गुल्मी । गुल्मीको मालिका गाउँपालिकाले रैथाने आलुलाई ब्राडिङ्ग गरी बजारमा ल्याएको छ । कृषि ज्ञान केन्द्र गुल्मीसँगको सहकार्यमा स्थानीय रैथाने जातको आलुलाई बिहिवार सदरमुकाम तम्घासमा एक समारोहका बीच ब्राडिङ्ग र प्याकेजिङ्ग गर्दै सार्वाजानिक गरिएको हो ।
‘गाउँका कृषकले बजार पाउने, शहरका उपभोक्ताले गुणस्तर पाउने’ भन्ने मूल नाराका साथ स्थानीय पहिचानसँग जोडिएको मालिकाको रैथाने आलुको ब्राण्ड, लेवल र प्याकेजिङ्ग सार्वाजानिक तथा त्यसको परिकार प्रदर्शन गरिएको छ । सो अवसरमा जिल्ला समन्वय प्रमुख द्रोणबहादुर खत्रीले कृषकलाई थप प्रोत्साहित गरी उत्पादनलाई देश विदेशसम्म पुर्याउनु पर्नेमा जोड दिए ।
कृषि ज्ञान केन्द्र र मालिकाको ५० प्रतिशत लागत सााझेदारीमा रैथाने र ढोरपाटनको आलुको विउ रोपण गरी यस वर्ष ३ सय टन आलु उत्पादन गरिएको हो । ब्राण्डिङ गरिएको आलू हालसम्म ५० टन बढी विक्री भैसकेको पालिका अध्यक्ष देविराम अर्याले दाबी गरे ।
उनले अर्को वर्ष ३ सय टन आलु बुटवल र भैरहवामा चिस्यान केन्द्र स्थापना गरी विक्रि गर्ने लक्ष्य लिईएको बताए । पालिका उपाध्यक्ष उपेन्द्र अर्याले सहकारी मार्फत विक्रि वितरण गरिएको र मालिकाको रैथाने आलुमा ब्यापारिहरुले मिसावट गरेर उपभोक्ता ठगिनबाट बचुन भन्ने उद्देश्यका साथ तम्घास, बुटवल लगायतका शहरका निश्चित पसल तोकिएको बताए ।
यस अघि नेपालमा मुस्ताङ्गे आलु, दोलाखाको मुडे आलु्, ढोरपाटन, चौधरीको आलु, जुम्ले आलु बेग्लै स्वादको मानिदै ब्राण्डिङ्ग गरिएको छ । तर अहिले ब्राण्डिङ्ग गर्न लागिएको मालिकाको सेतो आलु अन्यत्र भन्दा रङ्ग, आकार र स्वादमा बेग्लै र थप स्वादिलो रहेको कृषि ज्ञान केन्द्रका प्रमुख नवराज भण्डारीले बताए ।
कार्यक्रममा रुरुक्षेत्र गाउँपालिका अध्यक्ष यदु ज्ञवाली, धु्र्कोट गाउँपालिका उपाध्यक्ष सीता गिरी, जनमोर्चाका नेता हरिपसाद न्यौपानेले धारणा राखेका थिए । उनीहरुले उत्पादन वृद्धि र दिगोपनका लागि पालिकाले जोड दिनु पर्ने सुझाए । त्यस्तै आलु उत्पादनको उद्गगम थलो मालिका भए पनि ब्रान्डिङ्ग प्रचारमा गुल्मी जोड्न सके देश विदेशसम्म यहाँको कफिले बजार पाए जस्तै आलुले पनि पाउने नागरिक समाजका अगुवा पदम पाणे र यमबहादुर थापाको सुझाव थियो ।
मालिका गाउँपालिका प्रबक्ता तथा वडाध्यक्ष ज्ञानकुमार बुढाका अनुसार मालिकाको आलुको उदगम थलो हवाङ्गीको जुकेना टोल हो । जहाँ यसवर्ष १० लाख मूल्य बराबरको आलु फलेको छ । त्यसपछि अर्खबाङ्ग हो । त्यहाँको आलुले जिल्लाकै माग थेग्न सकेको छैन । त्यहाको आलुको स्वाद अन्यभन्दा भिन्न र तिख्खर हुने भनि प्रशंसा गरिएको छ ।
प्रतिक्रिया