गुल्मी । जिल्लाका भित्री सडकहरुमा चल्ने गाडीहरुले मनपरी रुपमा यात्रुहरुबाट भाडा अशुलेको विरुद्ध जिल्ला प्रशासन कार्यालयले कडा कदम चालेको छ । सोमबार यातायात ब्यवसायीहरुलाई जिल्ला प्रशासन कार्यालयमा बोलाएर जिल्ला भित्रका जुन सुकै भित्रि सडकमा चल्ने गाडीहरुले यात्रुहरुबाट अनिवार्य टिकट काटनु पर्ने निर्णय गरेर जथाभावी भाडा अशुल्ने प्रवृत्ति रोक्न कदम चालेको हो ।
जिल्ला प्रशासनमा भएको सात बुँदे निर्णयमा यातायात ब्यवसायीहरुले यात्रुहरुलाई तोकिएको भाडा मात्र लिने, टिकटको ब्यवस्था गर्ने र क्षमता भन्दा बढी यात्रुहरु नराख्ने निर्णहरु भएको प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले जानकारी दिए ।
त्यस्तै वर्षायामा पहिरोका कारण यातायात अबरुद्ध हुन नदिन हरेक सडकहरुमा डोजर स्टाण्डबाई राख्ने निर्णय भएको प्रजिअ केसी बताए । गाडी चालकले यात्रुहरुलाई अभद्र ब्यवहार गर्ने र मोवाईल प्रयोग गरी यात्रा असुरक्षित हुने गरेको पाईएकोले अबदेखि चालकले मोवाईल चलाउन नपाईने निर्णय समेत भएको छ । रातो प्लेटका गाडीहरुले अबदेखि यात्रु ओसारपसार पनि गर्न नपाउने भएका छन ।
त्यस्तै २० वर्ष पुराना गाडीहरु चल्नबाट पनि रोक लगाउने निर्णय भएको छ । ईन्धन डिजेल पेट्रोलको समायोजन अनुरुप सार्वाजानिक गाडीहरुको भाडा पनि समायोजन गरी सो को जानकारी यस कार्यालयमा पठाउने जिल्ला प्रशासनले जनाएको छ । त्यस्तै चालकले मापसे गरे नगरेको चेक जाँच पनि प्रहरीले नियमित रुपमा कडाईका साथ गर्ने भएको छ । कतै टिकट नकटाई यात्रु ओसार पसार गरेको र तोकिएको भन्दा बढि भाडा लिएको पाईए प्रशासनले कार्बाही गर्ने प्रजिअ केसीले चेतावानी दिएका छन् ।
उता चन्द्रकोट गाउँपालिकाको चोरकाटे शान्तिपुर सडक पिच भई सक्दा पनि कच्ची रोड छँदाकै भाडा अशुल्ने गरेको बिरुद्ध आवाज उठेपछि नयाँ भाडादर कायम गरिएको गुल्मी यातायात ब्यवसनयी संघका सञ्चालक तथा रुट ब्यवस्थापन समिति संयोजक महेशकुमार राजभण्डारीले जानकारी दिए । प्रहरी र ट्राफिक प्रहरीले गरिएका निर्णयहरु अक्षरस कार्यन्वयनमा ल्याए यात्रुहरु ठगिनबाट बच्नुका साथै दुर्घटना न्युनिकरणमा समेत टेवा पुग्ने देखिन्छ ।
प्रजिअ केसीका अनुसार जिल्ला प्रशासनको लिन आउने सेवाग्राहीरुलाई राहदानीको अनलाईन फाराम भर्ने, फोटा खिच्ने लगायतका कामहरुमा प्रशासन बाहिरका पसलेहरुले जथाभावी रकम अशुलेर ठग्ने गरेकोप्रति ति पसलेहरुलाई विभिन्न काम गरे बापदको रकम निर्धारण गरी एकरुपता ल्याईएको छ । १० रुपैयाँको टिकटलाई बढि पैसा लिएर बेचेको पाईएकोले त्यो पनि रोक लगाईएको छ । टाढाबाट आएका सेवाग्राहीलाई छिटो सेवा दिन जनशक्ति अभावका कारण एकदेखि अर्को फाँटको कर्मचारीले सघाउने ब्यवस्था समेत गरिएको प्रजिअ केसीको भनाई छ ।
प्रतिक्रिया