गुल्मी । चक्लाबन्दी खेती प्रणालीमा कृषकको आकर्षणसँगै उत्पादनमा वृद्धिली कृषिमा सकारत्मक परिवर्तन आउन थालेको छ । गुल्मीको धुर्कोट गाउँपालिकामा मात्रै ११ सय रोपनी बढी बाझो जमिन पछिल्लो ३ वर्षको अवधिमा चक्लाबन्दी गरि कृषि उत्पादन सुरु भएको छ ।
२४ वर्षसम्म शहरको बसाइँ गरेका धुर्कोट ५ बस्तुका गणेश भण्डारीले ३५ वर्ष बढी अवधीदेखि बाझिएको जमिनमा खेती सुरु गरेका छन्। सुरुमा उनको कामलाई देखेर गिज्याउनेहरु जब उनले चक्लाबन्दी गरेर सरु गरेको आधुनिक कृषि खेतीले मुनाफा दिन थाल्यो यसतर्फ चासो राख्ने अन्य कृषकहरु पनि बढेका छन् । त्यसलाई बिस्तार गर्दै अहिले १३० रोपनीमा आँप, लिची, सुन्तला, कागती, जडिबुटी, फलफूल लगायतका बनस्पतिबाट लाखौ आम्दानी लिँदै आएका छन् । उनले वार्षिक करोडौं आम्दानी लिने तयारिमा छन् । उनको उदाहरणीय काम देखेर अन्य कृषकहरु समेत जमिन चक्लाबन्दी गरी धान, मकै लगायतका बालीहरु लगाउने कृषकको खङ्ख्या बढ्न थालेको छ ।
धुर्कोटको चक्लाबन्दी अभियानलाई ठूलो साथ दियो कृषि ज्ञान केन्द्र गुल्मी र प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना कार्यान्वयन इकाई गुल्मीले । अहिले त्यहाँ हजारौको सङ्ख्यामा कागती, सुन्तलाका नयाँ बिरुवा थपिएका छ्न। च्याउ, तरकारी खेती र धान, मकै खेतीले पनि कृषि क्रान्तिको रुप लिन थालेको त्यस पालिका प्रमुख भुपाल पोखरेलको भनाइ छ । कृषि ज्ञान केन्द्र र कार्यन्वयन इकाईले पनि जिल्लामा ठूलो परिमाणमा चक्लाबन्दी खेती धुर्कोटमै भएको बताए ।
अन्य पालिका पनि उत्साहित
चक्लाबन्दीमा शगरिया हापकापले अल्छी बनेको रेसुङा नगरपालिका–४ अर्खले पनि अग्रसर भएको छ । कुनै समय उर्वर खेत रहेको र वर्षौदेखि बाझिएर जङ्गल बनेको ठाउँलाई डोजरले फाड्दै त्यस वडाका वडाध्यक्ष लिलाधर आचार्य सहितका अगुवाहरुले सय रोपनी बढी चक्लाबन्दी गरि अहिले १५ सय बोट सुन्तलाका बिरुवा रोपेर नगदे बालीमा परिणत गरेका छन ।
उता छत्रकोट गाउँपालिकामा पनि चक्लाबन्दीबाट कृषि उत्पादनका धुप्रै नमुना काम देखापर्न थालेका छन । त्यस मध्येको एक हो कृषि ज्ञान केन्द्रले त्यहाँको वडा नम्वर ४ मा श्रृंगा सुन्तला कृषक समुह गठन गरी सुन्तला र कागती उत्पादनको नमुना पकेट क्षेत्र । पछिल्लो दुई वर्षयता सुरु गरिएको समुहको सकरात्मक काम र प्रभाव छर्लङ्ग देख्न सकिन्छ ।
