ताजा अपडेट »

तिलोत्तमा र गुल्मीका ४ युवा करोड बढी मूल्य पर्ने विदेशी मुद्रासहित पक्राउ

विहीबार, ०४ साउन २०८०
2 Shares

बुटवल । रुपन्देहीको तिलोत्तमा र गुल्मीका ४ युवालाई काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेशी मुद्रासहित बुधबार राती प्रहरीले प्रक्राउ गरेको छ । पक्राउ पर्नेमा रुपन्देही तिलोत्तमा नगरपालिका–९ तुलसीपुरका २४ वर्षीय अनिस थापा र दिपेश राना रहेका छन् भने गुल्मीका सन्तोष पन्थी र सुर्यमणी भण्डारी रहेका छन् ।

उनीहरूको साथबाट ४१ हजार ४०० अमेरिकी डलर, १ लाख १९ हजार ५०० साउदी रियाल, १३ सय ५७ ओमान रियाल र ४८८ बहराइन दिनार बरामद गरिएको उपत्यका प्रहरी प्रमुख प्रहरी अतिरिक्त महानिरक्षिक श्याम ज्ञवालीले जानकारी दिए । बरामद गरिएको मुद्रा एक करोड बढी नेपाली रूपैयाँ बराबर हुन आउने एआईजी ज्ञवालीले बताए।

प्रहरीका अनुसार हिमालयन एयरलाईन्सको उडान नम्बर एच ९-५४५ द्वारा काठमाण्डौंबाट दुबई प्रस्थान गर्न लागेका यात्रु अनिस थापालाई ब्यागेज चेकिङ एरियामा निजको शरीर खानतलासी एवं साथमा लिई आएको लगेजहरुलाई एक्सरे गर्ने क्रममा निजले लिई आएको खैरो रंगको ‘फेसन इटाली’ लेखिएको लगेज भित्र सेतो प्लाष्टिकले यापिङ गरेको अबस्थामा वरिपरि चाउचाउ राखिएको विचमा अमेरिकन डलर १०० दरको थान ४१४ ले हुन आउने अमेरिकी डलर ४१ हजार ४ सय, रियल ५०० दरको थान-२१२, २०० दरको थान-३२, १०० दरको थान( ७१ ले जम्मा साउदी रियल १ लाख १९ हजार ५ सय, ओमान रियाल ५० दरको थान-२६, २० दरको थान(१, १० दरको थान-२, ५ दरको थान-२, १ दरको थान( ७ ले जम्मा ओमानी रियाल १ हजार ३ सय ५७, बहराईनी डिनार २० दरको थान(१४, १० दरको थान-२, ५ दरको थान-१, १ दरको थान-३ ले जम्मा बहराइनी डिनार ३ सय ८ बराबरको रकम लुकाई छिपाई बाह्य मुलुकतर्फ लैजान लागेको अवस्थामा प्रहरीले फेला पारेको हो ।

पक्राउ परेका थापालाई सोधपुछ गर्दा बरामद भएका विदेशि मुद्राहरु उनका दाई तिलोत्तमा ९ का ३८ वर्षिय दिपेश रानाले सम्पर्क गरेका व्यक्तिहरु गुल्मी धुर्कोट ७ का २६ वर्षीय सन्तोष पन्थी, सत्यवती ६ का ३५ वर्षीय सुर्यमणी भण्डारीले दिएको बयान दिएका थिए । सोही आधारमा उनीहरुलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय उडान तर्फको प्रस्थान पार्किङ एरियामा अनिसलाई छाड्न आएकाहरुले प्रयोग गरेको बाग्मती प्रदेश–०१–०२७ च ६२६६ नम्बरको गाडी समेत नियन्त्रणमा लिएको छ ।

प्रहरी समक्ष अनिसले आफूलाई छाड्न आएका पन्थीलगायतले आफूलाई दुबईमा भएको साथीलाई पठाएको चाउचाउ हो भनेर दिएको बाहेक अन्य थाहा नभएको बयान दिएको प्रहरीको भनाई छ ।
प्रहरीले चारै जनालाई पक्राउ गरी गौशाला प्रहरी वृत्तको हिरासतमा राखेको थियो ।