साहित्य, कला, संस्कृति, व्यापार, व्यवसाय, शिक्षा, स्वास्थ्य, पर्यटन र इतिहासका लागि बुटवल चर्चित ठाउँ हो । कुनैबेला साहित्यकारहरुले बुटवल कतै साहित्यिक मरुभूमि हुन्छ कि भन्ने पीर गर्थे । आर्थिक केन्द्रका रुपमा विकसित बुटवलको व्यापारिक यात्रा लामो छ । देश, दुनियाँले चिनेको बुटवललाई परिस्कृत गर्दै अघि लैजानुपर्ने देखिन्छ । त्यसका लागि प्रविधिमैत्री बुटवल हुनुपर्ने छ ।
कला, साहित्यले बुटवलको गरिमा र महिमा बढ्ने कुरा सबैलाई हेक्का भएकै कुरा हो । तर पछिल्लो समय बुटवलमा साहित्यिक गतिविधिहरु कम हुँदै गएका छन् । कला प्रदर्शनी गर्ने अवसर कमजोर हुँदै गइरहेको सबैले महसुस गरेकै छन् । भौतिक विकासमात्र सम्पूर्ण विकास हो भन्ने नेतृत्वको एकल बुझाईले कतै बुटवलको साहित्य, कला, संस्कृति कमजोर हुने त होइन ? भलै बुझ्नु र बुझाउनु हामी सबैको दायित्व हो ।
प्रसंग कलाकै हो । बुटवलमा रहेको श्रीनगर फिल्मस् प्रालिले आफ्नो व्यानरमा देखियो नि ! भन्ने कमेडी वेव सिरिज धमाधम सुटिङ्ग गरेर साउन पहिलो सातादेखि प्रदर्शनको तयारी गरिरहेको छ । मनीष पन्थ र गिरीप्रसाद पुन(लाहुरे दाइ)को लेखन तथा निर्देशन रहेको उक्त कमेडी वेव सिरिजमा गिरीप्रसाद पुनको मुख्य भूमिका रहेको छ भने अन्य स्थानीय कलाकारहरुले आफ्ना कला प्रस्तुत गर्ने स्वर्णीम अवसर प्राप्त गरेका छन् ।
गिरीप्रसाद पुन, पाका पुराना कलाकार हुन् । उनको अभिनय बेजोड छ । नारायण रायमाझीको चलचित्रका रुपमा प्रसिद्ध गोरखा पल्टनमा सुपरस्टार कलाकार प्रशान्त तामाङ्गको बाउको रोलमा उनको भूमिका देखेका थियौं । परदेशी भाग एक र दुईमा समेत उनको कला प्रस्तुत भएका थिए । जिन्दगानी दर्पणछाँया फिल्ममा उनको सक्षम प्रतिभा हेरिसकेका छौं ।
टेली सिरियल मेरी बास्सै, तीतेकरेली, सिस्नोपानी, जीवनलीला, वल्र्डकप इन नेपाल र प्रतिविम्व लगायतमा उनको भूमिका प्रशंसनीय रहेको थियो । प्राप्त आफ्नो भूमिकामा सफल अभिनय गरिसकेका गिरीप्रसाद पुनको देखियो नि ! कमेडी वेव सिरिजमा बेजोड अभिनय हेर्न तपाइँ, हामी सबै आत्तुर छौं । ब्रेन क्यान्सरलाई जितेर कलामा कम व्याक गिरी दाइले सबै दर्शकहरुलाई अभिनयमार्फत पक्कै जित्नेछन् । सबैका नजरमा वाह ! गिरीदाइ बन्ने छन् ।
मनीषले वास्तविकता, बाल अधिकार, पराइकी चेली, आफन्तको माया, रिक्सावाला न्यायदाता, वल्र्डकप इन नेपाल र भोजपुरी फिल्म दहेज चाँही दहेजको समेत सफल छायाँकन गरि सकेका छन् । यसैगरी के नाता होला र मेरो साथीमा पनि उनकै छायाँकन रहेको छ । फिल्म औंठाछापमा भने स्थीर छायाँकन गरेका छन् ।
