ताजा अपडेट »

भकार्लुङको सेरोफेरो

विहीबार, २८ असार २०८०

पाटनको ढिकबाट तलतिर हेर्दा जहाजको झ्यालबाट भुइँमा हेरेझैँ देखिन्थ्यो । कहालीलाग्दो भीर हेर्दा रिङगटा लाग्दाजस्तै भएको थियो । त्यै बेला चोरीऔँला सोझ्याउँदै दलबहादुर गुरुङ (डीबी) ले भने, “यै बाटो झर्नी हो । उः तल देखिएको त्यो ठाउँ भकार्लुङ हो । त्यसैको तल सुकेताल छ । पारि देखिने ठाउँ चाहिँ पाल्पा, तिनाउको दोभान हो ।”

आकासमा बादल र भुइँमा कुहिरो छरिएको हुनाले दलबहादुरले देखाएको दृश्य मोतीविन्दु भएका आँखाले संसार देखेजस्तै देखियो । कहाली लाग्दो भीर देखेपछि सबैका खुट्टा कापे । मुटु ढुकढुक गर्न थाल्यो, तर झर्नु त थियो नै । जेष्ठ नागरिकहरूका लागि साथीहरूले दह्रा लौराको व्यवस्था गरेका थिए । तिनै लौराको सहाराले तल झर्न थाल्यौँ ।

“यो बाटो पहिलेका जमानामा नुन बोक्ने बाटो हो ।” राजेश श्रेष्ठले आफूले जानेको सूचना दिए । उनी हाम्रो समूहमा वनकविका नामले परिचित थिए र रमाइलो गर्नमा उत्तिकै सिपालु ।

हाम्रो यात्रा टोली नौ जनाको थियो । टोलीका प्रमुख व्यक्तित्व थिए पूर्व सांसद तथा लेखक देवेन्द्र घिमिरे । साथमा थियौँ– पदम शाक्य, कृष्ण रेग्मी, रोहित भुसाल, लालकुमार श्रेष्ठ, खड्कबहादुर रायमाझी, राजेश श्रेष्ठ, दलबहादुर गुरुङ र म ।

वि.सं. २०८० साल असार २४ गते आदरणीय दाजु देवेन्द्र घिमिरे, दलबहादुर गुरुङ, कृष्ण रेग्मी र म जुटेर साहित्यिक गफगाफ गर्दै थियौँ, त्यस्तैमा घुमफिरको कुरा उठ्यो । दलबहादुरले भने, “भोलि सामुदायिक वन समन्वय समिति, तिनाउको तर्फबाट अनुगमनको सिलसिलामा तिनाउ गाउँपालिकाको माथि पाटन आसपास जाने कार्यक्रम छ । जाऊँ सँगै । तपाईँहरू गए यात्रा पनि रमाइलो हुन्छ र हाम्रो अनुगमनले पनि पूर्णता पाउँछ ।”

“अनुगमनको उद्देश्य के हो नि ?” मलाई खस खस लाग्यो र जिज्ञासा राखेँ ।
डिबीले भने, “माथिल्लो तटीय क्षेत्र (तिनाउ जलाधार क्षेत्र) मा वृक्षरोपण गरिएका स्थानमा विरुवाको अवस्था बुझ्ने, हेर्ने र थप नयाँ काम केही गर्न सकिन्छ कि भन्नेबारे जानकारी लिने हो ।” डीबीको कुरा सुनेपछि मैले देवेन्द्र दाजुको अनुहारमा हेरेँ । उनले सहजै भने, “जाने भए जाऊँ । म तयार छु ।” म पो किन कम हुनु थियो र भन्दिएँ, “म पनि तयार छु ।” यसरी बनेको थियो यात्राको कार्यक्रम ।

असार २५ गते दिउँसो ठिक १२:३० बजे बुटवलमा जम्मा हुने समय दिएका थिए डीबीले । कृष्णजी र म भनेकै समयमा पुग्यौँ । एकैछिनमा देवेन्द्र घिमिरे र डीबी सँगसँगै आए । साथीहरूले त्यो रुटमा नियमित रूपमा चल्ने गाडीको व्यवस्था गरेका रहेछन् । केही समयमा गाडी पनि आयो । दिउँसो एक बजेतिर बुटवलबाट प्रस्थान गर्यौँ ।

पाल्पा जाँदा सिद्धबाबाको बाटो हुँदै जानुपर्छ । सिद्धबाबा नाम सुन्दै डर लाग्ने स्थान हो । त्यस ठाउँमा ढुङ्गा र पहिरो खसेर धेरै जनाको ज्यान गएको छ । खतरा ठाउँ कसरी पार गर्ने होला भन्ने चिन्ताले मुटु ढुक ढुक गरिरहेको थियो, तर गाडी चालक रामु भाइ साह्रै सिपालु रहेछन् । उनले सहजै पार गराए । खतरा टरेपछि मन शान्त भयो ।

