ताजा अपडेट »

इतिहास सम्झाउने नाटक

विहीबार, ०४ साउन २०८०

झपेन्द्र जिसीको हालै प्रकाशित नाटक अमर–उजिर (२०८०)एक ऐतिहासिक नाटक हो । २०१० पुस २७ गते पाल्पा, मदनपोखरामा जन्मेका जिसी राजनीतिक तथा सामाजिक व्यक्तित्वका साथैलेखक पनि हुन् । यस पूर्व उनका करिब एक दर्जन पुस्तक प्रकाशित भइसकेका छन् । प्रस्तुत नाटक जीतगढी युद्ध (नेपाल–अङ्ग्रेज युद्ध) सँग सम्बन्धित छ । यसले लेखकलाई नाटककारका रूपमा समेत उभ्याएको छ ।

साहित्यका विभिन्न विधाहरूमध्ये नाटक एक प्रमुख र प्राचीन विधा हो । आचार्य भरतले झण्डै २२÷२३ सय वर्ष पहिले नाटकका बारेमानाट्यशास्त्रनै लेखेका छन् । भरतपछि पनि विभिन्न आचार्य तथा विद्वान्हरूले नाटकका बारेमा विमर्श गरेका छन् । नाटक मञ्चन तथा अभिनय गर्न मिल्ने खालको हुनुपर्छ । त्यसैले नाटकलाई अङ्क तथा दृश्यमा विभाजन गरिएको हुन्छ । लेखिएको नाटक मञ्चन योग्य भएन भने नाटक लेख्नुको उद्देश्य पूरा हुँदैन ।

कथावस्तु वा कथानक, पात्र वा चरित्र, संवाद, भाषाशैली, द्वन्द्व, परिवेश, अङ्क तथा दृश्य, अभिनय तथा रङ्गमञ्च, उद्देश्य आदिलाई नाटकका उपकरण वा तत्त्वका रूपमा लिने गरिन्छ । यस नाटकमा यस्ता उपकरणले स्थान पाएका छन् ।

कारण–कार्य शृङ्खलामा उनिएर आएका घटनाहरूबाट कथानकको निर्माण हुन्छ । ऐतिहासिक नाटकमा इतिहासको शृङ्खलालाई आधार बनाइएको हुन्छ । अमर–उजिर नाटकको कथा वस्तु सन् १८१४–१६ ताका भएको नेपाल–अङ्ग्रेज युद्धसँग सम्बन्धित छ । इतिहासका घटनामा आधारित भएकाले यो ऐतिहासिक नाटकहो । यहाँ विषयवस्तु विशेष गरी तत्कालीन अवस्थामा पाल्पाको सीमाभित्र रहेको जीतगढी युद्धसँग सम्बन्धित छ । जीतगढी युद्धमा नेपाली बहादुर सेना तथा नेपाली जनताले देखाएको साहस तथा वीरतालाई उजागर गर्न खोजिएको छ । यसमा जीतगढी युद्धका नायक उजिरसिंहको उदयदेखि राजा रणबहादुर शाहको पालामा दरबारमा भएका घटनाक्रम तथा षड्यन्त्रहरूलाई समेत नाटकको विषय बनाइएको छ । यो नाटक काठमाडौँ थापाथली, बाराणासी, पाल्पा, बुटवल, जीतगढी लगायतका विभिन्न ठाउँको सेरोफेरोभित्र फैलिएको छ ।

नाटकको शीर्षकमा अमर र उजिर दुई नाम छन् । यी दुवै नाम युद्ध नायकका नाम हुन् । नेपालको इतिहासमा अमरसिंह थापा नाम गरेका व्यक्ति दुई जना छन् । एक बडाकाजी अमरसिंह थापा र अर्का छोटाकाजी अमरसिंह थापा । नेपाल एकीकरणका क्रममा पश्चिमतिर युद्ध गर्न गएका अमरसिंह थापा बडाकाजी हुन् । बालकृष्ण समद्वारा लेखिएको अमरसिंह नाटक उनैको सम्मानमा लेखिएको नाटक हो । उनी लड्दा लड्दै सन् १८१६ मा सुगौली सन्धि भयो । उक्त सन्धि उनलाई चित्त बुझेन । त्यसैले उनी काठमाडौँ नगई त्रिशुलीको बाटो गोसाईंकुण्डतिर गए र त्यहीँ उनको निधन भयो ।

