ताजा अपडेट »

रुपन्देहीको कञ्चनमा नयाँ नीति : सरकारी तलब खानेले छोरा/छोरीलाई सामुदायिक विद्यालयमा पठाउनु पर्ने

बुधबार, २० असार २०८०

बुटवल । रुपन्देहीको कञ्चन गाउँपालिकाले जनप्रतिनिधि र सरकारी सेवामा रहेका कर्मचारी सहित सरकारी तलब खाने जो कोही कर्मचारीले आफ्ना छोराछोरीलाई अनिवार्य सरकारी विद्यालयमा पढाउनुपर्ने नीति ल्याएको छ । गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०÷८१ का लागि सार्वजनिक गरेको नीति तथा कार्यक्रममा विद्यालयलाई गुणस्तरीय बनाउने र विद्यार्थीको सङ्ख्यामा वृद्धि गराउनका लागि सरकारी सेवामा रहेको शिक्षक तथा कर्मचारी र जनप्रतिनिधिका छोराछोरीलाई अनिवार्य सरकारी विद्यालयमा पठाउनुपर्ने नीति ल्याएको हो ।

नीति तथा कार्यक्रममा सामुदायिक विद्यालयमा विद्यार्थी संख्या वृद्धि गर्न सामुदायिक विद्यालयका शिक्षक, कर्मचारी, निजामति कर्मचारी, जनप्रतिनिधि र राज्यको श्रोतबाट पारिश्रमिक लिने सम्पूर्ण पदाधिकारीले छोराछोरीलाई सामुदायिक विद्यालयमा भर्ना गर्नुपर्ने नीति अबलम्बन गरिने उल्लेख गरिएको छ । गाउँपालिकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरलाई सुधार्नका लागि गृहकार्य सुरु गरेको अध्यक्ष नवराज ढकालले बताए । सामुदायिक विद्यालयको शिक्षालाई गुणस्तरीय बनाउनको लागि जनप्रतिनिधि, कर्मचारी, शिक्षक तथा सरोकारवालाहरूको भूमिका महत्वपूर्ण हुने भएकोले यो व्यवस्था लागू गर्न लागिएको उनको भनाई छ ।