सिद्धबाबा क्षेत्र विभिन्न किसिमले चर्चित छ । एकातिर आदि मानव रामपिथेकसको दाँत भेटिएको हुनाले ऐतिहासिक हिसाबले यस ठाउँको महत्त्व छ भने सिद्धबाबाको मन्दिरले गर्दा धार्मिक क्षेत्रका रूपमा पनि यो ठाउँ परिचित छ । यहाँ दिनहुँ सयौँको सङ्ख्यामा धर्मावलम्बीहरू आउने गर्छन् । विवाहको लगनमा धेरै जोडीहरूले सिद्धबाबालाई साक्षी राखेर आफ्नो दाम्पत्य जीवन सुरु गर्छन् ।

यस क्षेत्रमा पहिलो जलविद्युत उत्पादन भएको ठाउँ पनि यही हो । २०२५ सालदेखि सुरु भई तीन चार वर्षमा सम्पन्न भएको तिनाउ जलविद्युत आयोजनामा करिब १ मेघावाट् विद्युत उत्पादन हुन्छ । विद्युतको केन्द्रीय प्रशारण लाइन नजोडिँदै बुटवल आसपासको अँध्यारो बस्तीलाई उज्ज्यालो पार्ने काम यहीको विद्युतले गरेको थियो । पछिल्लो समयमा सिद्धबाबाको नजिकै स्थापना भएको रामपिथेकस पार्क, तिनाउ नदीमा निर्माण भएको पुल (भाइरल पुल) तथा भर्खरै निर्माण भएको केवुल कारले पनि यस क्षेत्रलाई हराभरा बनाएका छन् । दिनमा सयौँको सङ्ख्यामा मानिसहरूले यस क्षेत्रको भ्रमण गर्ने र खुसी साट्ने गरेको, भाँती भाँतीका फोटा खिचेर फेसबुकमा हाल्ने गरेको र संसारभरि यस क्षेत्रलाई परिचित बनाएको पाइन्छ । हिजोआज यो क्षेत्र आन्तरिक पर्यटनको महत्त्वपूर्ण गन्तव्य भएको छ ।

यस्तो अपूर्व क्षेत्र पार गरेर अगाडि बढ्दै थियौँ, त्यस्तैमा अर्को अनौठो दृश्य देखियो । सडक किनारमा अचम्मको निर्माण कार्य भइरहेको थियो । नयाँ दृश्य देख्नासाथ मेरा मनमा जिज्ञासा पलायो, अनि डीबीतिर फर्केर सोधेँ । उनले भने, “सुरुङ मार्ग बन्दै छ दाइ यहाँ ।” केही समय पहिले पढेको समाचारको सम्झना भयो । सिद्धबाबाको पहिरो छल्नका लागि निर्माण हुन लागेको सुरुङ मार्ग नेपाल सरकारको लगानीमा चाइनिज कम्पनीद्वारा निर्माण हुँदै रहेछ । सुरुङ मार्ग बन्न लागेको देखेपछि खुसी लाग्यो । नेपालमा हुने विकास निर्माणका काम समयमा पूरा त हुँदैनन् तैपनि ढिलै भए पनि सुरुङ मार्ग निर्माण भएमा यस क्षेत्रमा हुने दुर्घटनाहरू कम हुने आशा जाग्यो मनमा ।

दोभान पुगेपछि हाम्रो यात्राका अरु सदस्यहरू थपिए । साथीहरू गाडी चढेपछि डीबीले पालैपालो चिनाए, “उहाँ राजेश श्रेष्ठ वनकवि, उहाँ यस समन्वय समितिका वर्तमान अध्यक्ष पदम शाक्य, उहाँ बुटवल उप–महानगरपालिकाका वन अधिकृत रोहित भुसाल । साथीहरूका बिचमा डीबीले हाम्रो पनि परिचय गराए ।”

परिचय आदानप्रदान हुँदाहुँदै हामी झुम्सा पुगिसकेका थियौँ । झुम्साबाट अर्का एकजना सहभागी चढे । उनी राम्ररी बस्न पनि भ्याएका थिएनन्, डीबीले भने, “उहाँ खड्गबहादुर रायमाझी ।” झुम्साको पुल तरेपछि गाडी सरासर तानसेनतिर लाग्छ भन्ने ठानेको थिएँ मैले । हिजोको सल्लाह पनि त्यस्तै थियो । पाल्पा जाने मूल सडक हुँदै डुम्रे पुग्ने, डुम्रेदेखि देब्रे लागेर हटिया हुँदै माथि निस्किने र पाटन पुग्ने कुरा भएको थियो हिजो, तर पुल तर्दासाथ गाडी देब्रे मोडियो ।अचम्म लाग्यो र सोधेँ । चालक भाइले सङ्क्षिप्त उत्तर दिए, “योे बाटो छोटो छ ।”

