ताजा अपडेट »

पर्या कवितामा घोत्लिदा

बुधबार, २० असार २०८०

नुन–तेल पुस्तकको परिचर्चा कार्यक्रममा लेखक जीवन क्षेत्रीले बुटवलमा भनेका थिए–देशमा हरेक कुराहरु उठ्छन् तर उठ्दैनन जलवायु परिवर्तनका असरका कुराहरु नेतृत्व तहमा । बाटोघाटो,विकास निर्माणका लागि वजेट विनियोजन हुन्छन् तर छुट्टिदैनन् जलवायु परिवर्तनका असरलाई न्यूनीकरण र अनुकूलताका लागि वजेट । यो कुरा नै काफी छ । वातावरण जोगाउन कसैलाई मतलव नै छैन कि जस्तो लाग्छ घरिघरि ।

यतिबेला नै पर्या साहित्य सिद्धान्त र सिर्जना पुस्तक बजारमा आइपुगेको छ । पुस्तकमा केही सिद्धहस्त र नवसर्जकहरुका पर्या कविताहरु समाहित छन् । कविताले पर्या साहित्यलाई जिउँदो राख्न हरदम कोसिस गरेका छन् । पर्यावरणलाई जोगाउनका निम्ति उत्प्रेरक सन्देशहरु प्रवाह गरेका छन् । प्रकाशित पर्या कविताहरुले पर्यावरण संरक्षणमा लागि परेका पर्या साहित्यकार र संरक्षणकर्मीहरुलाई कतै च्वाँस्स गोप्छ,कतै सतिसालझैं डिंग उभिन आँट दिन्छ र कतै संरक्षण विरुद्धमा लागेकाहरुप्रति जुध्न प्रेरित गर्दछ ।

कविताहरु क्रान्तिका बीऊ हुन् । जहाँ छरिन्छन् ,त्यही विचार जन्माउँछन् । बारुदजस्तै पड्किन्छन् । उक्त पुस्तकमा आएका कविताहरु पनि ठाउँठाउँमा पड्केका छन् । पर्या साहित्यका पारखी ती कविहरु आफूलाई संरक्षणको नायक बनाएका छन् । कवितामा संरक्षणलाई मूलमन्त्र बनाएका छन् । संरक्षणविनाको संसारको कल्पना गर्न समेत नसक्ने उनीहरुका कविताले बोलिरहेका छन् ।
फूलको प्रश्न कवितामा कृष्ण बाउसे यसरी बम्केका छन्–
भर्भराउँदो यौवनको मिठास लिन नपाउँदै
टिपेर मन्दिरमा पु¥यायौं
र हुर्यायौ मूर्तिको पाउमा मलाई
कसैका देवता खुसी हुन्छन् भने ठीकै छ
भनेर सहिदिएँ ।

फुल्न,सुगन्धित हुन् र आफ्नो आयूसम्म बाँच्न पाउनु फूलको अधिकार हो । तर कसैका नीजि र क्षणिक स्वार्थका लागि फूल चुँडाउनु र समर्पण गर्नुको रहस्य कसरी बुझ्न सकिएला ! यस्तो त्रियाकलापले कसरी संरक्षणमा मलजल पुग्ला ?
मान्छेले उनीहरुलाई देखिसहेनन्
बन्दूक देखाउँदै तर्साउन थाले
जनवारहरु बिस्तारै रुखबाट
अलग्गिन थाले
मान्छेले गुलेली बोक्न र पासो थाप्न थालेपछि चराहरु भाग्न थाले
जनावर र चराहरु भागेपछि
मान्छेले खोलाका माछाहरुलाई
जाल हान्न थाले
माछाहरु पनि भाग्दै भाग्दै
समुद्रतिर हेलिए
तब मानिसले जनावरलाई हान्न तीर र बञ्चरो रुखतिर सोझ्याउन थाले
रुखहरुले आत्मसर्पण गरे,सबै ढले ।

कवि अञ्जना इछमफूलको मान्छे फल्ने रुख को कवितांश हो माथिको । मान्छे कति निर्दयी छ भन्ने कुरा यही कविताबाट थाहा हुन्छ । सबै कुरा भाग्दै जाँदा सोझो र सीधा रुख आज मान्छेको खास शिकार भएको छ ।

प्रकृतिको सुन्दर सन्तान,रुखलाई आज किन मानिसले काटेर कुरुप बनाउँदैछ । आफ्नो अक्सिजन किन आफै मास्दैछ ? के यसो हुनु गरिवीको पराकाष्टा हो वा विवेकहीनताको प्रमाण ? दङ्गाली कवि गुरुप्रसाद कुमाल,बुलबुलले कालापथ्थरको पीर गरिरहेका छन् । अब के हुन्छ नेपाली आकाशमा यसरी कवितामार्फत प्रश्न गरिरहेका छन् ।
मैले सम्झें कालापथ्थरको कुरा,

जहाँ काला विचारका मान्छेहरु उपस्थित थिए ।
सुकोमल हृदयीहरु पथ्थरका दिल लिएर फर्के,
हिमाल पग्लिरहेको देखेनन् उनीहरु
नेपाली आकाशमा ।

