ताजा अपडेट »

चार बीस पुग्न आँटेका पौरखी चिरञ्जिवी

बुधबार, ०३ साउन २०८०

उमेर करिब ४ बीसको नजिक पुग्यो । चाँदी जस्तै टल्किने कपाल र दाह्री भएका चिरञ्जिवी घिमिरे अझै पनि खेतबारीको काम गर्न माहिर छन् । ७४ वर्षीय घिमिरेलाई यतिवेला दुवालो थुनेर खेतमा पानी लगाउने, खेत हिल्याउँने, आली लगाउने र रोपाईको मेसो मिलाउनेमै भ्याई नभ्याई छ । योसँगै साँझ विहान एक/एक भारी घाँस काटेर गोठमा नफाले भैसीले दुध दिन मान्दैन ।

एकाविहानै उठेर भैसीलाई दाना पानी पूरा गराएपछि मात्रै कोदालो बोकेर खेतमा निस्किने उनी अबेला झम्के साँझमा घर फर्किँदा पनि घाँसका भारी बोकेर आइपुग्छन् । यो वर्षको रोपाई करिब सम्पन्न गरिसकेका छन् उनले । अब धानले पाँजो नहाल्दासम्म पानी कुलो मिलाउने, त्यसपछि गोडमेल लगायत नियमितका कर्म हुन उनका लागि । यो नियमित कर्ममा चिरञ्जिवी मात्रै छैनन्, उनलाई साथदिने जीवन संगिनी गोमाले ठूलो भर दिएकी छन्

२ छोरा र ३ छोरीलाई जन्म दिएको यो दम्पत्तिले छोराछोरीबाट ४ नाती र ३ नातिनी पनि पाएका छन् । पाल्पातको तिनाउ गाउँपालिका–२ दोभानको गणेश टोलका यी दम्पत्तिलाई आफ्नो उमेरको हिसाब किताबभन्दा खेतबारीमा मल–जल र गोठमा बाँधेका गाई भैसीले समयमा दानापानी पाए/पाएनन् हिसाब मिलाउने चिन्ता बढी हुन्छ । पाल्पाकै बौहागुम्बामा जन्मिएका चिरञ्जिवी वि.स. २०२८ सालतिर तिनाउ-२ (तत्कालिन दोभान गाविस) मा कामको खोजीमा झरेका हुन् ।

२००५ साल असोज २० गते पिता जयबल्लव घिमिरे र माता खगिसरा घिमिरेको कोखबाट बौघा गुम्वामा जन्मिएका घिमिरेले औपचारिक शिक्षा लिन पाएनन् । घर नजिकैको संस्कृत पढाउने पिताम्वर गुरुबाट संस्कृत सिकेका र चण्डी तथा कौमती जानेको उनले बताउछन् ।

सानैदेखि मेहनती घिमिरेले ८ वर्षको उमेरमै बाबुलाई गुमाउन पुगे । २०१३ साल जेठ १२ गते काफल टिप्न रुख चढेका बुवा एक्कासि रुखबाट लडेर ढाड भाँचियो । आर्थिक अभावका कारण औषधी उपचार गर्न नसक्दा असोज २४ गते बाबुको अल्पायुमै निधन भयो । बाबुको मृत्युपछि घरको सम्पूर्ण जिम्मेवारी चिरञ्जिवीको काँधमा आयो । त्यसपछि उनले गुजारका लागि भैंसी पाल्नुका साथै वरपर छिमेकमा काम खोज्न थाले । काम खोज्ने क्रममा २०१४ सालदेखि बुटवलबाट पाल्पा तानसेनसम्म भारी बोक्ने काम पाए । पछि माहाजन डाँकको भारी बोक्न काम गर्न थाले । दैनिक धार्नी (२ किलो ५ सय ग्राम)को १ रुपैयाँ मूल्यका दरले उनले भारी बोके । उनले सुरुमा दैनिक १ रुपैयाँमा १२/१३ धार्नीको भारी बोकेर कमाएको विगत सुनाउँछन् । उमेर बढ्दै गएपछि दैनिक १६ धार्नीसम्म भारी बोकेर गुजारा चलाएको उल्लेख गरे ।