बाटो कच्ची भए पनि फराकिलो र सजिलो थियो । कालो गिट्टी ओछ्याइएको हुनाले चिप्लिने डर पनि थिएन । सडकको दायाँ वायाँ जङ्गल थियो । हरिया रुखहरूले हामीलाई स्वागत गर्न निश्चल भएर उभिएको भान हुन्थ्यो । मन्द मन्द हावा चलिरहेको थियो । हावासँगै रुखका पात र हाँगाबिगा हल्लिएर हामीलाई स्वागत गरेको आभाष भइरहेको थियो । तराईको गर्मीले अलसतलस भएका हामीलाई घरी घरी चिसो हावाले स्पर्श गर्दा अनुपम आनन्दको अनूभूति भइरहेको थियो । रुखका हरिया डालीमा बसेका रङ्गीबिरङ्गी चरीहरूको चिरबिर आवाजले सङ्गीतको झल्को दिइरहेको थियो ।

डीबीले हामी जाने ठाउँमा चिसो हुने हुँदा एउटा बाक्लो ज्याकेट बोल्ने आदेश जारी गरेका थिए । उनको आदेश शिरोपर गर्दै मैले बाक्लो जाकेट बोकेको थिएँ र ज्याकेट बोक्नकै लागि एउटा झोला पनि लिएको थिएँ । झुम्साबाट उकालो लाग्दासम्म पनि गर्मी उत्तिकै थियो । शरीरमा पलाएका पसिना सुकेका थिएनन् । तैपनि यात्रालाई रमाइलो बनाउने विचारले सबै साथीहरूले सुन्ने गरी डीबीलाई बोलाएँ र भने, “डीबीजी ज्याकेट लगाउने बेला भयो ? कुन बेला लगाउने हो भन्नु होला है !” मेरो कुरा सुनेपछि सबै साथीहरू गलल हाँसे । एकछिन खुब रमाइलो भयो ।

उकालो भइकन पनि बाटो गजबको थियो । गाडी चालक अनुभवी रहेछन् । सजिलै हिँडाइरहेका थिए । म आफू पनि चालक भएको हुँदा उनको चलाईको चालढाल हेरिरहेको थिएँ । उनी गाडी चलाउन निपूर्ण छन् भन्ने निष्कर्ष निकालेको थियो मेरा मनले । चालक राम्रो भयो भने यात्रा पनि रमाइलो हुन्छ । दुर्घटनाको डर हुँदैन । यात्रा रमाइलो बनाउनका लागि केही बोल्नु जरुरी थियो । त्यसैले चालकलाई संबोधन गदै भने, “रामु भाइ, गाडी त निकै बलियो रहेछ । तपाईँ पनि उत्तिकै अनुभवी हुनुहुँदो रहेछ ।” मेरो कुरा सुनेपछि उनी मुसुक्क हाँसे र हाँस्दैभने, “मुस्ताङ गाडी हो सर, बाबुराम भट्टराई चढेको गाडी ।”

चालकको कुरा सुनेपछि बाबुराम भट्टराईको सम्झना भयो । उनी प्रधानमन्त्री हुँदा नेपालमै बनेको भनिएको मुस्ताङ गाडी चढेर रमिता गरेका थिए । उनले गर्न खोजेको त ठिकै थियो, तर धेरैले इल्लीबिल्ली पारे । जिल्ला भ्रमणको बेला उनी पुगेको ठाउँमा मुस्ताङ गाडी पुर्याउन कम गाह्रो भएन आयोजक तथा सुरक्षाकर्मीहरूलाई । एकैछिन उनैका कुरा भए । यात्राको क्रममा केही न केही बोल्नु त थियो नै विषय बन्यो नेताहरूको । गाडीमा बसेका हामी सबैले एक खेप पालैपालो नेताहरूको आलोचना गर्यौँ । नेताहरू सबै अपरिपक्क भएको र देश विकासमा भन्दा आफ्नै स्वार्थमा समय व्यतित गरेको निष्कर्ष निकाल्यौँ । नेताहरूको आलोचना गरेपछि हाम्रो मन केही शीतल भयो ।

गफ गर्दै अगाडि बढ्दै थियौँ, यस्तैमा उकालो सकिएको सङ्केत देखियो । हामी चढेको गाडी एउटा सम्मो बस्तीमा पुगेर रोकियो । एउटा घरको भित्तामा लेखिएको थियो– लग्दुवा कृषि भवन, स्था.२०६४ । यी शब्द पढेपछि मलाई पुराना दिनको सम्झना भयो । २०३९÷४० सालतिर म यहाँबाट केही पश्चिममा रहेको बडहरे भन्ने गाउँमा आइरहन्थेँ । त्यहाँ मेरा भान्जा दाजु चन्द्रकान्त खरालको घर थियो । त्यहाँ आउने क्रममा दाजु र भतिज बाबुरामसँगै एक दुई चोटि यो गाउँमा आएको थिएँ । त्यो बेलाको लग्दुवा गाउँ र अहिलेको लग्दुवा गाउँमा निकै भिन्नता थियो । त्यो बेला गाउँमा बाटाघाटा थिएनन् । हिँडेरै चारैतिर पुग्नुपथ्र्यो, तर अहिले बाटाघाटाको बिस्तारले गर्दा पुराना कच्ची बाटा र घरहरू विस्थापित भएका छन् । नयाँ नयाँ बाटा बन्दै छन् र कच्ची घरहरू पनि पक्की हुन थालेका छन् । पुराना संरचना सबै नयाँ बन्दै गएका हुँदा पुरानोपन कतै भेटिँदैन हिजोआज ।