माटो ब्यवस्थापन कार्यक्रम अन्तर्गत कृषि ज्ञान केन्द्रबाट १२ लाख एक हजार ८६ रुपैयाँ अनुदान र बाँकी जनसहभागिता सहित कुल १४ लाख १३ हजार ९८५ रुपैयाँ लागतमा सम्पन्न विभिन्न कार्यक्रमहरु नमुना देखिएका छन् । जसबाट १६ वटा भकोरो सुधार, छानो सहितको मल्खाद ९ वटा मल्खाद पिट ६ वटा, १० हजार लिटरका दरले ११ वटा हिलट्याङकी र सुन्तला रोपण खाडलहरु खनेर २५ सय बोट कागती र ९३२ बोट सुन्तलासहित ३ हजार ४३२ बिरुवा रोपण गरिएको छ । विभिन्न स्थानको माटो परीक्षण समेत गरिकोछ ।
त्यस्तै सुन्तला र कागती रोपणका लागि चक्लाबन्दी कार्यक्रम अन्तरगत सो केन्द्रबाट वितरण गरिएको ८ लाख अनुदान रकमबाट पनि नमुना कार्य देखिएको छ । २ सय १० रोपनी क्षेत्रफलको बाँझो जमिनलाई चक्लाबन्दी गरी कागती २ हजार बोट र सुन्तला १ हजार ३ सय ४५ बोट सहित ३ हजार ३ सय ४५ विरुवा रोपण गरिएको छ ।
सदियौंदेखि कागती र सुन्तला उत्पादनले चिनिएको श्रृंगाको देउरालीदेखि तल रुक्से र बाख्रे लिखे गाउँसम्म करिव २ सय घरधुरी कृषकहरु छन । कृषि ज्ञान केन्द्रको पछिल्लो दुई वर्ष यताका सुन्तला, कागती र अन्य कृषि उत्पादनका विभिन्न कार्यक्रमले कृषि उत्पादनको नयाँ युगमा प्रवेश गरेको त्यस समुहका अध्यक्ष होमनाथ कँडेललेले बताए । कँडेलले भने –‘कृषि ज्ञान केन्द्रका प्रमुख नवराज भण्डारीले दुई वर्ष अघि भन्नु भएको थियो कि मैले २० वर्ष यताका अनुदानका कार्यक्रम देखें । तर उद्देश्य अनुरुपको उत्पादन भने शुन्य पाएँ । यसर्थ प्रतिफल र दिगोपना दिने केहि नमुना काम गर्न चाहन्छु भनेपछि उहाँबाट प्रभावित भई हामी पनि उत्साहित भएका हौं ।’
विदेशमा भन्दा बढी आम्दानी
अध्यक्ष कँडेलसहित त्यहाँका कृषकहरु कृषि उत्पादनमा निकै उत्साहित देखिएका छन् । झण्डै १२ वर्षसम्म विदेश बसेका खेमराज कँडेलको घर वरीपरीको कृषि उत्पादन हेर्दा लोभै लाग्ने खालको छ । गाई भैसीबाट दुध उत्पादन, टन्न बाख्रापलन, पाटैभरी टनेल टाँगेर लटरम्म टमाटर खेती गरेका छन्। घर आँगन सिमेन्टेड गरेर चिटिक्क पारेका छन । उनले भने –‘विदेशमा मासिक साठी हजार तलव त्यागेर गाउँमै केहि गरौं भनेर घरै बसें र कृषि ब्यवसाय गर्न सुरु गरे । अहिले मैले वर्षमा ८/९ लाख कमाउँछु, अब मलाई विदेश किन चाहियो ?’
