ताजा अपडेट »

तिलोत्तमाले आरन पेशाको संरक्षण गर्न औजार एवं सामग्री दिने

मंगलबार, १९ असार २०८०


बुटवल । रुपन्देही तिलोत्तमा नगरपालिकाले आरन पेशाको संरक्षण गर्नका लागि औजार एवं सामग्री वितरण गर्ने भएको छ ।आरन पेशा लोप हुन लागेको र यस पेशालाई संरक्षण गर्नु आवश्यक भएकाले आरन पेशाको लागि आवश्यक पर्ने औजार तथा सामग्री वितरण गर्न लागिएको हो ।

आरन पेशा पुरानो र पछिल्लो समय लोप हुनै लाग्ने अवस्थामा रहेकाले यसलाई जोगाउनका लागि पनि आरन पेशाका लागि आवश्यक पर्ने औजार वितरण गर्न लागिएको तिलोत्तमा नगरपालिका प्रमुख रामकृष्ण खाँणले बताए । ‘आरन पेशा धेरै पुरानो पेशा पनि हो । पछिल्लो समय यो लोप नै भएर जाने अवस्थामा रहेको छ ।’–उनले भने ‘यसको संरक्षण र यस पेशामा आकर्षित गर्नका लागि लामो समयदेखि यो पेशा गर्दै आउनु भएकाहरुको समान स्वरुप औजार तथा सामग्री दिन लागिएको हो । यसबाट रोजगारीको सृजनापनि हुन्छ । यसकारण यसको संरक्षण गर्नु पर्छ ।’

नगर प्रमुख खाँणले तिलोत्तमाले सबै पेशा र व्यवसायलाई समान रुपमा हेर्ने गरेको र नगरपालिकाले सहयोग गर्न सक्ने सबै कुरामा आवश्यक समन्वय गरी अभिभावकीय भूमिका निर्वाह गर्ने बताए ।आरन पेश गर्नेहरुलाई अबको केहि दिनमा आवश्यक पर्ने औजारहरु प्रदान गर्ने र त्यसकाले लागि आवश्यक तयारी भइरहेको नगर प्रमुख खाँणले बताए ।

आरन व्यवसायीहरुलाई आवश्यक पर्ने सामाग्री प्रदान गर्नका लागि ३ लाख बजेट विनियोजन गरिएको र यो वर्ष पनि आवश्यक वजेटको विनियोजन गरिएको नगरप्रमुख खाँणले बताए । ‘उहाँहरुलाई आवश्यक पर्ने औजार किन्न भनेर ३ लाख बजेट विनियोजन भएको छ । गत वर्ष पनि ३ लाख नै बजेट छुट्टाइएको थियो । विभिन्न कारणले गर्दा बजेटको कार्यान्वयन हुन सकेन् । यस वर्ष पनि यो पेशालाई जोगाइ राख्न आवश्यक वजेटको व्यवस्था हुन्छ ।’– नगरप्रमुख खाँणले भने ।

नगरपालिकाका सामाजिका विकास शाखाका अधिकृत विनोद ज्ञवालीले आरन व्यवसायीहरुलाई आवश्यक पर्ने औजार तथा सामग्रीहरुको विवरण संकलन भइरहेको र अहिलेसम्म ६ जना आरन व्यवसायीहरुले औजार तथा सामग्री आवश्यक रहेको भनि नगरपालिकामा जानकारी गराएको बताए ।

‘नगरपालिकाले उहाँहरुलाई आवश्यक पर्नेऔजार तथा सामग्री सहितको विवरण पेश गर्नकालागि सूचना जारी गरेका थियौँ । अहिलेसम्म ६ जनाले मात्रै औजार तथा सामग्री को लागि नगरपालिकामा निवेदन दिनु भएको छ । अब केही दिन सम्म विवरण संकलन गछौँ । त्यसपछि उहाँहरुलाई नगरपालिकाले औजार तथा सामग्री प्रदान गर्छ ।’

यी हुन आरन व्यवसायीहरुले माग गरेका सामग्री

तिलोत्तमा ६ का आरन व्यवसायी लिलाबल्लौ वि.क.ले हाते ग्रेन्डर सनासो आवश्यक परेको भन्दै नगरपालिकामा निवेदन दिएको सामाजिका विकास शाखाकाअधिकृत ज्ञवालीले बताए ।

यस्तै तिलोत्तमा १३ की अमृता वि.के.ले ग्रील मेशिन कटर र मेशिन गेलेन्डर, तिलोत्तमा १६ का भागबहादुर विश्वकर्माले ड्रिल मेसिश, गेरेन्डर मेशिन, पंखा रन्दा वलडिङको माग गरेका छन् । तिलोत्तमा १७ का प्रेम बहादुर विश्वकर्माले पखां हथौसा, ग्रेन्डर मेशिन, ड्रिल मेशिन र तिलोत्तमा १७ कै टेकबहादुर कामीले ग्रेन्डर मेशिन, ड्रील मेशिन, पंखा कटर र मेशिन हाइमर आवश्यक परेको भन्दै निवेदन दिएको अधिकृत ज्ञावलीले बताए ।