पोखरेलले आफुले सबै रकम ढाल बहादुर चौधरीलाई नगदै दिएको बताए । “मैले कुनै बैनाको कागज गराएको छैन, सबै रकम पास गरेको दिन दिएको हु ।” पोखरेलले भने “त्यस बेला जग्गा धनि कलमावती यादव पनि त्यही हुनुहुन्थ्यो ।”

पोखरेलकै भनाई संग ठ्याक्कै मेल खान्छ अर्का जग्गाधनि कसौधनको पनि उनले पनि आफुले ढाल बहादुर चौधरीलाई नै रकम दिएको बताए । “सबै कारोबार चौधरीले गर्नुभएको हो ।” कसौधनले भने राजीनामा, बैनाको सबै कागजहरुमा साक्षीको रुपमा सिद्धार्थनगर नगर पालिका वडा नम्बर ११ बस्ने जगदिश भर र मैनहिया ३ बस्ने अजय चौधरी साक्षीका रुपमा रहेका छन् । मालपोत कार्यालयका कर्मचारी, लेखापढि ब्यवसायी, जग्गाधनि एवम साक्षीहरुको समेत मिलेमतोमा जग्गा पास भएको आरोप कलमावतीको रहेको छ । “सोही जग्गाको कारण भाईको हत्या भयो, लामो संघर्षपछि मैले उक्त जग्गा पाए ।” उनले भनिन “त्यसमा पनि बेईमानी गरे ।”

मालपोत कार्यालयका मालपोत अधिकृत बाल प्रसाद श्रेष्ठले नियम अनुसार नै उक्त जग्गाको रजिष्ट्रेशन सदर गरेको दावी गरेका छन् । उनले पहिलो दिन जग्गाधनि कलमावती यादव उपस्थित भएको बताए । “उहा आफै कार्यालयमा उपस्थित भई सहिछाप गर्नुभएको हो ।” श्रेष्ठले भने “कार्यालयमा उहाले बायोमेट्रिक गरेको सुरक्षित छ ।” अर्को तर्फ श्रेष्ठले उक्त राजीनामा लिखत हाकिमको आदेश अनुसार पारीत गरेको बताए । “मैले यस बिषयमा हाकिम साबलाई सोधे, उहाले पारीत गरिदिदा हुन्छ भने पछि मैले पारीत गरेको हु ।” पारीत गर्दा पनि राजीनामा लिखतमा श्रेष्ठले “प्रमुख मालपोत अधिकृत ज्यूको निर्णय अनुसार” भनि उल्लेख गरेका छन् ।

यस बिषयमा ढाल बहादुर चौधरी संग सम्पर्क गर्दा उनले ५ लाख बाहेक यादवलाई सबै रकम दिई सकेको दावी गरे । कलमावती यादवले भने जस्तो केही नरहेको दावी गर्दै उनले यादवकै आफन्तले कमिशनको चक्करमा उनलाई उचालेको आरोप समेत लगाए । “मैले नै सो जग्गा उनको नाममा ल्याउन सहयोग गरेको हु, अहिले म माथि नै आरोप लागेको छ ।” चौधरीले भने ।

कलमावती देवीले अरोप लगाएका आरोपितहरुले रकम दिएको बताईरहदा भने बिभिन्न कागजातहरुले उनको रकम हिनामिना भएको देखाउछ । जग्गा आफ्नो नाममा नआउदै भारतीय नागरिकले कसरी बैना लिन मिल्छ ? यादवलाई रकम बुझाएको प्रमाणको रुपमा उक्त बैनाको कागज बाहेक अन्य केही पनि छैन ।