ताजा अपडेट »

एनभिए भलिबलः आर्मी र एपीएफ सेमिफाइनलमा

बुधबार, ०८ माघ २०७६

माघ ८,

काठमाडौं । राजधानीमा जारी एनभिए राष्ट्रिय पुरुष-महिला क्लब भलिबल प्रतियोगिता अन्तर्गत आज भएको पुरुषतर्फको खेलमा त्रिभुवन आर्मी क्लब र एपीएफ सेमिफाइनलमा पुगेका छन् ।

नेपाल भलिबल सङ्घ (एनभिए) को आयोजनामा भएको उक्त प्रतियोगितामा आर्मीले मणिमुकुन्द भलिबल क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै अन्तिम चारको यात्रा तय गरेको हो । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकूद परिषद् (राखेप) को कभर्डहलमा भएको खेलमा आर्मीले मणिमुकुन्दलाई २५-१९, २५-१८ र २५-१७ ले पराजित गरेको हो । यस्तै, बुधबार भएको अर्को खेलमा एपीएफले बुद्ध टोललाई २५-१८, २५-१७ र २५-११ को सोझो सेटमा पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गरेको छ ।

प्रतियोगितामा महिला तथा पुरुषतर्फका विजेता टोलीले जनही रु दुई लाख तथा उपविजेताले रु एक लाख पुरस्कार पाउनेछन् । त्यसैगरी तेस्रो हुने टोलीले रु ५० हजार प्राप्त गर्नेछ । त्यस्तै दुवैतर्फका सर्वोत्कृष्ट घोषित हुने खेलाडीले जनही रु २५ हजार पाउनेछन् भने विधागततर्फ उत्कृष्ट हुने खेलाडीले जनही रु दश हजार पाउनेछन् ।