२०२८ सालतिर सिद्दार्थ राजमार्ग अन्तर्गत बुटवल–तानसेनको मोटरबाटो खुलेपछि भने उनको भारी बाक्ने पेशा पनि खोसियो । मानिसहरुले गाडिमा राखेर सामान बोक्ने भएपछि चिरञ्जिवी बेरोजगार बने फेरी अर्को पेशाको जोहो गर्नुपर्ने भयो । त्यपछि उनी तानसेनका पूर्णमान शाक्यको घरमा बसि मजदुरी गर्न थाले । सोही क्रममा २०२८ सालको फागुन १३ गते गोमालाई जीवन साथी बनाएका हुन् उनले । विवाहपछि पनि २०३५ सालसम्म ७ वर्ष पूर्णमानकै घरमा बसेर काम गरे । पछि उनकै जग्गामा भैंसी पाल्ने र अधिया गरेर खाने सोचका साथ आमा र जीवनसंगिनी गोमालाई दोभानमै बोलाए ।

सुरुमा अहिलेको तिनाउ २ बगरटोल २ नं वडा कार्यालय मुनि पोखरेलीको घरमा मासिक ३० रुपैयाँ कोठा भाँडामा तिरेर बसे । त्यहाँ बसेर उनले स्थानीय अमर प्रधानको मिलमा ड्राइभरको काम गर्न थाले । २०३८ साल असारमा पूर्णमान शाक्यको दोभान चौकी निरको जग्गामा भैंसी पाल्ने र खेती गर्न थाले । सोही वर्षको असोज १३ को अविरल बर्षाले हेर्दा हेर्दै मिल, घर र आफू बसेको कोठा र घरपेटी पोखरेल दम्पती बगाएर लग्यो । चिरञ्जिवी दम्पत्तिको भाग्य बलियो रहेछ क्यारे धन्न खोलाले बगाएन । असारमा काम र बसाइँ नसरेको भए सबै बगिदो रहेछ । अझपनि ३८ सालको बाढी सम्झन्छन् उनी । २०३९ सालमा पहिलो सन्तानका रुपमा छोरा हरि जन्मियो । उसलाई हुर्काउने जिम्मेवारी पनि थपियो । त्यसपछि उनीहरुले अझै मेहेनत गर्न थाले ।

३ वर्ष भैंसी पालेर दूध बेच्ने, अधिया खेती र अरु काम गरेर अलिकति पैसा कमाएपछि २०४० सालमा तत्कालिन दोभान ७ हालको तिनाउ २ गणेशटोलमा खेत किन्ने निर्णय गरे । स्थानीय बाग्लुङ्गे रत्न बहादुर पुनका बुवासँग १० रोपनी खेत प्रति रोपनी ३००० हजार रुपैयाँका दरले ३० हजार १० रोपनी खेत किने । थोरै थोरै गरेर जोडेको पैसाले २०४१ सालमा घर बनाई २०४२ सालदेखि दोभानमै स्थायी रुपमा बस्न थाले ।

समयसंगै मेहेनत गर्दै जाँदा उनले बिहानदेखि दिउसभरि भैंसी पालन र खेतीपाती गरेर साँझ बुटवलमा चौकीदारका काम गर्न थाले । २०५२ सालदेखि नेपाल मेशिन एण्ड स्टील स्टक्चरमा शिव अधिकारीको कम्पनीमा ७ वर्ष काम गरे । उक्त कमाईले बिस्तारै सम्पत्ति पनि जोड्दै गए, ६ रोपनी जग्गा थप गरी १६ रोपनी ५ आना पुर्याए । यसरी विभिन्न उकाली ओली गर्दै जीवनको उत्तरार्धमा आएका चिरञ्जिवीलाई अब कुनै गुनासो छैन ।

घरको कान्छो छोरा बाहेक सबैको विहेदान गरिसके, सबैले आफै कमाएर खान सक्ने भए । छोराछोरीले हात पाखुरा चलाउन जाँगर गरे भने प्रसस्त खेत बारी छन्, गोठभरी गाई बस्तु छन् । साँझ विहान चियाँमा दुध मिसाउन डेरीमा धाउनु पर्दैन, आफ्नै घरको भैसीले पोसिलो दुध दिन्छ । वर्षभरी खानका लागि खेतबारीमै उत्पादन हुन्छ । चिरञ्जिवीको दम्पत्ति अब उकाली चढेर सुस्ताउँन बिसौनीको छहारीमा पुगे जस्तै भएको छ । विगतमा गरेको मेहनतले उनीहरुलाई अब दुःख नगरी बसी बसी खान पुग्छ । तर, लागेको बानी त्यसै बसेर खान उनीहरुलाई मन लाग्दैन । बुढो ज्यान तताउनकै लागि भएपनि खेतबारीमा व्यस्त हुने गरेको उनीहरु बताउँछन् ।