यसैगरी नरसिंह भण्डारीको जीवन कथामा आधारित नरसिंह, तिनाउ नदीको किनार, लुकेको स्वर्ग गुल्मी, अन्र्टाकटिकामा नेपाली माटो जस्ता वृत्तचित्रको समेत छायाँकन तथा निर्देशन गर्न भ्याएका छन् । जीवराज आश्रितको जीवनकथामा आधारित जिउँदा जीवराज वृत्तचित्र बनाइसकेका छन् । शारीरिक रुपमा होचा कदका मनीष फिल्मी कर्मले सगरमाथा जस्तै अग्लिदै छन् र अग्लि रहेका छन् ।
मनीषको रुचीको क्षेत्र फराकिलो बन्दै गएको छ । उनले छायाँकनका साथै निर्देशन समेत गरेका छन् । कस्तो समर्पण, हाम्री चेली, दर्जनौं प्रचार सामग्री, म्यूजिक भिडियो, नेपालका प्रख्यात धार्मिक, ऐहिासिक एवम् पर्यटकीय क्षेत्रहरुको वृत्तचित्रहरु छायाँकन तथा निर्देशन गरि सकेका उनले राष्ट्रकवि माधव प्रसाद घिमिरे र संगीतकार अम्बर गुरुङको जीवन कथामा आधारित जीवनवृत्तको समेत छायाँकन गरि रहेका छन् । मनीषलाई फिल्मी दुनियाँसंगै वृत्तचित्रले समेत नयाँ रुपमा परिचित गराएको छ ।
पहिलो पटक नारायणहिटी राजदरवारमा फिल्म छायाँकन, निर्देशन गरी तहल्का पिटेका मनीषले आफैले लेखेको फिल्म थियो जिन्दगानी दर्पणछायाँ । खासगरी त्यो फिल्म नै उनको लागि फिल्मी क्षेत्रमा कोसे ढुङ्गो सावित भयो । युवा पुस्ताका लागि अत्यधिक मन पर्ने फिल्म बनाएका थिए डिभोर्स । त्यसमा पनि उनको लेखन, छायाँकन तथा निर्देशन रहेको छ । यस्तै लेखन तथा निर्देशन समेत रहेको छ उर्वशी फिल्ममा मनीषको ।
फिल्ममा उनले नयाँपन र नयाँ कलाकार खोज्छन् । नयाँ छायाँकन स्थल रोज्छन् । अरुभन्दा फरक देखिनु वा फरक विकल्प खोज्नु मनीषको विशेषता नै हो । उनले छायाँकन, निर्देशन र लेखन गरेका फिल्महरुले बजार तताएका छन् । हलसम्म दर्शकहरुलाई ल्याएका छन् । मनीष यतिले मात्र सन्तुष्ट छैनन् । उनमा फरक विषयवस्तु, फरक सोंच र शैलीले मस्तिष्कमा काउकुती लगाइ रहन्छन् र त सबैका अगि फरक भएर उभिएका छन् ।
नेपालमै पहिलो पटक रेक्सा दृश्य कवितामा पटकथा तयार पारेर छायाँकन तथा निर्देशन गरी मनीषले आफूलाई फरक ब्यक्तित्वका रुपमा दर्ज गराएका छन् । यसैगरी उनले टेली श्रृङ्खला क्रिस कान्छाको छायाँकन तथा निर्देशन गरी सबैको वाही ! वाही ! बटुलेका थिए कुनैबेला ।
आर्थिक मन्दीले कला क्षेत्र समेत शिथिल भएको बेला बुटवलबाट उनले देखियो नि ! कमेडी वेव सिरिज सुटिङ्ग र सम्पादन गरी प्रदर्शनको तयारीमा छन् । उनको आँट, हिम्मत र जोशलाई सम्मान गर्नैपर्छ । मनीषले आफ्नो भरपूर क्षमता, दक्षता, योग्यता यो कमेडी वेव सिरिजमा प्रदर्शन गर्नेछन् । निरन्तरता र स्तरीयतामा भने दुबैजनाको ध्यान जान सकोस् ।
प्रतिक्रिया