सानाकाजी अमरसिंह थापा विक्रम थापाका नाति, वीरभद्रका छोरा हुन् । एकीकरणका सिलसिलामा पाल्पा कब्जा भएपछि अमरसिंह थापा त्यहाँको प्रमुख भएर आएका थिए । कार्यरत भएकै अवस्थामा उनको निधन भयो । उजिरसिंह यिनै अमरसिंह थापाका नाति, नयनसिंह थापाका छोरा र जनरल भीमसेन थापाका भतिजा हुन् । अमरसिंह थापाको मृत्यु भएपछि यिनै उजिरसिंहले जीतगढी किल्लाको कमान्ड सम्हालेका थिए र नेपाली जनताको समेत सहयोगमा अङ्ग्रेजहरूलाई पराजित गरी जीतगढी मात्रै होइन, समग्र नेपाल राज्यकै इज्जत जोगाएका थिए । नाटकको शीर्षक यिनै दुई वीर योद्धाहरूको नामबाट राखिएकोछ ।

नाटकमा प्रयोग गरिने पात्रहरू दुई प्रकारका हुन्छन्– एकथरी असल वा जनपक्षीय पात्र र अर्काथरी खराब पात्र । खराब पात्रलाई खलपात्र भनिन्छ । खलपात्रले नाटकमा द्वन्द्व सिर्जना गर्न मदत गर्छ । यस नाटकमा अमरसिंह थापा, उजिरसिंह थापा, राजा रणबहादुर शाह, रानी राजराजेश्वरी, काजी दामोदर पाण्डे, माथवरसिंह थापा, भीमसेन थापा, नयनसिंह थापा, पुरोहितहरू र दरबारका अन्य पात्रहरूको उपस्थिति रहेको छ । यसमा रेसुङ्गाका तत्कालीन ऋषि सन्त शशिधर स्वामीको भूमिका पनि रहेको छ । त्यसै गरी अङ्ग्रेज पक्षका क्याप्टेन नक्स, ब्राडशा लगायतका पात्रहरू रहेका छन् भने जनताका पक्षबाट पनि थुप्रै पात्रहरूको उपस्थिति रहेको छ ।

नाटकको विषयवस्तु तथा ऐतिहासिक घटनाक्रम अनुसार पात्रहरू उपस्थित रहेका छन् र उनीहरूको भूमिका पनि इतिहासमा उल्लेख भएको भूमिका निर्वाह गर्ने तहसम्म सीमितछ । आवश्यकता अनुसार पात्रको चरित्र चित्रण गरिएको छ जुन स्वाभाविक देखिन्छ । यस नाटकमा अङ्ग्रेजहरू खलपात्रका रूपमा रहेका छन् ।

नाटकमा द्वन्द्व वा सङ्घर्ष आवश्यक मानिन्छ । द्वन्द्वले नै नाटकलाई रसिलो र हेर्न लायक बनाउँछ । नाटकमा अब के हुन्छ, नाटकले कुन मोड लिन्छ, अब कुनै अप्रिय घटना घट्छ क्यारे, लौन नि ! भन्ने खालका दृश्य तथा घटनाहरू हुनुपर्छ । घरि घरि नाटक हेर्ने दर्शकको मुटु चिसो हुने, मुटु ढुकढुक हुने वा कहिलेकाहीँ आक्रोश व्यक्त गर्ने खालको अवस्था सिर्जना गरिदिनुपर्छ । पात्रले खेलेको राम्रो भूमिकाका पक्षमा उठेर ताली बजाउने र खराब पक्षको प्रस्तुति देखेपछि आफ्नै जुत्ता फुकालेर हान्ने खालको भाव सिर्जना गरिनुपर्छ । यस नाटकमा द्वन्द्वको प्रयोग भएको छ, तर द्वन्द्वको प्रयोगमा जुन खालको निखार आउनुपथ्र्यो सो आएको भने देखिँदैन ।