गाडीबाट झर्दै थियौँ एक जोडी मगर दम्पत्ति हामी नजिक आए र आदरपूर्वक नमस्कार गरे । हामीले चिनेका थिएनौँ, तर साथीहरूले पहिले नै फोन गरेर हाम्रो नालीबेली बताएका रहेछन् । एकजना पूर्व सांसद एकजना पूर्व सिडियो । हामी आफूले आफूलाई ठुला नठाने पनि अरुका लागि त हामी ठूला हुँदा रहेछौँ ।

गाडीबाट झर्नासाथ मगर दम्पत्तिले एक बाल्टी महीले स्वागत गरे । प्यास लागेको थियो, तीन गिलास चिसो मही पेटमा परेपछि मन शान्त भयो । मही पिउँदै थियौँ, मही पिलाउने महिलातिर देखाउँदै डीबीले भने, “उहाँ पूर्णिसरा चिदी र उहाँ भेना ।” यसो भनेपछि उनीहरूले फेरि नमस्कार गरे । मिठो मही खान दिएकोमा हामीले मुरी मुरी धन्यवाद दियौँ । मही पेटमा घुम्दै थियो फेरि थालभरि काँक्रो काटेर ल्याइन् । स्थानीय काँक्रो उत्तिकै स्वादिलो थियो ।

“यो ठाउँको अर्को नाउ एलजी टाउन पनि हो ।” राजेशले भने । यसको अर्थ लग्दुवा गाउँ टाउन होला मैले अनुमान लगाएँ । पहाडको टुप्पोमा राम्रो फाँट रहेछ । पानीको राम्रो व्यवस्था । धान रोप्ने समय भएको हुनाले किसानहरू रोपाईँ गर्दै थिए । उनीहरूले रोपाईँ गरेको देख्दा पुराना दिनको सम्झना भयो । गाउँमा छँदा यसै गरी रोपाईँ गर्थ्यौं हामीहरू । महिनौँ लाग्थ्यो काम सक्न । हिलो, धुलो र थकाइले शरीर लपक्क भिज्थ्यो, तर अहिले हिलो नकुचेको पनि वर्षौँ भयो । आफूले खेती गर्ने पहाडका खेत बाँझै छन्, आफू अर्काले उत्पादन गरेको चामल किनेर खान बाध्य छौँ । हाम्रो विकासको अर्को नमुना हो यो ।

केही समयको बसाईपछि हाम्रो यात्रा पुनः जारी रह्यो । अगाडिको सडक पनि उत्तिकै राम्रो थियो । यस्तो राम्रो सडक कसले बनायो होला भन्ने जिज्ञासा जागिरहेको थियो मनमा । अलि माथि पुगेपछि देखेको दृश्यले मन चिसो भयो । त्यहाँ त एउटा ठूलै पहाड भत्काएर गिट्टी ढुङ्गा ओसार्ने ठाउँ बनाएका रहेछन् । हामी हिँडेको सडक त त्यही गिट्टी ओसार्नका लागि खानी मालिकहरूले पो बनाइएका रहेछन् । कठै हाम्रो नेपाली पन ! एकातिर चुरे र महाभारत पर्वत शृङ्खला बचाउने भनेर नारा लगाइरहेको सुनिन्छ । यता भित्रभित्रै चुरे र महाभारत पर्वत दोहनको सिलसिला चलिरहेको छ । यस्तै कामहरूले गर्दा एकातिर बाढी पहिरोको भय छ भने अर्कातिर दिन प्रतिदिन मौसम परिवर्तनको असर बढ्दै छ । खोलाका बगरहरू पनि उत्तिकै घाइते भइरहेका छन् । वर्षेनी हजारौँ लाखौँ टन ढुङ्गा गिट्टी निकालेर नदीको मौलिक संरचना बिगार्ने काम भइरहेको छ । यसले गर्दा बाढी पहिरोको भय बढ्दै छ । हामी यसैलाई विकास भनेर चिच्याइरहेका छौँ । के यही हो त विकास ? यसरी गरिएको विकास दीगो हुन सक्छ ? यस्तै कुराहरू खेले मनमा ।

