बुटवल । लुम्बिनी प्रदेश सरकारले हरेक वर्ष प्रदान गर्दै आएको पत्रकार सम्मान पुरस्कार स्वयम् मुख्यमन्त्रीका कारण विवादीत हुने देखिएको छ । मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आफू निकटका व्यक्ति नपरेपछि विभागीय मन्त्रालयले गरेको निर्णयसहितको फाइल फर्काएका छन् । प्रदेश सरकारले दिने ३ विधामा ५ पत्रकारलाई गर्ने कार्यक्रम अन्तिम समयमा मुख्यमन्त्रीको निर्देशनमा रोकिएको छ ।
सञ्चारसमेत हेर्ने आन्तरिक मामिला कानुन तथा सहकारी मन्त्रालयको सिफारिस समितिले गरेको निर्णयका आधारमा ३ जनालाई जनही ५० हजारको क्रियाशील पत्रकार सम्मान, एक जनालाई १ लाखको वरिष्ठ पत्रकार सम्मान र एक जनालाई ५० हजारको वन तथा वातावरणका क्षेत्रमा उत्कृष्ट लेखन विधामा सम्मान गर्ने चालु आर्थिक वर्षको स्वीकृत कार्यक्रम हो । यसका लागि विज्ञसहितको समिति बनेर, निवेदन माग गरी सर्वसम्मत निर्णय गरेर पठाइए पनि मुख्यमन्त्री चौधरी र उनको सचिवालयले अन्तिम समयमा रोकेपछि वितरण हुन सकेन ।
छनोट समितिमा सहभागी एक सदस्यका अनुसार सिफारिस समितिमा प्रेस युनियनबाट परेका दाङका केपी घिमिरे र रोल्पाका कविता उपाध्यक्ष दुवै संस्थापन इतर समूहका हुन् । समितिले सिफारिस गरेका नाम हेरेपछि मुख्यमन्त्री चौधरीले आफ्नो पक्षका पत्रकार नसमेटिएको, सरकारमै नरहेको प्रेस चौतारीका पत्रकार परेको भन्दै तत्काल कार्यान्वयन नहुने भन्दै फर्काएका छन् ।
समितिले गरेको ५ जनाको सिफारिसमा युनियनबाट घिमिरे र उपाध्याय, प्रेस चौतारीबाट जानु पाण्डे र रवीन्द्र गुप्ता तथा प्रेस सेन्टरबाट भूपाल थापाको नाम थियो । छनौट समितिमा मुख्यमन्त्री कार्यालयका उपसचिव, बन मन्त्रालयका अधिकृत मदन मोहन शाडिल्य, सञ्चार प्रतिष्ठान लुम्बिनीका अध्यक्ष मिलन गाहा, विज्ञ समूहको तर्फबाट सुदिप गौतम, पत्रकार महासंघ लुम्बिनीका अध्यक्ष वसन्त गिरी, आन्तरिक मन्त्रालयका उपसचिव यमबहादुर कुँवर, कानुन उपसचिव खिमानन्द ज्ञवालीको सामुहिक बैठक बसेर सबै प्रक्रिया पूरा गरेर आएका ५ जनाको नाम सर्वसम्मत रूपमा पठाइएको थियो ।
मन्त्रालयले असार १२ गते एक साताको समय राखेर सूचना निकालेको थियो भने असार १९ गते छनौट समिति बसेर सर्टलिस्ट तयार पारेको थियो । असार २० गते र २२ गते बैठक बसेर छनौट गरी २४ गते वितरण गर्ने अन्तिम निर्णयअगावै २३ गते मुख्यमन्त्री कार्यालयबाट फाइल मगाएर रोकिएको थियो । आफू निकटका व्यक्तिहरू छुटेपछि केही समय समय थपेर अगाडि बढाउन खोजेपनि कर्मचारीले सबै प्रक्रिया पूरा गरिसकेकाले नमिल्ने बताउपछि रोकिएको हो ।
सञ्चार समन्वय परिषद् लुम्बिनीका अध्यक्ष मिलन गाहाले सिफारिस समितिले सबै प्रक्रिया पूरा गरेर सर्वसम्मत सिफारिस गरिए पनि सञ्चार सम्मान कार्यक्रम रोकिँदा आश्चर्य लागेको बताए । ‘विभागीय मन्त्रालयले मुख्यमन्त्री कार्यालयको प्रतिनिधिसमेत राखेर छनौट समितिले सिफारिस गरेर पठाएको हो, मुख्यमन्त्री कार्यालयबाट फर्काइएको सूचना मन्त्रालयबाट मलाई आएको छ, चालु आवको बजेटमा रहेको कार्यक्रम रोकिनु राम्रो होइन, विगतको निरन्तर कार्यक्रम रोकिनु सकारात्मक पक्ष होइन, यो छिटो कार्यान्वयन होस्’ उनले भने ।
नेपाल पत्रकार महासंघ लुम्बिनीका अध्यक्ष तथा छनौट समितिका सदस्य वसन्त गिरीले समितिले गरेका निर्णयमा कुनै दल निकटकालाई भेदभाव नगरी आवेदन आएकाहरूबाट प्रक्रिया पुराएर निर्णय गरिएको र कार्यविधिअनुसार गरिएको निर्णय कुनै दल विशेषको स्वार्थमा रोक्न नहुने बताए । आन्तरिक मामिला मन्त्रालय लुम्बिनीका सूचना अधिकारी तुलसीराम पौडेलले सम्मान कार्यक्रम तत्कालका लागि रोकिएको बताए । ‘यसलाई पछि छलफलपछि अगाडि बढाउने भनिएको हो, अहिले धेरै नबोलौँ’ उनले भने ।
प्रतिक्रिया