ताजा अपडेट »

पानीमा क्याराभानले गरेको पिच भत्काउन निर्देशन

शुक्रबार, २२ असार २०८०

जाजरकोट । नयाँ सहर आयोजनाले रुकुमपश्चिमको चौरजहारी नगर पालिकाको मुख्य बजार लाइनमा गरिएको कालो पत्रे उप्काउन  निर्देशन  दिएको छ  । रुकुमपश्चिम  नगरपालिका–२  स्थित  नयाँ  बजारमा  बुधबार   बेलुका  गरिएको   कालोपत्रे   उतारेर  नयाँ कालोपत्रे  गर्न निर्देशन दिइएको  हो  । चौरजहारी  नयाँ  सहर   आयोजना  कार्यालय अन्तर्गत  क्याराभान  कन्स्ट्रक्सनले कालोपत्रे   गर्ने ठेक्का  पाएको   थियो । पानी परेको र  सडकमा  भल बगिरहेको बेला कालोपत्रे गरिएपछि  आयोजनाले  पुनः कालोपत्रे  गर्न निर्देशन दिइएको  हो  ।

 कमसल कालोपत्रे गरिएको भन्दै स्थानीयवासी र सरोकार निकायले चासो दिएपछि बिहीबार आयोजना कार्यालयले अनुगमन  गरेको थियो । आयोजना   प्रमुख   सुशील  आचार्यका अनुसार पानी  परिरहेको र  सडकमा  समेत  पानी जम्मा भइरहेको बेला  कालोपत्रे  हाल्ने   काम  भएको  पाइएकाले  तत्काल  सो   काम  सुधार   गर्न  ठेकेदार  कम्पनीलाई निर्देशन दिइएको  छ । 

पानीका बीचमा गरिएको  कालोपत्रे  निकाल्ने र बिग्रेको   काम  सुधार  गर्न ठेकेदार  कम्पनी सहमत भएको  छ । चौरजहारी  नगरपालिका  प्रमुख  पुष्प  वादी, नयाँ  सहर    आयोजना  प्रमुख  सुशील  आचार्य,  क्याराभान   कन्स्ट्रक्सनका   प्रतिनिधि   यमराज थकाली, इन्जिनियर ,स्थानीयवासीसहितको  छलफलले   बिग्रेको   काम  सुधार्न  सहमति  निकालेको हो ।  चौरजहारी  नगरपालिका  प्रमुख  पुष्प  वादीले  झरी कै बिच  कालो पत्रे   भइरहेको   खबर  पाएलगत्तै  तत्काल काम  रोक्न र बिग्रेको काम   सुधारेर  गुणस्तरीय  बनाउन  निर्देशन  दिइएको   बताए ।

 ठेकेदार कम्पनीका प्रतिनिधि यमराज थकालीले  कालोपत्रेको  काम  गर्दै गर्दा पानी परकाले समस्य भएको बताए । स्थानीय क्षितिज विष्टले स्थानीयले गरेको गुनासो सरोकारवाला निकायले सुनुवाइ  गरेको बताए ।  उनले झरी परिरहेको र भल बगिरहेको बेला  पनि  लापरबाहीपूर्ण तरिकाले कालोपत्रे गरिरहेकाले आफूहरूले सामाजिक  सञ्जाल समेतमा  त्यस कार्यको विरोध गरेको बताए ।  जता पनि कामहरु लथालिंग बनाउनेमा क्याराभानको नाम पहिलो नाममा रहेको छ । भेरी करिडोर भित्र ६ वटा पुल अलपत्र परेको क्याराभान सत्ता र शक्तिको भरमा जथाभावी गर्दै आएको छ ।