ताजा अपडेट »

बुटवलको सिद्धबाबा मन्दिरमा घिन लाग्दो कर्तुत, दाताको आधा रकम फर्जि रसिद बनाएर व्यक्तिले झ्वाम

शनिबार, ३० असार २०८०

बुटवल । तल्लो सिद्धबाबाका नामले परिचित बुटवल उपमहानगर–३ मा अवस्थित मन्दिरमा भएको भ्रम्हलुट सार्वजनिक रुपमा छताछुल्ल भएको छ । दाताहरुबाट संकिलत आधा रकम संकलन गर्ने व्यक्तिलेनै झ्वाम पार्ने गरेको तथ्यसहित सामाजिक सञ्चालहरुमा कृते रसिदहरु सार्वजनिक भएपछि आलोचना भएको छ ।

मन्दिरमा सेवा लिएबापत भक्तहरुले बुझाएको रकमको रसिदको अर्धकट्टीमा आधा रकम घटाएर मात्र मन्दिरमा दाखिला हुने गरेको प्रमाण सार्वजनिक भएको हो । यो घटना थाहा पाएको सिद्धबाबा धाम विकास समितिले गुपचुप राख्न खोजेपनि सामाजिक सञ्जालहरुमा रसिदसहितको तस्विर सार्वजनिक भएपछि ब्रम्हलुटको घटना छताछुल्ल भएको हो ।

चरम विवादका कारण म्याद सकिएर पनि नयाँ बिकास समिति चयन हुन नसकेको यस मन्दिरमा आर्थिक चलखेलकै कारण नेतृत्व लिन लुछाचुडी हुने गरेको आरोपलाई बल पुगेको छ । लामो समयबाट अध्यक्ष चलाउँदै आएका कृष्ण प्रसाद तिमिल्सेनाकै मिलोमतोमा वर्षौदेखि दान रकममा हिनामिना हुने गरेको सञ्जालकर्ताहरुले आरोप लगाएका छन् । भेटिएको नगदी रसिदमा दानकर्तालाई दिइएको रसिदको रकम भन्दा आधा घटाएर अर्धकट्टीमा लेखिएको पाइएको हो ।

काम चलाउ अध्यक्ष तिमिल्सेनाले आफूलाई फसाउन र बदनाम गर्नका लागि २/३ महिना अघिको घटनालाई पुनः चर्चामा ल्याइएको दाबी गरे । गत मंसिरमा मन्दिर व्यवस्थापन समितिको अधिवेशन भएपनि नयाँ नेतृत्वमा सहमती जुट्न नसक्दा लामोसमय नेतृत्वविहिन बनेको मन्दिरमा गत फागुनदेखि आफूले काम चलाउन अध्यक्षको जिम्मेवारी पाएको तिमिल्सेना बताउँछन् । नयाँ निर्वाचन हुने अवस्था नदेखिएपछि यही हो मौका भनेर अध्यक्षको मिलेमतोमा कर्मचारीले गलत हर्कत गर्ने गरेको मन्दिरमा पुजा गर्न आएका एक भक्तजनले बताए ।

विगत २५ वर्षदेखि मन्दिर व्यवस्थापनको क्षेत्रमा काम गर्दै आएका पूर्व अध्यक्ष लवकुश श्रेष्ठले घटनाले आफूलाई समेत लज्जित बनाएको गुनासो गरे । आफूले लामो समयदेखि योगदान गर्दै आएको मन्दिरमा भएको घिनलाग्दो गतिविधिले आफूलाई समेत लज्जित बनाएको उनले बताए । आफ्नो कार्यकाल सकिएपछि विगत ४ वर्षदेखि मन्दिर व्यवस्थापनका बारेमा आफूलाई जानकारी नभएपनि मन्दिर भित्र हुने अनियमित गतिविधिले आफूलाई दुःखी बनाएको उल्लेख गरे ।

मन्दिरमा भेटिएको अनियमितता विरुद्ध अख्तियारमा समेत उजुरी परेपछि कारबाही प्रक्रिया अघि बढेका कारण घटनालाई अन्य माध्यमबाट सार्वजनिक गर्न आवश्यक नठानिएको कामचलाउन अध्यक्ष तिमेल्सेना बताउँछन् । अख्तियारमा उजुरी गएपछि मात्रै आफूले घटना बारे जानकारी भएको बताउँदै उनले मन्दिरमा रसिद कृते गर्ने कर्मचारी तारानाथ उपाध्याय र पुजारी भुवन ज्ञवालीलाई १ महिनाअघि नै निलम्बन गरिएको उनले बताए । कर्मचारी उपाध्याय र पुजारीका छोरा विकास ज्ञवालीले गलत काम गरेको भन्दै उनीहरुलाई निलम्बन गरिएको उनले बताए ।

उनका अनुसार मन्दिरमा मासिक १२/१३ लाख आम्दानी हुने गर्दछ । राजनीतिक प्रतिशोध साध्नका लागि आफूलाई गलत देखाउन घटना सार्वजनिक गरिएको उनले गुनासो गरे ।