यसै सिलसिलामा अष्ट्रेलिया भ्रमणको एउटा घटना सम्झना भयो । त्यहाँ एक प्रदेशबाट अर्को प्रदेशमा जाँदा माटोको एक चिम्टी पनि लैजान पाइँदैन । यदि कसैले गमला लगेको छ भने पनि माटोजति साविक प्रदेशमै राखेर बिरुवा मात्रै लैजानुपर्छ । यदि जुत्तामा माटो लागेको छ भने त्यसलाई पनि साविक प्रदेशमै पखालेर मात्र अर्को प्रदेशमा छिर्न पाइन्छ । दुःखको कुरा हाम्रो देशमा भने दिनहुँ गिट्टी, ढुङ्गा र माटो बोकेका टिपरहरू सहजै दक्षिणतिर कुँदिरहेका हुन्छन् । हाम्रो देशको प्राकृतिक सम्पदा मास्ने, नास्ने र सस्तो मूल्यमा बिक्री गर्ने काम भइरहेको छ । देशलाई मरुभूमीकरण गर्ने काममा व्यस्त छौँ हामी । यसैलाई हामी विकास भन्दै छौँ र यसैबाट आएको नगन्य राजश्वलाई विकासको मूल आधार ठान्दै छौँ । धिक्कार छ हामी र हाम्रो विकास तथा सोचलाई !

मनमा के के विचार आइरहेका थिए । सोचमग्न थिएँ । त्यस्तैमा हामी अर्को नयाँ ठाउँमा पुग्यौँ । त्यो ठाउँमा पुगेपछि डीबीले गाडी रोक्न लगाए । गाडीबाट झार्दै उनले भने, “हाम्रा पूर्खाले नुन बोक्ने र परदेश गएका लाहुरेहरू घर फिर्ने पुरानो बाटो हो यो । यस ठाउँलाई मरेक भनिन्छ ।”

डीबीले त्यसो भनेपछि मलाई पुराना दिनको सम्झना भयो । २०५६÷५७ सालतिर म पाल्पामा जागिरे हुँदा यो बाटो पैदल हिँडेको थिएँ । दोभानबाट पुल तरेर झुम्सा आएको थिएँ । त्यहाँबाट उकालो बाटो हिँड्दै मरेक र मरेकबाट सिस्नेखोलाको बाटो माथि डाँडामा उक्लेर डुम्रे झरेको थिएँ । त्यो बेला खै कुन दलले हो नेपाल बन्द गरेको थियो । नेपाल बन्दमा कार्यालयमा हाजिर हुनु जरुरी थियो । हाजिर नभएमा बन्दलाई समर्थन गरेको आरोप लाग्न सक्थ्यो । त्यसैले पनि बुटवल घरमा आएको म दोभानसम्म साइकिलमा र दोभानदेखि हिँडेरै तानसेन पुगेको थिएँ ।

बर्खा भएको हुनाले पनि होला साना साना खोला र खोल्सीहरूमा सङ्लो पानी बगिरहेको थियो । पानीको कल कल आवाजले वातावरणलाई सङ्गीतमय बनाइरहेको थियो । वरिपरि हरिया रुखहरूले प्रयाप्त अक्सिजन फालिरहेका थिए । मैले घरी घरी लामो लामो सास तान्दै ताजा अक्सिजनले फोक्सो भर्ने काम गरिरहेको थिएँ । मरेकमा चारपाँचओटा घर रहेछन् । शान्त, सुन्दर र रमणीय उक्त स्थानबाट दक्षिणतिर हेर्दा हरियो वनको विशाल क्षेत्र देखिन्थ्यो । रमणीय ठाउँमा घुमेर आनन्द लिइरहेका थियौँ, त्यस्तैमा डीबीले भने, “हिँडम् गुरुजी ।”

मरेकबाट हिँडेको केही समयपछि कल कल आवाजसहित एउटा खोलो देखियो । त्यो त सिस्ने खोलो पो रहेछ । पैदल हिँड्ने समयमा सिस्ने खोलाको किनारमा बाटाको दायाँबायाँ भट्टीहरू हुन्थे । ती भट्टीमा बास बस्ने लाहुरेहरूका कारुणिक कथा सुनाउनुहुन्थ्यो बुबाले । लाहुरेले धेरै रक्सी खाएर लुटिएका र पैसा सबै लुटिएपछि त्यसैबाट लाहुर फर्केका किस्सा सुन्दा मन सिरिङ्ग हुन्थ्यो । तर अहिले सिस्ने खोलो एक्लै थियो । तलबाट मोटर बाटो बनेपछि त्यहाँ भएका भट्टीहरू सिस्ने खोलालाई एक्लै पारेर अन्यत्र बसाई सरेका थिए । अहिले हेर्दा सिस्ने खोलो र त्यसको आसपासको भूगोल शान्त थियो, एकान्त थियो र विरक्त लाग्दो थियो ।

