ताजा अपडेट »

निजी क्षेत्रले बल्ल खोले मुख : 'मिनबहादुर पक्राउपछि व्यवसायी त्रसित भए, अर्थतन्त्रमा असर पर्छ'

आइतबार, २४ असार २०८०

बुटवल । व्यवसायी मीनबहादुर गुरुङ ललिता निवास प्रकरणमा पक्राउ परेको करिब २ सातापछि निजी क्षेत्रले मुख खोलेको छ । निजी क्षेत्रसँग सम्बन्धित व्यवसायीहरुको छाता संगठनहरुले आइतबार एक विज्ञप्ती जारी गर्दै गुरुङ पक्राउपछि  व्यवसायीहरु त्रसित र कमजोर बनेको उल्लेख गरेका छन् । मुलुकको अथर्तन्त्रमा ८१ प्रतिशत हिस्सा रहेको निजी क्षेत्र अहिले समस्यामा रहँदा प्रमाणित हुन नससको प्रकरणमा व्यवसयाीलाई पक्राउ गर्दा निजी क्षेत्र कमजोर भएको बताएको हो।

नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सले संयुक्त प्रेस विज्ञप्ती जारी गरेका हुन् । देशको अर्थतन्त्रको प्रमुख संवाहक रहेका उद्यमी व्यवसायीमाथि पछिल्लो समयमा भइरहेको धरपकडले लगानी थप निरुत्साहित हुन सक्ने देखिएको निष्कर्ष उनीहरुको छ।

‘कानुनविपरीत काम गरेको प्रमाणित भए जो कोही पनि कारबाहीको भागिदार हुनुपर्छ र कारबाही गरिनुपर्छ’, निजीक्षेत्रले भनेको छ, ‘तर कुनै पनि विषयमा आरोप लाग्दैमा उद्यमी व्यवसायीलाई अमर्यादित व्यवहार गर्ने, थुन्ने जस्ता कार्य गर्दा सहन सकिँदैन। यस्ता कार्यले निजी क्षेत्रलाई कमजोर बनाउने मात्रै नभई समग्र मुलुकको आर्थिक विकासमा नकारात्मक असर पर्न सक्छ।’

निजीक्षेत्रले अदालतले दोषी ठहर नगर्दै कुनै पनि व्यवसायीलाई थुन्ने जस्ता कार्यबाट त्रसित हुनु परेको जनाएको छ। कुनै पनि विषयमा आरोप लागेपछि व्यवसायीलाई थुनिहाल्ने नभएर राज्यले व्यवसायीका कुरा सुनिदिनुपर्ने उनीहरुको जोड छ।

‘राज्यको यस्तो प्रवृत्तिले उद्यमी व्यवसायीको मनोबल कमजोर भई हतोत्साही हुने तथा मुलुकको अर्थतन्त्र संकटमा रहेका बेला साना ठूला व्यवसायी एवम् उद्यमीप्रतिको यस्तो व्यवहारले नकारात्मक असर पर्ने भएकाले आवश्यक परे अग्रिम जमानत लिने र आरोप प्रमाणित भएपछि मात्रै कानुनी कारबाहीको प्रक्रिया अघि बढाउन निजी क्षेत्र हार्दिक आग्रह गर्दछ,’ उनीहरुले भनेका छन्। 

मुलुककै ठूलो चेन मार्केट भाटभटेनी सुपर स्टोरका मालिक गुरुङलाई सिआईबीले यही असार १२ गते पक्राउ गरेको छ । अदालतको तारिखमा रहेका उनलाई पुन: पक्राउ गरि हिरासतमा राखिए पनि निजी क्षेत्रले आफ्नो धारणा सार्वजनिक नगरेको विषयलाई ग्लोबल आवाजले उठाएको थियो । 'मिनबहादुर र हामीले खोजेको सामाजिक न्याय' शिर्षकमा शनिबार एक सामग्री प्रकाशन गरिएको थियो ।