अनुदानको दोब्बर आम्दानी
उनकोदेखि तल रुक्से गाउँका कृष्ण कँडेलले गत वर्ष करिव १३ लाख रुपैयाँको च्याउ खेतीबाट आम्दानी लिएको कृषि ज्ञान केन्द्रका प्रमुख नवराज भण्डारी बताउँछन् । ज्ञान केन्द्रबाट अघिल्लो वर्ष ४ लाख र त्यसअघि २ सहित ६ लाख अनुदान पाएका कँडेलले एकै वर्षमा अनुदानको दोब्बर आम्दानी लिएपछि प्रतिफल देखिएको र त्यसबाट प्रोत्साहित भई उनमा दिगोपन पनि हुने विश्वास लिईएको प्रमुख भण्डारीको भनाई छ ।
अनुगमनका लागि त्यस टोलमा पुगेका भण्डारीले भने –‘सुन्तला, कागती सहित हेरक कृषि उत्पादनलाई हामी यस श्रृंगा भेगलाई नमुना बनाउने गरी लागेका छौं ।’ लामो समय श्रृंगा जनता माविको प्रधानध्यापक र व्यवस्थापन समिति अध्यक्ष समेत रहेका होमनाथ कँडले भन्छन ‘कृषि ज्ञान केन्द्रका अहिलेका प्रमुख नवरजा भण्डारीको भिजन देखि म प्रभावित भएँ ।’
बाँझिएको जमिनमा सात लाख आम्दानी
कृषि ज्ञान केन्द्र गुल्मीको प्राविधिक सहयोगमा सोही वडाको दिगाम गाउँका ३६ वर्षीय युवा चिरञ्जिवी पन्थले अकवरे खुर्शानी, हेलेस्टेन गाई र भैसी पालन, कुखरा पालानबाट सबै खर्च कटराएर पनि वार्षिक ५ लाखसम्म कमाई लिने गरेको बताउँछन । बसाई सराईले गाउँ रित्तिदै छ । उनले बसाई सराईबाट ताला लगाईएको घर अगाडि छिमेकीको २० रोपनी बारी भाडामा लिई यस वर्ष ६ रोपनीमा मलचिङ्ग प्रविधिमा आधारित बेमौसमी तरकारी फुलगोपी र बन्दागोभी लगाएका छन । लुम्बिनी कृषि तथा पशुपन्छि फार्म दर्ता गरेका उनले कृषि ज्ञान केन्द्र गुल्मीको सहयोग आफ्ना लागि उर्जा बनेको भन्दै निकै सह्राना गरे । उनले अकबरी खुर्सानीबाटमात्रै गत वर्ष सात लाख आम्दानी लिएको बताए ।
सम्बन्धित निकायको भूमिका बढ्दै
ज्ञान केन्द्र गुल्मीले अन्य पालिकामा पनि विशेषतः चक्लाबन्दी कार्यक्रम अन्तरगत अन्नवाली, सुन्तला र कागती खेतीमा कृषकहरुलाई छिट्टै प्रतिफल दिने गरी दिगोपन राख्ने र सरकारको उद्देश्य अनुरुपको सदुपयोगको अनुभुत गर्ने गरी काम गरिरहेको अन्य सरोकारवालाको पनि बुझाई छ । हालसम्म उसले ५ सय २० रोपनी क्षेत्रफलमा बाँझो जमिन चक्लाबन्दी गरेको छ । जसमा ५ हजार ५ सय सुन्तला र ९ हजार १६६ कागतिका नयाँ वोट थपेको छ ।
त्यस्तै प्रधामन्त्री कृषि आधुनिकिकरण परियोजना कार्यन्वयन ईकाई गुल्मीले पनि ४ सय ८८ रोपनी क्षेत्रफलमा बाँझो जमिन चक्लाबन्दि गरेको छ । जसमा ३ हजार ३३६ सुन्तला, २ हजार कागती र ९ हजार कफिका बोट थपेको कार्यन्वयन इकाई प्रमुख गँगा पोखरेलले जानकारी दिइन ।
बसाई सराईले जमिन बाँझीदै गएको बेला चक्लाबन्दी कार्यक्रमले कृषिमा क्रान्ति ल्याउन खोजेको कृषकले अनुभूति गर्न थालेका छन । कृषकहरुको समस्यहरु मध्ये सिंचाई पनि एक थियो । त्यस समस्या समधानमा विकल्प खेजेरै भए पनि जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय गुल्मीले पनि आफ्नो भुमिका अब्बल बनाउन सुरु गरेको सरोकारवालाको विश्लेषण छ ।
प्रतिक्रिया