ताजा अपडेट »

बुटवलमा मोटरसाइकल चोरीमा संलग्न गिरोहका १२ जना पक्राउ

सोमबार, २५ असार २०८०
2 Shares

बुटवल । ईलाका प्रहरी कार्यालय बुटवलले मोटरसाइकल चोरीमा संलग्न १२ जनालाई पक्राउ गरी सोमबार सार्वजनिक गरेको छ । विभिन्न समयमा विभिन्न स्थानबाट समूह बनाई चोरीमा संलग्न युवाहरुलाई पक्राउ गरी थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा बुटवल उपमहानगरपालिका–३ ज्योतिनगरका १९ वर्षीय तरुन राना, तिलोत्तमा नगरपालिका–६ का २५ वर्षीय हितेश राना, २४ वर्षीय दिपेश थापा, तिलोत्तमा–४ बस्ने १८ वर्षीय अमाकाश नेपाली, नवलपरासी रामग्राम नगरपालिका–१४ बस्ने ४३ वर्षीय सुनिल कुमार चौधरी, रामग्राम–१६ का २० वर्षीय करन थारु, गुल्मी घर भई हाल तिलोत्तमा ५ बस्ने २६ वर्षीय सरोज थापा, सोही ठेगानाका २६ वर्षीय दिपक रेगामी, बाग्लुङ बरेङ गाउँपालिका ५ घर भएका १९ वर्षीय आशिष सामत उनका दाइ २० वर्षीय दिपक सामत, बरेङ ५ कै २९ वर्षीय गारे भन्ने प्रमोद पुर्जा, र २२ वर्षीय मिलन खत्री गरेका छन् ।

पक्राउ परेका आरोपितहरुले आफूहरु बीच विभिन्न समूह बनाएर रुपन्देहीका विभिन्न ठाउँबाट मोटरसाइकल चोरी गरी विक्री गर्ने गरेको ईला प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक दानबहादुर थापाले जानकारी गराए । प्रत्येक्ष रुपमा मोटरसाइकल चोरी गर्ने तथा चोरीका मोटरसाइकल तथा तिनका पार्टपुर्जा विक्रिवितरण संलग्नहरुलाई समेत पक्राउ गरिएको उनले बताए । पछिल्लो ३÷४ महिनाको अवधिमा चोरीका घटना अत्याधिक बढेपछि प्रहरी अधिकृतको नेतृत्वमा विशेष अनुसन्धान टोलीनै गठन गरी उनीहरुलाई पक्राउ गर्न सफल भएको थापाले बताए । उनीहरुलाई रुपन्देहीसहित, काठमाडौं, बागलुङ, नवलपरासी लगायतका जिल्लाहरुमा पुगेर पक्राउ गरी बुटवल ल्याइएको हो ।

‘पक्राउ परेका मध्ये केहीले पहिले नै ग्राहक खोजी गरी उनीहरुको माग अनुसारका मोडल तथा कम्पनीका मोटरसाइकल चोरी गरेको भेटियो भने, केहीले चोरी गरेपछि ग्राहक खोजी गरेर विक्री गर्ने गरेको भेटियो ।’–प्रहरी नायव उपरीक्षक थापाले भने, ‘उनीहरुले सार्वजनिक सवारीहरुमा सहचालक, मजदुरी लगायतका काम गर्ने र चोरीलाई नै आफ्नो मुख्य धन्दा बनाएको देखियो ।’ यस क्षेत्रमा मोटर साइकल चोरी गर्ने अझै केही गिरोह सक्रिय रहेको बताउँदै उनले ती गिरोहहरुलाई समेत पक्राउ गर्नेगरी प्रहरीले अनुसन्धान र सक्रियता बढाएको उल्लेख गरे ।

प्रहरीले सोमबार हराएर १४ वटा मोटरसाइकल फेला पारी सार्वजनिक गरेको छ । भेटिएका मध्ये ७ वटा मोटरसाइकलको सम्बन्धित धनी पत्ता लागेको र अन्यको समेत सवारी धनी पत्ता लगाएर जिम्मा लगाउने तयारी भएको उल्लेख गरे । यसबाहेक अन्य विभिन्न समयमा चोरीका मोटरसाइकल फेला पारी सवारी धनीलाई बुझाउने काम भैरहेको थापाले बताए ।