बुटवल । चान्द्रमासअनुसार पहिलो साउने सोमवारको व्रत आज सोमवार गरिँदैछ । सौरमासअनुसार यस वर्ष साउन महिनामा अधिकमास परेको छ । चान्द्रमासअनुसार २ वटा सोमवारपछि अधिकमास शुरू हुने नेपाल पञ्चांग निर्णायक समितिले स्वीकृति दिएको पात्रोमा उल्लेख गरिएको छ ।
समितिका सदस्य एवं धर्मशास्त्रविद् प्रा।डा। देवमणि भट्टराई गुरु पूर्णिमादेखि जनैपूर्णिमासम्मका सोमवार व्रत लिनुपर्ने कुरा निर्णय सिन्धुलगायत ग्रन्थमा उल्लेख गरिएको बताए । धर्मशास्त्रका विज्ञ बीच यस वर्षको अधिकमासको साउनमा परेको सोमवार व्रत गर्ने कि नगर्ने भन्नेमा मतान्तर देखिएको छ । नेपालमा सौरमास अनुसारका सोमवार नै व्रत गर्ने परम्परा रहेको समितिका पूर्व अध्यक्ष समेत रहेका धर्मशास्त्रविद् प्रा।डा। रामचन्द्र गौतम बताउँछन् ।
यसपटक साउन महिनामा जम्मा ८ सोमबार व्रत बस्ने भएको छ। यो साउन महिना ३१ अगस्टसम्म रहनेछ। यो वर्ष साउनमा अधिक (मलमास) परेको छ। गुरुपूर्णिमाको एक महिनामा आउने जनैपूर्णिमा यो वर्ष दुई महिनामा पर्नेछ।सोमबारको व्रत पनि लम्बिने देखिन्छ। शुद्ध श्रावण कृष्ण पक्षमा असार २५ र साउन १ गते तथा शुद्ध श्रावण शुक्ल पक्षमा भदौ ४ र ११ गते सोमबार परेको छ।
साउन १, ८, १५, २२ र २९ गते सोमबार परेको छ। चन्द्रमानलाई आधार मानेर व्रत बस्नेले आजदेखि (असार २५) देखि भदौ ११ गतेसम्म आठ वटा सोमबारको बस्नुपर्ने भएको छ। यसपटक साउन महिना ५८ दिनसम्म रहनेछ। यस्तो अवस्थामा ८ साउन सोमबार र ४ प्रदोष व्रत गरी साउन शिवरात्रि पर्व मनाइँदैछ। साउनको अन्तिम सोमबार व्रत र प्रदोषको दुर्लभ संयोग पनि हुनेछ।
साउनमा शिवको पूजा गर्नु धेरै शुभ मानिन्छ किनभने भोलेनाथ साउनमा छिट्टै प्रसन्न हुन्छन् भन्ने मान्यता छ। त्यसैले यो महिना सबै प्रकारका मनोकामना पूरा हुने विश्वास गरिन्छ। भोलेनाथलाई पानीको धारा अति प्रिय हुने मानिन्छ।
प्रतिक्रिया