नाटकमा सुरुदेखि अन्त्यसम्म संवाद हुन्छ । संवाद भनेको पात्रले बोल्ने बोली हो । नाटकमा प्रयोग हुने संवाद छोटो, मिठो र चोटिलो हुनुपर्छ । लामो संवादले नाटकलाई बोझिलो बनाउनुका साथै अभिनय गर्ने पात्रलाई पनि गाह्रो बनाउँछ । यस नाटकमा उपस्थित भएका हरेक पात्रले आफ्नो क्षमता र स्वभाव अनुसार संवाद गरेका छन् । धेरै पात्रहरूले बोलेको संवादमा तत्कालीन अवस्थाको बोलीचालीको भाषा प्रयोग भएको छ । अङ्ग्रेजी शासकहरूले बोलेको भाषा टुटेफुटेको नेपाली भाषा छ । नाटकमा कतिपय शब्द स्थानीय छन् । कतिपय ठाउँमा दरबारिया भाषिकाको प्रयोग छ । भाषाको विविधताले गर्दा नाटक रोचक र पठनीय बनेको छ । केही ठाउँमा संवादहरू धेरै लामा छन् । कतिपय संवादहरू त डेड पृष्ठसम्मका पनि छन् (पृ.७३–७४) । यस्ता संवादले गर्दा नाटक बोझिलो बन्न पुगेको छ ।

नाटकमा काठमाडौँको दरबार, बाराणसी, पाल्पा, जीतगढी, अङ्ग्रेजहरूको अफिस लगायतका स्थानको चित्रण भएको छ । यसमा झण्डै २०० वर्ष पुरानो अर्थात् सन् १८१४ देखि १६ बीचको समयको युद्ध घटनालाई चित्रण गरिएको छ । धेरै पुरानो समयको परिवेश रहेको र विभिन्न ठाउँको चित्रण गरिएको हुँदा नाटक रोचक बन्न पुगेको छ भने कतै यस नाटकको प्रदर्शन गर्दा ती सबै भावलाई पर्दामा उतार्न कठिन हुने देखिन्छ ।

नाटकमा पाँच अङ्क र ५८ दृश्य रहेका छन् । पहिलो अङ्कमा ११, दोस्रोमा १२, तेस्रोमा २७, चौथोमा ५ र पाँचौँ अङ्कमा ३ दृश्य छन् । एकातिर अङ्कभित्र रहेका दृश्यको अनुपात नमिल्नु र अर्कोतिर धेरै दृश्य हुनु यस नाटकको अर्को कमजोरी पक्ष हो । नाटकमा रहेका लामा संवादलाई छोटा बनाउने र ५८ दृश्यलाई घटाएर नाटकलाई अझै खदिँलो बनाउन सकेको भए मञ्चनसहज हुने थियो ।

यस नाटकमा एकातिर ऐतिहासिक तथ्य देखाउन खोजिएको छ भने अर्कातिर अग्रजहरूले देखाएको वीरताको इतिहासलाई नाटकका माध्यमद्वारा स्पष्ट पार्न खोजिएकोछ । धेरैलाई आजभन्दा करिब २०० वर्ष पुरानो युद्धको अवस्थाबारे जानकारी नहुन सक्छ । इतिहासका कुराहरू पढेर बुझ्न त सकिन्छ, तर सबैले इतिहास पढ्न रुचि गर्दैनन् । त्यस्ता घटनाहरूलाई नाटक, डकुमेन्ट्री वा सिनेमाका माध्यमबाट प्रस्तुत गर्न सकियो भने सबैले रुचि मानेर हेर्न सक्छन् । इतिहास पढ्न नचाहने वा नभ्याउने व्यक्तिहरूले पनि देशको बारेमा भएका युद्ध र वीरताको बारेमा जानकारी राख्न सक्छन् । यस्तै कुरा देखाउने उद्देश्यले यो नाटक लेखेको देखिन्छ ।

समग्रमा हेर्दा सुधार गर्नुपर्ने, सैद्धान्तिक सीमा भित्र समेट्नुपर्ने र अझै खँदिलो बनाउनुपर्ने पक्षहरू देखिए तापनि नाटक पठनीय छ । यो नाटक लेख्ने सिलसिलामा धेरै ऐतिहासिक तथ्यहरूको अध्ययन गरिएको छ र धेरै विषय प्रस्तुत गरिएको छ । उजीर सिंहजस्ता नेपाली वीर योद्धाहरूले राष्ट्रको रक्षाका लागि गरेको योगदानलाई प्रकाशमा ल्याउने काम आफैमा सकारात्मक पक्ष हो । यो काम यसमा भएको छ । यी सबै यस नाटकमा रहेका सबल पक्षहरू हुन् । यसमा केही सुधारका पक्षहरू रहे पनि नेपाली नाटकको इतिहासमा अमर–उजिर एक अमर ऐतिहासिक नाटक भएर रहने कुरामा विश्वास गर्न सकिन्छ ।