सिस्ने खोलो सकिएपछि गुरुजीले हामीलाई उकालो बाटो उकाले । केही समयको घ्यार घ्यारपछि हामी एउटा सुन्दर ठाउँमा पुग्यौँ । एउटा ठूलो वृक्षको तल पुगेपछि गाडी रोकियो । त्यहाँ केही कच्ची र केही पक्की घरहरू थिए । गाडीबाट झरेपछि थाहा भयो, त्यो ठाउँको नाम काशी भञ्ज्याङ रहेछ । काशी भञ्ज्याङमा करिब दुई दर्जन मजदुरहरू जम्मा भएर एउटा नयाँ घरमा पक्की ढलाई गर्दै थिए । मोटर बाटो पुगेपछि कच्ची घर पक्की हुने क्रम यहाँ पनि जारी रहेछ ।

गाडी रोकिना साथ साथीहरू अनुगमनतिर लागे । देवेन्द्र घिमिरे र म गाडीबाट उत्रिएर हिँड्दै अगाडि बढ्यौँ । नजिकै देवी प्राथमिक विद्यालय रहेछ । २०४५ सालमा स्थापना भएको उक्त विद्यालय साविक मस्याम ५ मा पर्दो रहेछ । विद्यालय बन्द भएको हुनाले चारैतिर सुनसान थियो । विद्यालय प्राङ्गणमा पुगेर केही समय चारैतिर अवलोकन गर्यौँ । वरिपरि र पर पर देखिने दृश्यहरू साह्रै सुन्दर थिए । आसपासका बारीमा लहलह मकै खेती थियो । मकै खेतीले गर्दा पनि चारैतिर हरियाली देखिन्थ्यो । सुन्दरतामा रमाउँदै फोटा खिच्यौँ र केही समय सुस्तायौँ पनि ।

काशी भञ्ज्याङबाट हिँड्दै गर्दा पानी पर्यो । गर्मीले आत्तिएका थियौँ पानी पर्नासाथ शीतल भयो । एकातिर शीतलको आनन्द लिइरहेका थियौँ, अर्कोतिर बाटोको अवस्था हेर्दा भने मनमा कता कता डर पनि लागिरहेको थियो । भीरको काखै काख सडक अगाडि बढिरहेको थियो । वर्षाले गर्दा बाटोको सही अवस्था पहिचान गर्न र अगाडि बढ्न सहज भइरहेको थिएन, तैपनि गुरुजीको रफ्तार एकनासको थियो । उनका मनमा कत्ति डर थिएन । उनी तीव्र गतिमा गाडी कुँदाइरहेका थिए ।

केही समयपछि हामी एउटा अर्को भञ्ज्याङमा पुग्यौँ । एउटा होटलको अगाडि गएर गाडी रोकियो । गाडीबाट झर्दै डीबीले भने, “यहाँ हामी हल्का खाजा खान्छौँ ।” भोक लागिरहेको थियो, उनको घोषणा सुनेपछि मुखमा पानी आयो । शरीरका सबै तन्तु खुसी भए ।

ठूलो पानी परेको हुनाले गाडीबाट झर्न सहज थिएन । रुझ्दै झर्यौँ । तल झरेपछि हेरेँ त्यहाँ लेखिएको थियो ‘जलेश्वर होटल, रिब्दिकोट,लुली भट्टी’ ।

“लुली भट्टी ठाउँको नाम हो ?” मैले सोधेँ । डीबीले भने, “हो, यस ठाउको नाम लुली भट्टी हो ।”

लुली भट्टी नाम रहनुको कारण पनि बताए । उनले भनेअनुसार एउटी पोलियो पीडित अपाङ्ग महिलाले यस ठाउँमा सुरुमा भट्टी स्थापना गरेकी हुनाले यस ठाउँ ‘लुली भट्टी’ नामले परिचित भएको रहेछ । प्राचीन हिसाबले यो ठाउँ पनि महत्त्वपूर्ण रहेछ । विगतमा बटौलीबाट नुन लिएर पहाड चढ्ने ढाक्रेहरू यसै भञ्ज्याङ हुँदै अगाडि बढ्दा रहेछन् ।

जलेश्वर होटल भित्र पसेपछि एक हातो केरा भेट्यायौँ । भोक लागेको बेला गुलियो केराले अमृतको काम गर्यो । केही बेरमा होटलकी मालिक्नीले अण्डा मिसाएर चाउचाउ बनाइन् । चाउचाउ मिठो थियो, तर नुन भने दुईचोटि हालिछिन् कि कुन्नि, खानै नसक्ने चर्को थियो । पानी मिसाएर खायौँ । दुई कोसा केरा, एक बटुको चर्को चाउचाउ र एक माना पानी खाएपछि भोक शान्त भयो ।

