ताजा अपडेट »

तिलोत्तमाका चापागाईद्वारा निर्वाचनमा आफूले ल्याएको मत बराबर रकम आश्रममा दान

बुधबार, २० असार २०८०

बुटवल । तपाईंले आफ्नो जन्मदिन कसरी मनाउनुहुन्छ ? केक काटेर, साथीभाईसँग रमाइलो गरेर वा अन्य केही । तर रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर २ निबासी मोहन चापागाईंले आफ्नो जन्मदिनलाई रचनात्मक कामका लागि उपयोग गरेका छन् । प्रेस चौतारी नेपालका पूर्व केन्द्रीय उपाध्यक्ष एवं लुम्बिनी प्रदेश विभागीय इन्चार्ज रहेका चापागाईंले जन्मदिनमा वृक्षारोपणका साथै अनाथ आश्रमममा सहयोग गर्दै मनाएका हुन् ।

जन्मदिनमा वृक्षारोपणको सुरुवात उनले दुई वर्षअघिदेखि नै थालेका थिए । यसपल्ट उनले नमस्ते नेपाल नामक संस्थाको संयोजनमा आफ्नै निबास परिसरमा रुद्राक्षको बिरुवा रोपेका छन् भने नेपाल अविनाश अनाथ आश्रम कोटिहवामा आर्थिक सहयोग गरेका छन् । गत स्थानीय तहको निर्वाचनमा एमालेबाट तिलोत्तमा नगरपालिकाको मेयरको उम्मेदवार बनेका उनी काँग्रेसका रामकृष्ण खाँणसँग झिनो मतान्तरले पराजित भएका थिए । चापागाईंले आफूले ल्याएको मत बराबर २३ हजार ६३१ रुपियाँ अनाथ आश्रमका लागि सहयोग गरेका हुन् । चापागाईंले आश्रमका अध्यक्ष कृष्ण ज्ञवालीलाई सो रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् ।

जन्मदिन कुनै रचनात्मक कार्य गरी मनाउनुपर्छ भन्ने कुराको सन्देश अरुलाई पनि दिनका लागि आफूले यस्तो गरेको चापागाईंले बताए । “मेरो उद्देश्य सामाजिक र रचनात्मक कामको सन्देश फैलाउनु हो”–उनले भने ।