माघ ८,
ग्लोबल आवाज
बुटवल । रुपन्देहीको बुटवलमा सुरु भएको नेशनल प्याब्सन जिल्ला स्तरीय फुटवल प्रतियोगिता अन्तर्गत पहिलो चरणका खेलहरु सम्पन्न भएका छन् । प्रतियोगिता अन्तर्गत पहिलो दिन बुधबार तीन खेलहरु भए । राष्ट्रिय निजी तथा आवासिय विद्यालय एशोसियशन (नेशनल प्याब्सन) रुपन्देहीको आयोजनामा भएको पहिलो चरणका खेलमा कोलिय बोर्डिङ्ग स्कुल, स्कलर्स होम बोडिंङ्ग स्कुल र देवदह बोर्डिङ्ग स्कुल विजयी भएका हुन् ।
रुपन्देहीका विभिन्न १४ संस्थागत विद्यालयहरुले सहभागिता जनाएको प्रतियोगितामा कोलिय बोर्डिङ्गले सिद्धिचिल्ड्रेन एकेडेमिलाई २–१ गोल अन्तरले, स्कलर्स होम बोर्डिङ्गले ग्लोरी बोर्डिङ्गलाई र देवदह वोर्डिङ्गले मनाल्सु बोर्डिङ्ग स्कुललाई ८–० गोल अन्तरले हराएर अघिल्लो चरणमा प्रवेश गरेका हुन् । बुटवलको मानवज्ञान माविको खेल मैदानमा जारी खेलमा बिहीबारदेखि क्वाटरफाईनल र अघिल्लो चरणका खेलहरु हुने खेल संयोजक देउप्रकाश राईले जानकारी दिए ।
नेशनल प्याब्सनका रुपन्देहीका अध्यक्ष पुरुषोत्तम बस्यालको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन गर्दै एन्फा नेपालका पुर्व उपाध्यक्ष महेन्द्र हमालले खेल विद्यार्थी जीवनका लागि अपरिहार्य रहेको उल्लेख गर्दै शैक्षिकसँगै अतिरिक्तमा खेलकुदलाई पनि उत्तिकै स्थान दिन जरुरी रहेको बताए ।
कार्यक्रममा नेशनल प्याब्सनका केन्द्रीय सदस्य बालाकृष्ण तिवारी, उपाध्यक्ष बिल गुरुङ्ग, सचिव बाबुराम बन्जाडे लगायतले खेलकुदको सम्भावना बलियो भएकाले विद्यार्थी जीवनवाटै खेलकुदका गतिविधि बढाउनु पर्ने सुझाव दिए । फुटबल प्रतियोगिता माघ ११ गते शनिवार सकिने छ ।
प्रतिक्रिया