लुली भञ्ज्याङबाट सिधै अगाडि जाँदा भैरवस्थाननिरको बतासे भन्ने ठाउँमा पुगिदो रहेछ । तानसेन जाने गाडीहरू यसै बाटो हुँदै जाँदा रहेछन्, तर हाम्रो गन्तव्य फरक थियो । गुरुजीले हामीलाई अघि आएकै बाटो फर्काए र अलि पर पुगेपछि पश्चिम–दक्षिणतिर उकाले । पानी पर्न बन्द भइसकेको थियो, त्यसैले यात्रा अलि सहज भयो ।

त्यहाँको भूगोल अत्यन्तै सुन्दर थियो । आकाशमा बादल र भुइँमा कुहिरो नलागेको भए उत्तरतिरका धौलागिरी, अन्नपूर्ण, माछापुच्छ«े लगायतका सुन्दर हिमाल र दक्षिततिरको सम्मो तराई देखिन्थ्यो होला, तर मौसमले साथ दिएन । तैपनि वरिपरिको भूगोल भने औधि सुन्दर थियो ।

सडकको माथिपट्टि साह्रै सुन्दर हरियाली थियो । हरियालीलाई व्यवस्थित तरिकाले तारबार गरिएको थियो । तारवारभित्र सुनकाउली (तेजपत्ता), अम्रिसो लगायतका विरुवाहरू थिए । उच्च स्थानमा रहेको उक्त ठाउँमा मन्द हावाले भर्खर हुर्किँदै गरेका बिरुवाका पातहरूलाई हल्लाइरहेका थिए । त्यो दृश्य देख्दा यतै बसेर प्रकृतिको आनन्द लिऊँ लिऊँ भइरहको थियो, तर त्यहाँ कवि हृदयले काम गर्ने वाला थिएन । गाडीमा अकवि हृदयहरूधेरै थिए । बासमा पुग्न हतारो थियो, त्यसैले गुरुजीले हामीलाई कत्ति नरोकी अगाडि बढाइरहे ।

हिँड्दै थियौँ, निगाला घारीले स्वागत गर्यो हामीलाई । त्यो बेला मीनाले गाएको एउटा गीतको सम्झना भयो मलाई । गीत यस्तो थियो ः कस्सो खाइथ्यो पाटे बाघले बैकनीमा जाँदा । हो पाटे बाघ लुक्न मिल्ने खालकै झाडी थियो । तर त्यो चिसोमा पाटे बाघ बस्न सम्भव थिएन ।

हामी निकै उच्च स्थानमा पुगेजस्तो लाग्यो मलाई । मैले जिज्ञासा राख्दै थिएँ, त्यही बेला रोहित भुसालले मोवाइल हेर्दै भने, “हो सर अहिले हामी करिब १,५६० मिटरको उचाइमा आइपुगेका छौँ ।”

केही समयपछि हामी एउटा सुन्दर गाउँमा पुग्यौँ । गाउँमा छिटफुट घरहरू थिए । बारीमा भर्खर घोंगा हाल्दै गरेका मकैका बोट लहलह थिए । आजको हाम्रो मुख्य गन्तव्य; सुन्दर, शान्त, हरियाली र शीतल त्यो गाउँको नाम नै पाटन रहेछ ।

गाउँ पुगेपछि गाडी रोकियो । सिमसिम पानी परिरहेको थियो । आकासमा बादल र भुइँमा चारैतिर कुहिरो लागेको हुनाले हामी आफै कुहिरोको कागजस्तै भएका थियौँ । साथीहरूले भने पहिले बास बस्ने ठाउँमा पुगौँ अनि बाँकी काम गरौँला ।

एउटा मगर परिवारको घरको आँगनमा पुग्दा पाँच सातजना मानिस जम्मा भएका थिए । हाम्रो स्वागतार्थ भेला भएका रहेछन् । घरकी मालिक्नीको नाम मीना रहेछ । हाम्रो निकै खातिर गरिन् । आज एक रातका लागि हामी उनका पाहुना भएका थियौँ । मन खोलेर सेवा गरिन् । एउटा अचम्म लाग्दो कुरा त्यस्तो चिसो र उच्च स्थानमा पनि हाम्रा तराईका लामखुट्टेजीहरू हामीभन्दा पहिले नै पुगिसकेका रहेछन् । उज्ज्यालोमा त खासै ख्याल भएन । राति सुतेको बेला भने घरी घरी गीत गाएर रमाइलो गरे ।

बिहान फर्किने दुईटा विकल्प थिए हामीसँग । हिजो आएका गाडीमा उही बाटो फर्किने कि पैदल हिँड्ने । हामी सबै जना पैदल हिँड्न सहमत भयौँ । देवेन्द्र घिमिरे उमेरले ७८ वर्ष पुगेका हुनाले हिँड्न गाह्रो हुन्छ कि भन्ने लागेको थियो, तर उनी पनि कस्सिए । बिहान कालो चिया र यतैबाट लगेको पाउरोटीको सेवनपछि ६ः३० बजेतिर पाटन गाउँबाट प्रस्तान गर्यौँ ।

