भैरहवा । रुपन्देही जिल्लामा पहिलेको तुलनामा भोजपुरी मातृभाषा रहेकाहरुको संख्या घटेको तथ्यांकले देखाएको छ । जिल्लामा नेपाली मातृभाषा पछि भोजपुरी बोल्ने जनसंख्या दोश्रो रहे पनि गत जनगणनाको तुलनामा अहिले घटेको देखिएको छ।
तथ्यांक कार्यालय कपिलवस्तुले बुधबार भैरहवामा रुपन्देही जिल्लाको नतिजा सार्वजानिक गर्दै रुपन्देहीमा नेपाली मातृभाषीको संख्या पहिलेभन्दा अहिले बढेको छ जनाएको छ । नेपाली मातृभाषा भएको जनसंख्या २०६८ सालमा ३६ दशमलव ९ प्रतिशत रहेकोमा अहिले बढेर ४२ दशमलव ६ प्रतिशत पुगेको छ । ३६ दशमलव ६ प्रतिशत भोजपुरी मातृभाषीहरु अहिले घटेर ३१ दशमलव ८ प्रतिशत पुगेका छन् । यस्तै अवधी भाषी ६ दशमलव ४ बाट बढेर १० दशमलव १ प्रतिशतमा पुगेका छन । रुपन्देहीमा कुल ४१ मातृभाषा बोलिने गरेको तथ्यांकले देखाएको छ ।
रुपन्देही जिल्लामा पहिलाको तुलनामा पहाडी ब्राहमणको जनसंख्या बढेको तथ्यांकमा उल्लेख छ । २०६८ सालमा कुल जनसंख्याको १५ दशमलव ९ प्रतिशत रहेको पहाडी ब्राहमणको जनसंख्या २०७८ मा बढेर १६ दशमलव ८ प्रतिशत पुगेको छ । यस्तै मगर जाती १० दशमलव ७ प्रतिशतबाट थोरै बढेर १० दशमलव ९ पुगेको छ । थारु, मुसलमान, यादव लगायतको जनसंख्या घटेको तथ्यांकबाट देखिन्छ । जिल्लामा थारुको जनसंख्या २०६८ मा रहेको ९ दशमलव ६ प्रतिशतबाट घटेर ८ हाल ८ दशमलव २ प्रतिशत पुगेको छ । यस्तै मुसलमान ८ दशमलव २ प्रतिशतबाट घटेर ७ दशमलव ७ प्रतिशत र यादवको जनसंख्या ७ दशमलव ४ प्रतिशतबाट घटेर ६ दशमलव ७ प्रतिशत पुगेको तथ्यांक कार्यालयका प्रमुख नन्दलाल कुर्मीले बताए । उनका अनुसार रुपन्देहीमा कुल १ सय जातजातीको बसोबास रहेको छ ।
रुपन्देहीमा २०६८ सालमा ८६ दशमलव २ प्रतिशत हिन्दु धर्म मान्ने जनसंख्या रहेकोमा २०७८ सालमा थोरै बढेर ८७ प्रतिशत पुगेका छन् । यस्तै बौद्ध धर्म मान्ने ४ दशमलव ६ प्रतिशतबाट घटेर ३ दशमलव ८ प्रतिशत ईस्लाम धर्म मान्ने ८ दशमलव २ प्रतिशतबाट झरेर ८ दशमलव १ प्रतिशतमा पुगेका छन् । जनसंख्या बृद्धिदरको दृष्टिले रुपन्देही जिल्ला नेपालकै दोश्रो ठूलो जिल्लामा रहेको छ । सबैभन्दा बढी भक्तपुर जिल्लामा जनसंख्या बृद्धिदर रहेको र त्यसपछि क्रमशः रुपन्देही, चितवन, बाँके र झापा रहेका छन् ।
रुपन्देहीमा २ दशमलव ३३ प्रतिशतले जनसंख्या वृद्धि भएको जानकारी दिएको छ । तथ्यांक कार्यालयका प्रमुख नन्दलाल कुर्मीका अनुसार सबैभन्दा बढी भक्तपुर जिल्लामा ३ दशमलव ३५ प्रतिशत बार्षिक जनसंख्या बृद्धिदर रहेको छ । भक्तपुरमा २०६८ सालमा जनसंख्या ३ लाख ४ हजार ६ सय ५१ रहेकोमा २०७८ मा ४ लाख ३२ हजार १ सय ३२ पुगेको छ । रुपन्देही जिल्लामा २०६८ सालमा जनसंख्या ८ लाख ८० हजार १ सय ९६ जना रहेकोमा २०७८ सालमा ११ लाख २१ हजार ९ सय ५७ पुगेको छ ।
