गुल्मी । भर्खरै निर्माण सम्पन्न भएको नहरभन्दा केहीमाथि कुनामा उभिएको रुखमा झुण्ड्याइएको ब्यानरमा लेखिएको थियो ‘कृषिको आधार सिचाइमा सुधार, योजना हस्तान्तरण कार्यक्रम’ । सहायक प्रमुख जिल्ला अधिकारी हरि प्रसाद गैरे प्रमुख अतिथिको आशन गरेर कुलाको डिलमा पलेटी कसेर बसेका थिए ।
यसैगरी जलश्रोत तथा सिंचाइ बिकास डिभिजन कार्यालय प्रमुख भरतप्रसाद सापकोटा लगायतका अन्य अतिथिहरु पनि बस्न मिल्ने काठ र सेउला सेउली भाच्दै भुइमै आशन ग्रहण गरे । दर्शक दिर्घ थियो कुलाको पल्लो डिल त्यताको बसाइ पनि उस्तै थियो।
कुलाको वारी पारी बसेर गरिएको कार्यक्रम सकेर हामी खिर र अचार लाग्यौं । ‘उखु, खुदो र गुड खान गुल्मीको दिगाम, बोहा गाउँ जानूपर्छ भन्थे अब खास खिर र अचार कस्तो हुन्छ भन्ने चाख्न दिगामनै जानूपर्ने लाग्यो ।’–स्वाद चाख्ने अतिथिहरुको बखान थियो । करोडौको सिंचाइ योजना सम्पन्न भएर हस्तान्तरण गर्ने कार्यक्रम कृषकहरुसँगै अतिथीहरु पनि पलेटी कसेर चिसो भुईमा बसेर खिर खाए, कार्यक्रमको समापन भयो । बोहा सिंचाई योजना छत्रकोट–४ गुल्मीको यो सिंचाई योजना ठेकेदारले बेलासमा सम्पन्न गर्न नसकेपछि कृषकहरुनै जुटेर सम्पन्न गरेका हुन् ।
उपभोक्ताहरुकै सहभागितामा सम्पन्न भएको यो योजना त्यही योजना हो जुन योजनालाई चार वर्षअघि ठेक्का दिइएको निर्माण कम्पनीले सम्पन्न गर्न सकेन । ठेक्का सम्झौता तोडेर गत वर्ष कृषकलाई नै निर्माणको जिम्मा लगाएपछि योजनाले साकार रुप लिएको हो । सिचाइ डिभिजन कार्यालयले उपभोक्तालार्इ निर्माण गर्ने जिम्मा दिएपछि साकार रुप लिएको उपभोक्ता भुपाल ज्ञवाली, विष्णु प्रसाद ज्ञवाली लगायतले बताए ।
वर्षादिखोला वा सातमुरेखोला सिँचाई योजना अहिले सिमेन्टेड भए भएको छ । झण्डै एक सताब्दी अघि साबिक दिगाम गाविस र तत्कालिन इन्द्रदिप गाउँपन्चायतका अगुवाहरुले यो कुलो खनेका थिए । मुहान नजिकै कडा चट्टानी भिर खन्न नसकेपछि बाग्लुङबाट आग्री झिकाएर खनिएको उपभोक्ता समितिका अध्यक्ष यममलाल ज्ञवाली र दामोदर ज्ञवाली सुनाउछ्न् ।
सिंचाइ डिभिजन कार्यालय गुल्मीमा प्रमुखको जिम्मेवारी सम्हाल्न भरत प्रसाद सापकोटा आउँदासम्म तराईमा ठूला र बलियो नहर यहा थिएनन् । पुर्खाहरुले नै प्रचलनमा ल्याएको कुलो मर्मत सम्भार मै सीमित थिए यहाँका कृषक । परेका केही ठूला योजना पनि अलपत्र थिए । उनी आएपछि जिल्लामा थुप्रै ठूला र अलपत्र योजनाहरु सम्पन्न भएका छ्न् । कोहि सम्पन्न हुने चरणमा छ्न् । सहायक प्रमुख जिल्ला अधिकारी गैरेले सापकोटालाई छिटो काम सक्ने उत्कृष्ट कार्यालय प्रमुखका रुपमा प्रशासनले लिने गरेको बताए ।
तपाई आउँदा कति वटा योजना अलपत्र थिएर आइ सकेपछि के–कति सम्पन्न भए त भन्ने प्रश्नमा उनै डिभिजन प्रमुख सापकोटा भन्छ्न ठूला सिचाइ योजना ४० वटा बढी छ्न् र दुई आर्थिक वर्षमा साना ठूला गरि साढे दुई सय बढी सम्पन्न भएका छ्न ।
बोहाफाट सिंंचाइ योजना सापकोटाले ठेक्का दिएको भए यति काम हुन नसक्ने बताउँछन् । २०७७ साल चैत्र १९ गते संघीय ससर्त मर्मत कार्यक्रम अन्तरगत १ करोड ३७ लाख बढी बजेटमा सम्झौता भएको बोहाफाट सिंचाई योजनामा झण्डै ८ लाख बराबरको जनश्रमदान स्थानीयले गरे । कुल १ करोड ९० लाख ३५ हजार ७७६ रुपैयाँ लागतमा निर्माण सम्पन्न भयो ।
नहरको लम्बाई तीन किलो मिटर बढी छ । जसलाई करिव १८ सय मिटर नयाँ सिमेन्टेड बनाइएको छ । यसबाट ५० घरधुरी बोहफाटबासी लाभान्वित हुनेछ्न । त्यस पालिकाको तर्फबाट वडाध्यक्ष गुनाखर ज्ञवाली र सहायक प्रजिअ गैरेले हस्तान्तरण पत्र आदान प्रदान गरेका थिए । सिंंचाइ मात्र होइन सदियौदेखि खोलाको पानी पीउन बाध्य बोहा गाउँका करिव ५० घरधुरीलाई लिफ्ट खानेपानी योजनाले शुद्ध पानी समेत खुवाउन सकिएको वडाध्यक्ष ज्ञवाली बताउँछन् ।
प्रतिक्रिया