जलवायु परिवर्तनका कारण समगरमाथा कतै कालापथ्थरमा परिणत हुने त होइन ? हिमनदीहरु सुकेर पानीको अभावमा दुवाली छेक्दा छटपटिने माछाजस्तै हुने त होइनन् मान्छेहरु ? सग्ला र अग्ला विचार हुने पर्या कविहरुले अब हाम्रा हिमाल,पहाड,तराई बचाउनका लागि आफ्ना पर्या कवितामार्फत सन्देश प्रसारण गर्नुपर्छ ।
संघर्ष कस्तो हुन्छ–

चैतको चर्को घाममा बसिरहेको यो ढुंगा
बर्खाको समय बग्दै आएका यी मसिना बालुवाहरु
रातभरिको बगाइपछि
बिहान स्थीर बगरहरुमा आकार लिएर चुपचाप बसिरहेको
यो मसिनो बालुवाहरुलाई हेरे हुन्छ ।

संघर्षका सन्दर्भमा ठूला ठेलीहरु पढ्नै पर्दैनन् । केवल यही पर्या कविता पढे पुग्छ । प्रकृतिले कति सहजै संघर्षको परिभाषा र अर्थ सिकाउँदो रहेछ । कविताजस्तै संघर्षशील कवि विमला तुम्खेवाको यो बगिरहेको खोलाको कथा हो पर्या कविता पढेपछि संघर्षका रुपहरु आफै उत्रिन्छन् ।
कवि भूपिन खड्का पृथ्वीको हत्या कवितामा यसरी सन्देह प्रकट गर्दैछन् ।
सोच्छु र डराउँछु–
हुने छ युद्ध एक दिन यहाँ पनि अवश्य
जसले हत्या गरिदिएका छन् निहत्था पृथ्वीको
एक दिन मङ्गलको पनि हत्या गर्ने छन् उनीहरुले ।

सायद, पर्यावरणको हत्यारा नै हुन् उनीहरु । जसले मङ्गलको समेत हत्या गर्ने आशंका कविले गरेका छन् । पृथ्वीको हत्याराले किन नगरोस् पनि मङ्गलको हत्या ? यस्तो हुँदा के आउला परिणाम ? कस्तो देखिएला संसार ?
प्वाल परेको छाता पर्या कवितामा डा.देवेन सापकोटाले संवादका रुपमा लेखेको कवितांश यस्तो छ ।
भावुक बन्छ नाति…….
हाम्रो पृथ्वीले पनि
ओजोन ग्यासको छाता ओढेको छ अरे,
बादलपारि अनि आकाशतल
तर छिंडैछिंड परेको छ रे त्यहाँ
तिनै प्वालबाट
सूर्यको परावैगुनी रश्मि छिरी
हानी गर्दै छ रे यो सारा विश्वलाई

किन प्वाल परेको होला ओजोन तह ? कसले पा¥यो प्वाल ? साँच्चिकै त्यो प्वालबाट निस्किेन परावैजनी किरणहरुले कसलाई कति क्षति गर्ला ? छ र हिसाव ? कवितामा चिन्ता छ । चिन्तन छ । कवि वासु शर्माले पानीको पाइलाहरु खोजिरहेका छन्–कवि,कविता र पानीका पाइलाहरु पर्या कवितामा । उनी आफ्नो कवितामा कविलाई भन्दैछन् यसरी–

कवि !
तैंले पसलमा किनेको
झरिलो गोलभेंडा होस्
वा,स्वादिलो स्याउ
अन्न होस्
वा,लत्ता कपडा
फल्न
बन्न
र,
तँसम्म आइपुग्न
कति हिंडे होलान्
पानीका खुट्टा टेकेर
कहाँ कहाँ होलान्
पानीका ती पाइलाहरु
आँखा खोल् कवि
र,
खोज् पानीका पाइलाहरु ।

कविले काफी सन्देश दिएका छन् यसमा । मैले अरु शब्दहरु खर्चिन मनासिव मानिनँ । पर्या साहित्य यतिबेलाको प्राथमिक आवश्यकताभित्र पर्नुपर्ने बेला आइसकेको छ । जीवन र जगतलाई बुझ्ने नै कविहरु हुन् । साहित्यकारहरु हुन् । उनीहरुले जीवन र जगतलाई जोगाउने नै हुन् भने पर्यावरणलाई जोगाउनु पर्नेछ ।

हिजोको हाम्रो उपहार,आज हामीले समुचित प्रयोग गरेर भोलिका सन्ततिलाई दिने भनेकै स्वच्छ र स्वस्थ पर्यावरण नै हो । यही मूलमर्मलाई आत्मसात् गरेर नै प्रा.डा. गोविन्दराज भट्टराई र विजय हितानको सम्पादकत्वमा पर्या साहित्य सिद्धान्त र सिर्जना बजारमा आएको छ । मिहिन सम्पादन उनीहरुको जाँगरको प्रतिफल हो । यो पुस्तकले नयाँ विषयको नयाँ तरिकाले उठान गरेको छ । नयाँ तथा पुराना साहित्यकारहरुलाई पर्या साहित्यमा जोड्न उत्प्रेरित गरेको छ ।