भैरहवा । रुपन्देहीको सबैभन्दा दक्षिणमा रहेको छ मर्चवारी गाउँपालिका । भारतीय सीमासँग जोडिएर रहेको मर्चवार क्षेत्रमा पर्ने यो पालिका जनसंख्या, शिक्षा, रोजगारी लगायतको दृष्टिले जिल्लाकै सबै भन्दा तल्लो सूचिमा पर्ने गरेको छ । रुपन्देहीको सबै भन्दा कम जनसंख्या कम ४० हजार ८ सय ८० जना जनसंख्या रहेको मर्चवारी गाउँपालिकामा साक्षरता दर ६८ दशमलव ६९ प्रतिशत मात्र रहेको छ ।
जनसंख्या र शिक्षामा कम रहे पनि स्वास्थ्य क्षेत्रमा पालिकाले आफुलाई जिल्लामै अब्बल साबित गरेको छ । गत बर्ष जिल्लामै सबै भन्दा पहिला पूर्ण खोपको सुनिश्चित पालिका घोषणा गरेको मर्चवारीले यस बर्ष पनि आफ्नो उत्कृष्टतालाई निरन्तरता दिएको छ । मर्चवारी गाउँपालिका जिल्लाकै पहिलो पूर्ण संस्थागत प्रसुति सेवायुक्त ९नो होम डेलिभरी० स्थानिय तह घोषणा भएको छ । यो भनेको यो पालिकामा घरमा प्रसुति हुने महिलाको संख्या शून्य हुनु हो । बिहिबार एक कार्यक्रमका बिच जिल्ला प्रजनन स्वास्थ्य समन्वय समितिले मर्चवारीलाई जिल्लाकै पहिलो पूर्ण संस्थागत प्रसुति सेवायुक्त ९नो होम डेलिभरी० स्थानिय तह घोषणा गरेको छ ।
समितिको सदस्य सचिव समेत रहेका स्वस्थ्य कार्यालय रुपन्देहीका प्रमुख गौरव ढकालका अनुसार कम्तीमा चार पटक गर्भ जाँच गरेका गर्भवती महिलाहरु कम्तिमा ९० प्रतिशत हुनुपर्ने, सुत्केरी भएका मध्ये कम्तिमा ९५ प्रतिशत महिलाहरूले दक्ष प्रसूतिकर्मीहरुको उपस्थितिमा स्वास्थ्य संस्थामै प्रसूति गराएको हुनुपर्ने, घरमा हुने प्रसृति शून्य हुनुपर्ने, तीन पटक सुत्केरी जाँच कम्तीमा ९० प्रतिशत गराएको पालिकालाई पूर्ण संस्थागत प्रसुति सेवायुक्त स्थानिय तह घोषणा गर्न सकिन्छ । “यो सबै मापदण्ड मर्चवारीले पुरा गरेको कारण उसलाई पूर्ण संस्थागत प्रसुति सेवायुक्त स्थानिय तह घोषणा गरिएको हो ।” ढकालले भने
नेपालको संविधान तथा सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ द्वारा प्रदत्त महिलाको सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य सम्बन्धी हकको कार्यन्वयन गर्ने उद्देश्य सहित नो होम डेलिभरीको अवधारणा ल्याईएको जिल्ला प्रजनन स्वास्थ्य समन्वय समितिका अध्यक्ष उमाकान्त चपाईले बताए । यस्तै यसको उद्देश्य गर्भावस्थादेखि सुत्केरी अवस्थासम्मको हेरचाह तथा सेवाको पहुँच, प्रयोग तथा गुणस्तर अभिवृद्धि गरी यसलाई निरन्तरता दिने पनि रहेको उनको भनाई छ । “घरमा हुने सुत्केरीलाई निरुत्साहित गर्दै शुन्यमा झार्ने तथा सुरक्षित प्रसूतिलाई संस्थागत गर्दै त्यसको दिगोपनाको सुनिश्चितता कायम गर्छ ।” चपाईले भने “दक्ष स्वास्थ्यकर्मीबाट स्वास्थ्य संस्थामै गुणस्तरीय सुत्केरी सेवा प्रदान गरी मातृ तथा नवजात शिशुको मृत्युदरलाई घटाउन पनि मद्दत पुग्छ ।”
चपाईले मर्चवारीले स्वास्थ्य क्षेत्रमा आफुलाई अब्बल साबित गरेको बताए । उनले रुपन्देही जिल्लामा विकसीत पालिकाहरु रहे पनि अहिले सम्म पूर्ण संस्थागत प्रसुति सेवायुक्त स्थानिय तहको मापदण्ड पुरा गर्न नसकेको बताए । “यसले त्यस्तो पालिकालाई दबाब दिने काम समेत गर्छ ।” उनले भने ।
संस्थागत प्रसुति सेवाको लागि पालिकाले आकर्षक योजनाहरु लागु गरेको छ । स्वास्थ्य संस्थामा जन्मिएका बालिकाको हकमा पालिकाले २० हजार रुपैयाको बीमा गरिदिएको छ । यसले पनि गर्भवती महिलाहरुलाई स्वास्थ्य संस्था प्रति आकर्षित गरेको गाउँपालिकाका अध्यक्ष गया बरईको दावी छ । यस बाहेक पालिकाले महिला स्वास्थ्य सेविका, स्वास्थ्यकर्मिहरु मार्फत गर्भवती महिला, सुत्केरी महिलाहरुको जानकारी लिई उनिहरुलाई सचेतना गराएको कारण पनि यो उपलब्धि पाईएको उनले बताए । गर्भवती महिला तथा सुत्केरीहरुलाई अस्पताल सम्म पु¥याउन पालिकाले २ वटा निशुल्क एम्बुलेन्सको ब्यवस्था गरेको छ ।
चालु आर्थिक बर्षको जेठ मसान्त सम्ममा पालिकामा ८ सय ९ जना बालबालिकाको जन्म भएको मर्चवारी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख फेकन साहले जानकारी दिए । यस्तै प्रोटोकल अनुसार ४ पटक गर्भ जाँच गराएका महिलाको संख्या ७ सय ८४ तथा प्रोटोकल अनुसार ३ पटक प्रसुती जाँच गराएका महिलाको संख्या ७ सय ७० जना रहेको उनले बताए । यस अवधिमा पालिकामा घरमा प्रसुती हुने महिला कोही नरहेको साहले दावी गरे ।
प्रतिक्रिया