ताजा अपडेट »

प्रभूको आदेशमा ‘स्वर्गको चर्च’मा पैसा पठाउँदा ४ करोड स्वाह !

आइतबार, ३१ असार २०८०

काठमाडौं । स्पेनको उत्तर-पश्चिमी क्षेत्र लियोनकी वृद्ध महिलालाई सन् २०१३ मा एउटा फोन आयो, जसमा भनिएको थियो -प्रभूले तपाईंलाई रोजेको छ, आफूसँग भएको पैसा स्वर्गको चर्चमा पठाउनू ।

प्रभूले नै रोजेको भन्ने खबर आएपछि उनी खुशी भइन् तर फोनमा शर्त राखिएको थियो, यो खबर कसैलाई पनि नभन्ने । सोहीअनुसार ती वृद्धले फोन आएकोबारे कसैलाई बताइनन् । बरु प्रभूको आदेशअनुसार स्वर्गको चर्चमा पैसा पठाउँदै रहिन् । पटक–पटक गरी ती महिलाले ४ करोडभन्दा बढी रुपैयाँ पठाइसकेकी थिइन् । प्रभूको आदेश ठान्दै उनी निर्धक्क पैसा पठाउँदै गइन् ।

६ वर्षसम्म ‘स्वर्गको चर्च’मा पैसा पठाइरहिन् र अन्त्यमा आफू लुटिएको थाहा पाइन् । यसरी मान्छेको धार्मिक आस्थामा झुक्याएर करोडौं पैसा लुटिएको घटना सार्वजनिक भएको हो । धार्मिक आस्थामा खेलेर रकम लुट्ने घटनामा स्थानीय पसलेको संलग्नता पाइएको छ । ती पसलेले प्रभू बनेर वृद्ध महिलाई झुक्याएका थिए । प्रहरीले संलग्न ती पसलेलाई ८ वर्ष जेल सजाय हुनुपर्ने माग अदालतमा गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।