बुटवल ।नेपालको शिक्षाको पाठ्यक्रमले देश र समाजको वेवास्ता गर्दै बिदेश जान लालायित हुने जनशक्ति तयार गरिरहेको भन्दै बुटवल उपमहानगरपालिकाका मेयर खेलराज पाण्डेयले चिन्ता व्यक्त गरेका छन ।
कालिका मानवज्ञान माबिद्वारा आयोजित शैक्षिक गुणस्तर अभिवृद्धि तालिममा बोल्दै मेयर पाण्डेले पाठ्यक्रम र पुस्तकमा आधारित ज्ञानलाई मात्र उपलब्धि ठान्ने प्रवृतिले गर्दा विद्यार्थीहरुमा सस्कार, नैतिकता र चरित्रमा स्खलन आएको बताए। विद्यालयमा अध्ययन पूरा गर्दा पनि विद्यार्थीले कुनै सीप सिक्न नसकी अदक्ष कामदारको रुपमा बिदेश जानू पिडादायी व्यवहार भएकोमा सबैलाई चिन्तित बनाएकोले बुटवललाई सीप र सस्कारयुक्त शिक्षा हासिल गर्ने थलो बनाउन बुटवल उमनपाले नयाँ कार्ययोजना साथमा अघि बढ्न लागेको बताउदै त्यसमा सबै शिक्षालय र नागरिकको सहयोगको अपेक्षा गरे ।
कालिका मानवज्ञान माबिमा कक्षा ११ र १२ का शिक्षकहरुको लागि आयोजित तालिममा बोल्दै विद्यालयका प्रधानाध्यापक दिनेश थापाले शिक्षकहरु पुर्वयोजना र तयारिका साथ कक्षाकोठामा प्रवेश गरेमा मात्र शिक्षण प्रभावकारी हुने भएकोले शैक्षिकसत्रको शुरुमा गुणस्तर अभिवृद्धि तालिम आयोजना गरेको बताए। उनले शैक्षिक सुचकमा मात्र नभएर असल अभ्यासमा समेत कालिका मानवज्ञान माबी नेपालमै प्रथम हुन सकेको जानकारी दिदै यी असल अभ्यासहरु सबै विद्यालयमा हस्तान्तरण गर्न आफुहरु तयार रहेको प्रतिबद्धता ब्यक्त गरे ।
विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष नित्यानन्द ज्ञवालीले विद्यालयलाई अब्बल बनाउन अभिभावकको चासो, विद्यालय प्रशासनको ठोस यिजना र शिक्षकको मेहनतले मुख्य भुमिका खेल्ने भएकोले यी सबै कुरालाई प्रेरित गर्न स्थानिय सरकारले दीर्घकालीन योजनाकासाथ अघि बढ्नुपर्ने बताए । विद्यालयमा हुने ३ दिने तालिममा वार्षिक योजना निर्माण र उप्रेरणा सम्बन्धमा विभिन्न प्रशिक्षकहरुले प्रशिक्षण दिने विद्यालयले जनाएको छ ।
प्रतिक्रिया