बुटवल । न्युनतम पारिश्रमिक वृद्धिको माग गर्दै नेपाल ट्रेडयुनियन (जिफन्ट) लुम्बिनी प्रदेशक कमिटीले श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई ज्ञापनपत्र बुझाएको छ । जिफन्टले आइतबार श्रम तथा रोजगार कार्यालय बुटवलमार्फत मन्त्रालयलाई ध्यानकर्षण्का लागि ज्ञापनपत्र बुझाएको हो ।
विभिन्न नारा लेखिएको प्लेकार्डसहित कार्यलयमा पुगेको टोलीले असार भित्रै श्रमिकहरुको न्युनत ज्यालादर वृद्धि गरी घोषणा गर्न माग गरेको छ । ‘ज्याला र श्रम, हरेक देशको सामाजिक आर्थिक परिवर्तन र श्रमिकहरुको जीवन स्तरसँग गासिएको विषय हुँदा विश्वव्यापी रुपमा आन्दोलनको रूप लिएको छ । जबसम्म श्रमिकहरु ज्यालाले परिवारको न्युनतम आवश्यकता पूरा गर्न नसकेर समाजमा मर्यादित जीवन बाच्न सक्दैनन्, तबसम्म त्यो समाज वा राष्ट्र सुखी, सभ्य र समुन्नत हुन सक्दैन ।’– विज्ञप्तीमा उल्लेख गरिएको छ । प्रत्येक जनताले गास, बास र कपास, स्वास्थ्य र शिक्षा जस्ता आधारभूत आवश्यकताबाट बञ्चित हुन नपरोस भन्ने कुरामा ध्यान दिनु राज्य र सभ्य समाजका सम्पन्न नागरिकहरुको कर्तव्य भएको उल्लेख गरिएको छ । श्रमिक जनताको जीवनस्तर माथि उठाउनका लागि उनीहरुको न्यूनतम आवश्यकता पूरा गर्न सक्ने गरी ज्याला वृद्धि गर्नुपर्ने जिफन्टले जनाएको छ ।
जिफन्ट लुम्बिनी प्रदेश अध्यक्ष होमाकान्त काफ्लेको नेतृत्वमा गएको टोलीले श्रम तथा रोजगार कार्यालय बुटवलका प्रमुख गिरीराज ज्ञवालीलाई बुझाउँदै दैनिक ज्याला, पिस रेट, करार तथा ठेक्कामा काम गर्ने श्रमिकका ज्याला र पारिश्रमिक वृद्धि गर्न माग गरेको थियो । यसैगरी सडक व्यापार स्वरोजगार श्रमिकहरूका लागि व्यवसाय गर्न स्थान यथाशीघ्र सूनिश्चित गर्नुपर्ने माग राख्दै यदि समयमै श्रमिकहरूको पारिश्रमिक वृद्धि गरिएन भने देशभरका श्रमिक आन्दोलनमा उत्रिन बाध्य हुने बताएका थिए । जिफन्ट रुपन्देही अध्यक्ष केशव गौतम तथा बुटवल उपमहानगरका अध्यक्ष अमित बहादुर क्षेत्री आचार्य समेतको सहभागीतामा ज्ञापनपत्र बुझाउन पुगेको टोलीसँग कुरा गर्दै श्रम कार्यालयका प्रमुख ज्ञवालीले सम्बन्धित ठाउँमा गुनासो पुर्याइदिने प्रतिवद्धता गरे ।
प्रतिक्रिया