तिनाउ । सामुदायिक वन समन्वय समिति, तिनाउ-पाल्पाले सुकेतालमा रहेको शिवगुफा र सुपारीथरि सामुदायिक वन उपभोक्ता समूहका उपभोक्ताहरुलाई शुक्रबार आँपको बेर्ना वितरण गरेको छ । स्थानीय उपभोक्ताहरुको आयआर्जनमा टेवा पुराउने हेतूले आँपको बेर्ना समूहमै गएर बाँडिएको समितिका अध्यक्ष पदमलाल शाक्यले बताए ।
लुम्बिनी प्रदेश,वन तथा वातावरण निर्देशनालयका निर्देशक दधिलाल कंडेलले उपभोक्ताहरुलाई आँपको बेर्ना बाँड्दै समूहको आयस्तरलाई उकास्न समन्वय समितिले खेलेको भूमिका प्रशंसीय रहेको बताए । साथै उनले भने–‘हाम्रा उपभोक्ता समूहले आम्दानी बढाउने खालको बेर्ना लगाएर वनप्रतिको निर्भरता घटाउनु पर्नेछ ।’ सामुदायिक वन समन्वय समितिका पूर्वअध्यक्ष एवम् सल्लाहकार राजेश श्रेष्ठले फलफूलका बेर्ना रोपण गरेर आम्दानी बढाउन सकिएमा जाती हुने बताए ।
बेर्ना खरिदका लागि तिनाउ गाउँपालिका,पाल्पा र बुटवल उपमहानगरपालिका,रुपन्देहीले तिनाउ जलाधार संरक्षण कार्यक्रम अन्तर्गत सहयोग गरेको समितिका वरिष्ठ उपाध्यक्ष दलबहादुर गुरुङले बताए ।
प्रतिक्रिया