बेलुकीको तुलनामा बिहानको मौसम सफा थियो । ओर ढिकमा आएर देखिएको दृश्यले हामी सबै रमायौँ । भीरको बाटो हिँड्नु पर्दा भने मन ढुकढुक भइरह्यो ।

पाटनबाट आधा घण्टाको नाके ओरालो झरेपछि हामी एउटा सुन्दर स्थानमा आयौँ । पहाडको चोटिबाट तल हेर्दा छङ्गाछुर भीर थियो । तैपनि घुमी घुमी फोटा खिच्यौँ । अलि तल झरेपछि कच्ची मोटर बाटो सुरु भयो । पहाडको थुम्कोमा उभ्याएर एउटा तीन तले घरजस्तै आकृति देखाउँदै साथीहरूले भने, “उः त्यै हो भकार्लुङ । भकारी जत्रो ढुङ्गो भएको हुनाले यस ठाउँलाई भकार्लुङ भनिएको हो । मगर भाषामा लुङको अर्थ ढुङ्गो हुन्छ । त्यसैको नामबाट यो ठाउँको नाम भकार्लुङ रहको हो ।”

कठै ! त्यहाँ पनि खानी रहेछ । गाउँको शिरानमा रहेको खानी देखेर मन धुरुक्क रोयो । राष्ट्रको प्रकृति विरोधी नीति देखेर मन अशान्त भयो ।

धेरै समयदेखि बसी बसी खाएका हामीलाई उकाली ओराली हिँड्न सजिलो थिएन । केही समयको हिँडाइपछि खुट्टा दुख्न थालिसकेका थिए । सुकेताल गएर खाना खाने र त्यहाँबाट गाडी चढेर दोभान पुग्ने लक्ष्य थियो, तर सुकेताल पुग्न पनि हम्मे हम्मे भइरहेको थियो । पहिले ढाक्रे हिँड्ने पैदल बाटो भाटिइसकेको थियो । मोटर बाटो निकै घुमाउरो थियो । तैपनि घुम्दै, उभिँदै र लामो लामो सास फेर्दै दिउँसो बाह्र बजेतिर सुकेताल पुग्यौँ ।

सुकेतालमा रहेको मनकुमारी बगाले होमस्टेमा खाना खाने व्यवस्था मिलाएका रहेछन् साथीहरूले । यो होमस्टे यस क्षेत्रको पहिलो होमस्टे रहेछ ।
खाना खाएपछि गाडी आउँछ भनेका थिए साथीहरूले, तर गाडी आउन ढिला हुने भयो । केही साथीहरू बाइकमा जाने र केही हिँड्ने सल्लाह भयो । म हिँड्नेमा परेँ । साथीहरूले भर्खर रोपाइँ गरेको खेत र खर्यानको बाटो झारे । त्यहाँसम्म आइपुग्दा पदम, डीबी, खड्ग र म मात्र थियौँ । चिप्लो बाटो, बाह्र एक बजेको गर्मी, थाकेको शरीर बडो मुस्किलले तल झर्यौँ । पुरानो बाटो भाटिइसकेको थियो । हिँड्दा हिँड्दै बाटो हराउँथ्यो । केही समयपछि सानो गोरेटो भेटिन्थ्यो ।

अलि तल पुगेपछि गाउँपालिकाको सहयोगमा बनेको सिँढी भेटियो । जङ्गलको बिचमा बनेको नयाँ बाटोले हामीलाई हिँड्न केही मदत गर्यो । हिँड्दै थियौँ, पानी पर्लाजस्तो भयो । गर्मीले रनक्क तातेका थियौँ । पसिनाले लपक्कै भिजेका थियौँ । यस्तो बेला पानीमा रुझियो भने ज्वरो आउन सक्थ्यो । पानी परेमा ओतिने ठूला रुख खोज्दै थियौँ, तै पानी रोकियो । खासै समस्या परेन । केही समयपछि पुनः बादल फार्यो र टण्टलापुर घामले सेक्न थाल्यो ।

हाम्रो हिँडाई घोडाबाससम्मै जारी रह्यो । गर्मी र थकाइले शरीर गलेर पकाएको कर्कलो जस्तै भएको थियो । तैपनि हिँड्नु त थियो नै । हिँड्दै थियौँ, पूर्वतिरबाट तीव्र गतिमा एउटा गाडी आएको देखियो । गाडी देख्नासाथ मनमा आशा पलायो । सडक किनारमा उभिएर गाडीको प्रतीक्षा गर्न थाल्यौँ ।

हो, हामीलाई नै लिन आएको गाडी रहेछ । हाम्रा नजिकै गाडी रोकिना साथ मन शान्त भयो । मुसुक्क हाँसेर गाडीमा चढ्यौँ । यसरी दुई दिनको हाम्रो यात्रा रमणीय भयो ।
+++
असार २७, २०८०
तिलोत्तमा– ८, रूपन्देही