ताजा अपडेट »

'चोर्न पल्केका व्यापारी अझै सुध्रिएनन्' : भैरहवा गल्लामण्डीमा पसलै पिच्छे अवैध भारतीय सामग्री

आइतबार, २४ असार २०८०

भैरहवा । जिल्ला अनुगमन समितिले शुक्रबार भैरहवाको गल्लामण्डी क्षेत्रमा अनुगमन गरेको छ । भारतबाट आयात हुने १ सय रुपैयाभन्दा बढीको सामानमा पनि भन्सारमा कडाई हुँदा बजारमा ब्यपारीहरुले अचाक्ली मूल्यवृद्धि गरेको जिल्ला प्रशासान कार्यालय रुपन्देहीमा उजुरी दिएका थिए ।

सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्यालको नेतृत्वमा गल्लामण्डी पुगेको टिमले पहिलो पसल शिवान्स जनरल स्टोरमै कैफियत भेट्यो । पसलमा म्याद केरमेट भएको लेकबेसी ब्राण्डको चुक भेट्यो । यति मात्र हैन सोही पसलमा रहेको काजु, किशमिश लगायतको बिल पनि देखाउन नसकेका भन्दै समितिले उक्त समानहरु जफत गर्दै पसललाई पहिलो पटकको लागि भन्दै १५ हजार रुपैयाँ जरिवाना गरिएको सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्यालले बताए ।

सोही पसलको केही दुरीमै रहेको अन्य खाद्यन्न पसलहरुमा पनि अवस्था उस्तै भएपछि अनुगमन समितिले पसलै पिच्छे समान जफत गर्दै जरिवाना गरेको छ । भारतबाट अवैध बाटो हुँदै नेपाल भित्रिने सामग्रीहरु भैरहवाको गल्लामण्डीमा पसलै पिच्छे भेटिएका थिए । गल्लामण्डीको साहु जनरल स्टोर्स, दुर्गा अम्बे स्टोर्स, विजय किराना पसल, तेजस मिनि स्टोर्स, देविका किराना स्टोर्सलाई समितिले जरिवाना गरेको थियो । यी पसलहरुलाई न्यूनतम १० हजार रुपैया देखि ५० हजार रुपैया सम्म जरिवाना गरिएको अर्यालले बताए ।

भारतबाट बिभिन्न माध्यमबाट तस्करी गरि ल्याईएका खाद्यन्न सामाग्रीको भण्डारण एवम बिक्रि स्थल भैरहवाको गल्लामण्डी क्षेत्र रहेको छ । यो तथ्य लामो समय देखि यहाका ब्यवसायीक संघ एवम प्रशासनलाई थाहा छ । तर कार्यवाही नहुदा यस क्षेत्रमा ब्यवसायीहरुको मनोबल झन भन्दा झन बढी रहेको छ । भारतबाट चिनी, चामल, चिप्स, कुरकुरे, आलु, प्याज लगायत दैनिक उपभोग्यको लागि प्रयोग हुने प्राय सबै खाद्यन्न तस्करी भएर गल्लामण्डी पुग्ने गरेको छ । भारतबाट आउने यस्ता सामाग्रीका कारण बैध बाटो भएर आउने सामाग्रीहरुको बिक्रि बितरणमा कमी आउने गरेको छ ।

सिद्धार्थ उद्योग बाणिज्य संघले भारतीय बजारको कारण नेपाली बजार चलायमान हुन नसकेको बताउदै भन्सार नाकामा कडाई गर्न भन्सार कार्यालयलाई आग्रह गरेको थियो । सोही बमोजिम भैरहवा भन्सार कार्यालयले पनि १ सय रुपैया भन्दा बढीको समान आयात गर्दा भन्सार शुल्क अनिवार्य गर्दै भन्सार बिन्दुमै कडाई गरेको छ । तर अहिले यस क्षेत्रका ब्यवसायीहरुले भरियाहरु मार्फत दैनिक उपभोग्यका समान देखि मोटरपार्टस लगायतका सामाग्रीहरु अवैध तरिकाले मगाउने गरेका छन् । अवैध तरिकाले आएको यस्तो सामाग्रीको सबैभन्दा धेरै भाग यहि गल्लामण्डीमा खपत हुदै आएको छ । सिद्धार्थ उद्योग बाणिज्य संघका अध्यक्ष ठाकुर कुमार श्रेष्ठ भने ब्यवसायीहरुले तस्करीको समान खरिद नगरेको दावी गर्दै आएका छन् । “हामीले संघमा आवद्ध प्रत्येक ब्यवसायीलाई तस्करीका समान नलिन आग्रह गरेका छौ ।” उनले भने “यदि त्यस्ता अवैध सामाग्री खरिद गरिएको भेटिए त्यस्ता ब्यवसायीको बिरुद्धमा संघ पनि उभिने छ ।”

आफू सहायक प्रमुख जिल्ला अधिकारी भए यता मात्रै १५ पटक अनुगमन गरेको सहायक प्रजिअ अर्यालको दाबी छ । “कोभिडले भर्खर मात्रै उत्थान भईरहेका ब्यवसायहरुलाई आक्रमण गर्ने गाली गर्ने हाम्रो उद्देश्य हैन ।” उनले भने “तर ब्यवसायी पनि सहि हिसाबले ब्यवस्थित तरिकाले ब्यवसाय गर्नुप¥यो । यस्तालाई सुझाव सहित मात्र जरिवाना गरेका हौ ।”