ताजा अपडेट »

कुटपिट गर्ने प्रहरी अधिकृतलाई निलम्बन र बारा प्रहरी प्रमुखको सरुवाको माग गर्दै कांग्रेस प्रदर्शनमा

शुक्रबार, ०५ साउन २०८०

बारा। नेपाली कांग्रेस बाराले घटनामा संगालन प्रहरी अधिकृतको निलम्बन तथा जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख होबेन्द्र बोगटीको सरुवाको माग गरेका छन् ।  नेपाली कांग्रेस बाराले जिल्ला सचिव भैयाराम यादवमाथि कुटपिट गर्ने प्रहरी अधिकृतलाई निलम्बन र जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख होबेन्द्र बोगटीको सरुवा गर्न माग गर्दै शुक्रबार पनि कलैयामा प्रदर्शन गरिने भएको छ । 

यसअघि नेपाली कांग्रेस बाराले बिहीबार पनि कलैयामा प्रदर्शन भएको थियो । बारामा पछिल्लो समय बिनाकारण प्रहरिले आफ्नु जिम्मेवारी भुलेर बाराका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक बोगटीको निर्दशनमा प्रहरी दमन बढ्दै गएको र प्रहरीनै गुण्डा सैलिमा प्रस्तुत भएको भन्दै कांग्रेस बाराले उनीहरुलाई कारबाहीकाे माग गरेको हो । एक वर्ष भन्दालामो समय बारामा बिताएका प्रहरी उपरीक्षक बोगटीले आफ्नु सरुवा पटक पटक थमौती गर्नुमा पनि स्वार्थ रहेको र यहाँका प्रहरीले शान्ति सुरक्षामा भन्दा पनि निजी स्वार्थमा बढी केन्द्रित रहेको उनीहरुको आरोप छ । 

प्रहरीले जिल्ला प्रहरी कार्यालय परिसरमा सोमबार राति दलका प्रतिनिधिलाई बिनाकारण कुटपिट गर्छ भने अन्य सर्वसाधरण र थुनामा रहेकाको स्थिति कल्पनासमेत गर्न नसकिने भन्दै यादवमाथि कुटपिट भएको घटनापछि आन्दोलित बनेको कांग्रेसले प्रहरीविरुद्धको प्रदर्शन जारी राखेको हो । कांग्रेसले प्रहरी प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक पुरुषोत्तम पाण्डे र प्रहरी निरीक्षक रुपेश साहलाई निलम्बन तथा बाराका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक होबेन्द्र बोगटीको सरुवा नगरेसम्म आन्दोलन नरोक्ने चेतावनी समेत दिएको छ ।

प्रहरी अधिकारीद्वय पाण्डे र साहले सचिव यादवलाई कार्यालय परिसरमा कुटपिट गर्दै थुनेर मानसिक यातना दिएको कांग्रेसको आरोप छ भने उनीहरु बाराका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक बोगटीको निदेशनमा सो कुटपिट भएको आरोप लगाएका छन । सवारी दुर्घटना सम्बन्धित विषयमा छलफल गर्न पुगेका बेला यादवमाथी कुटपिट भएको भन्दै कांग्रेसले बुधबार प्रमुख जिल्ला अधिकारी नवराज सापकोटालाई ज्ञापनपत्र समेत बुझाएको थियो ।

प्रहरीले कांग्रेस सचिव यादवमाथि कुटपिट गर्दा आफ्नो पार्टीका जिल्ला उपसचिव ध्रुव यादवमाथि समेत दुर्व्यवहार भएको भन्दै एकीकृत समाजवादीले समेत कांग्रेसको मागमा समर्थन जनाएको छ । दुवै पार्टीको संयुक्त आयोजनामा प्रहरीविरुद्ध र्याली तथा विरोधसभाको समेत आयोजना गरिएको थियो ।

विरोधसभामा नेपाली कांग्रेसका नेता एवम् महागढीमाई नगरपालिकाका नगर प्रमुख उपेन्द्र यादव, कांग्रेस जिल्ला सचिव राजेश रौनियार, नेकपा एसका जिल्ला सचिव विक्रम ठाकुरलगायतले सम्बोधन गरेका थिए ।

कलैया–बघवन सडकमा तीन साताअघि भएको पिकअप भ्यान र मोटरसाइकल एकआपसमा ठोक्किएर भएको दुर्घटनाको विषयमा छलफल गर्न कांग्रेस सचिव यादव सोमबार साँझ जिल्ला प्रहरी कार्यालय पुगेका थिए । सो क्रममा प्रहरी निरीक्षक साहले ‘सबै बिगारेको पञ्चहरुले हो, सबै पञ्च दलाल हुन्’ भनेपछि आफूले उक्त शब्दको विरोध गरेका र विरोध गर्ने क्रममा आफूमाथी कुटपिट भएको यादवले बताएका छन् । कुटपिटबाट यादवको अनुहारमा चोट लागेको छ ।