२०७८ सालको जनगणना अनुसार रुपन्देही जिल्लाको दश वर्षको सरदर वार्षिक जनसंख्या वृद्धिदर २ दशमलव ३३ प्रतिशत देखिन्छ । विक्रम सम्बत २०५८ देखि २०६८ सम्मको दश वर्षमा सरदर वार्षिक जनसंख्या वृद्धिदर २ दशमलव १७ प्रतिशत रहेको थियो । स्थानीय तह अनुसार सबैभन्दा बढी जनसंख्या बुटवल उपमहानगर पालिकामा १ लाख ९४ हजार ३ सय ३५ (१७ दशमलव ३ प्रतिशत) र सबैभन्दा कम जनसंख्या मर्चवारी गाउँपालिकामा ४० हजार ८ सय ८० (३ दशमलव ६ प्रतिशत) रहेको छ । यस्तै प्रति वर्गकिलोमिटर जनघनत्व सबैभन्दा सिद्धार्थनगर नगर पालिकामा २ हजार ६६ जना रहेको छ भने सबै भन्दा कम सैनामैना नगरपालिकामा ४ सय ८३ जना रहेको छ ।
गत दश वर्षको अवधिमा सबै भन्दा धेरै तिलोत्तमा नगरपालिकामा ४९ दशमलव २६ प्रतिशतले र सबैभन्दा कम मर्चवारी गाँउपालिकामा ५ दशमलव ४३ प्रतिशतले जनसंख्या थप भएको छ । जनगणनाको नतिजा अनुसार रुपन्देही जिल्लामा जम्मा २ लाख २७ हजार ३ सय ५१ घर संरचना रहेको छ । यी मध्ये ८१ प्रतिशत आवासीय घर रहेका छ । रुपन्देहीमा ४ दशमलव २ प्रतिशत घर खाली रहेको तथ्यांकले देखाएको छ । रुपन्देही जिल्लामा कुल २ लाख ३८ हजार ३ सय २० परिवार रहेकोमा ती मध्ये ६६ दशमलव ९ प्रतिशत परिवारमूली पुरुष र बाँकी ३३ दशमलव १ प्रतिशत परिवारमूली महिला रहेको कुर्मिले बताए ।
रुपन्देहीमा जनसंख्याको ५ वर्षको उमेर समूह अनुसार १५ देखि १९ वर्ष उमेर समूहमा कुल जनसंख्याको सबैभन्दा बढी प्रतिशत ९१० दशमलव ६ प्रतिशत० रहेको छ । पुरुषको हकमा १५ देखि १९ वर्ष उमेर समूहमा कुल जनसंख्याको सबैभन्दा धेरै ५ दशमलव ४ प्रतिशत र महिलातर्फ २० देखि २४ वर्ष उमेर समूहमा कुल जनसंख्याको सबैभन्दा धेरै ५ दशमलव ३ प्रतिशत व्यक्तिहरु रहेका छन ।
१५ वर्षमुनीका आश्रित जनसंख्या जिल्लाको कुल जनसंख्याको २७ दशमलव १३ प्रतिशत र ५९ वर्ष भन्दा माथिका आश्रित जनसंख्या ८ दशमलव ९४ प्रतिशत रहेको छ । नागरिकता प्रमाणपत्र प्राप्त गर्न योग्य उमेर समूह (१६ वर्ष वा सो भन्दा माथि) का जनसंख्या कुल जनसंख्याको ७० दशमलव ८४ प्रतिशत रहेको छ । क्रियाशील श्रमशक्तिसँग सम्बन्धित उमेर समूह अर्थात् १५ देखि ५९ वर्ष उमेरका व्यक्तिहरु ६३ दशमलव ९४ प्रतिशत छ । सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न सम्भाव्य ६८ वर्ष वा सो भन्दा माथिका जनसंख्या ४ दशमलव ४८ प्रतिशत रहेका छन ।
रुपन्देही जिल्लाको साक्षरता दर ८१ दशमलव २३ प्रतिशत रहेको छ । पुरुषको साक्षरता दर ८८ दशमलव ४ प्रतिशत र महिलाको साक्षरता दर ७४ दशमलव ४ प्रतिशत रहेको छ । २०६८ को जनगणनामा कुल साक्षरता दर ६९ दशमलव ७८ प्रतिशत, पुरुषको साक्षरता दर ७९ दशमलव २२ प्रतिशत र महिलाको साक्षरता दर ६० दशमलव ७९ प्रतिशत रहेको थियो । स्थानीय तहमा बुटवल उपमहानगरपालिकामा सबै भन्दा धेरै ९१ दशमलव ३१ प्रतिशत साक्षरता दर रहेको छ भने सबै भन्दा कम मर्चवारी गाउँपालिकामा ६८ दशमलव ६९ साक्षरता दर रहेको छ ।
जनगणनामा रुपन्देही जिल्लामा कुल १ लाख १३ हजार २ सय ६२ जना बालबालिका मध्ये ६३ दशमलव ९ प्रतिशतले जन्मदर्ता गरेका छन् भने ३६ दशमलव १ प्रतिशतले जन्मदर्ता गरेका छैनन् । स्थानीय तहहरुमा सबैभन्दा बढी कन्चन गाउँपालिकामा ७१ दशमलव ४ प्रतिशत र सबै भन्दा कम कोटहीमाई गाउँपालिकामा ५६ प्रतिशतले मात्र जन्म दर्ता गरेका छन् ।
प्रतिक्रिया