पर्या साहित्यकार विजय हितान दाइका बारेमा प्रिय मित्र मीन रानाले पटक पटक सुनाउँथे । भन्थे धेरै कुरा । ठूलो पर्या साहित्यकार हुन् भनेर बताइ रहन्थे । म आफू पनि वन,वातावरण र जैविक विविधता संरक्षणको अभियानमा सरिक भइरहेको हुँदा विजय दाइलाई भेट्ने रहर थियो । संयोगले कोरोनाकालमा चलेको वेमिनारमा भेट्ने अवसर मिल्यो । तर धेरैजना देशी,विदेशीहरु सहभागी कार्यक्रममा खासै परिचय हुने अवसर मिलेन ।
दाइ नेपाल आउँदा भेट्ने अवसर मिल्यो । सामान्य चिनजान भो । यसपालि भने तिनाउ गाउँपालिकाको झुम्सासम्म पुगेर वन,वातावरण र जैविक विविधताका बारेमा कुरा गर्ने अवसर मिल्यो । तिलोत्तमा माविमा शिक्षकहरुको कार्यक्रममा नेपाल र बेलायती शिक्षाको अन्तर र समानता विषयमा आफनो विचार राख्ने अवसर दाइलाई दिदा दाइले अनुभवजन्य कुराहरु मिहिन तरिकाले राखे । उनका कुरा सुनेर हाम्रा शिक्षक साथीहरु दंग परेका थिए । ससाना कुराहरुले कति असर र प्रभाव पार्दोरहेछ भनेर विजय दाइ प्रष्ट्याएका थिए । दाइसँग तिनाउ नदीको बहुप्रयोग र यसबाट माथिल्लो तटीय क्षेत्रका बासिन्दाहरुले पाउन सक्ने वा लिन सक्ने सेवा एवम् फाइदाका बारेमा व्यापक छलफल गर्ने अवसर जुरेको थियो ।
प्रा.डा.गोविन्दराज भट्टराई र विजय दाइद्वारा सम्पादित पर्या साहित्य सिद्धान्त र सिर्जना पुस्तक बजारमा आएको हल्ला आउनासाथ हिमालय बुक हाउसमा किन्न दौडिएँ । पुस्तकमा साता एक घोरिएँ, पुस्तकका पानामा धर्का लगाएर पढें । साह्रै सान्दर्भिक पुस्तक रहेछ भनेर सबैलाई सुनाइरहेको छु । यतिले मन बुझेन अनि विजय दाइले पठानुभूति अभिब्यक्त गर्नुपर्छ भनेका पनि थिए । सोही कारण आफ्ना पठानुभूति लेखेको छु ।
वन, वातावरण र जैविक विविधता हामी सबैको चासोको विषय हुन् । यसको संरक्षणबिना मानव सभ्यता जीवित रहन सक्दैन । जीवन र जगत जोगाउन सकिदैंन । मानिस सबैसँग लड्न सक्छ तर वातावरण विरुद्ध लड्नु आफै सिद्धिनु हो । हामी सबै वातावरणका समीपमा छौं । कुनैपनि ठाउँ वा वरिपरिका जैविक (जस्तै मानिस,जीव जनावर, बोटबिरुवा, वनस्पति आदि ) तथा अजैविक (जल, जमिन,ढुङ्गा,माटोको ) सम्मेलन , वस्तुहरुबीचका अन्तर सम्बन्ध नै पर्यावरण हो ।
यही पर्यावरणलाई संरक्षण गर्नका लागि गरिने साहित्यिक गतिविधि, क्रियाकलाप,अभियान र पहल नै पर्या साहित्य हुन् । यीनै बस्तुहरुका समीपमा रहेर गरिने साहित्यिक चिन्तन र अभ्यासका प्रतिफल नै साहित्यिक रचना हुन् भन्ने यही पुस्तक पढेर हेक्का भयो । कसैले माटोलाई सम्झेर,कसैले वनका बोट,विरुवा,वनस्पति,जडीबुटी एवम् कसैले ढुंगा,पानीका बारेमा गहिरिएर आफूलाई सोही विषयमा समर्पित गरेर लेखिने साहित्य नै आखिरमा पर्या साहित्य रहेछ । हामीले लेखेका पर्या साहित्यले संरक्षणका लागि सचेतनाको काम नै गर्दोरहेछ । हामी सफ्टवेयरमा काम गर्दा रहेछौं लाग्यो ।
रुख काट्नेलाई पक्रिनुभन्दा रुख नै काट्न हुन्न भन्ने कुरा कथा,कविता, गजल, मुक्तक, सायरी, हाइकू, निवन्धका माध्यमद्वारा सन्देश प्रस्फुटित गर्नुनै पर्या साहित्य हो । नेपालको सन्दर्भमा यो नौलो प्रयोग हुन सक्छ । तर सिंगो पुस्तकमा पर्या साहित्यका अनेक विधामध्ये केही विधाहरु पुस्तक आकारमा आइपुगेको छ । यही पुस्तकबाट थाहा पाएँ कि केही होनाहार व्यक्तित्वहरुले पर्या साहित्यमा विद्यावारिधि सम्पन्न गरेका रहेछन् । जसलाई तातेताते गराउने काममा प्रा.डा. गोविन्दराज सरले आपूmलाई समर्पित गरेका रहेछन् । यो हामी नेपाली र संरक्षणको अभियानमा सरिक हुनेहरुका निम्ति खुसी कुरा हुन् ।
प्रा.डा. भट्टराईले लेखनकै सिलसिलामा लेखिएका केही कुराहरुले सूक्ष्म तरिकाले मन छोएका छन् –टुसा बेच्ने भएर चुरेका बाँस सबै मासिदैछन् । जब गुराँसका थुँगा टिपेर “औषधियुक्त“ भन्दै सर्वत बिक्रिवितरणको प्रयत्न सुरु भएपछि छिट्टै नै गुराँसको सर्वनाश हुने सम्भावना छ । यो देशबाटै त्यो प्रजाति नै हराउने सम्भावना छ । यो कुरा पढिरहँदा पर्या साहित्यकारहरुले सम्बन्धित क्षेत्रका ती मानिसहरुलाई बेलैमा सचेत गराउनु पनि दायित्व हुन आउँछ । हामी कुन दिन वातावरणीय शरणार्थी हुने छौं ?
पर्या साहित्य,संरक्षणको महत्वपूर्ण पाटो हो । वन,वातावरण र जैविक विविधता माँसिदै गएमा पर्या साहित्यकारले के लेख्लान्,के सिर्जना गर्लान् अनि कसरी बाँच्न सकिएला ? महत्वपूर्ण एजेन्डाहरु उठाउने खास पर्या साहित्यकार नै हुन् भन्ने यसैले सन्देश दिन्छ । पुस्तकमा युद्ध,पर्यावरण तथा वातावरणका बारेमा रक्ष राई र परिवृत्तीय सिर्जना र समालोचनामा ज्ञानबहादुर क्षेत्रीले गहन विचार प्रस्तुत गरेका छन् । उक्त पुस्तकमा विजय हितानको ब्लु प्लानेटका बारेमा व्यापक चिरफार छ । कवि वासु शर्माको कवि,कफी र पानीका पाइलाहरु मिठो कविता छ । डा.देवेन थापाको प्वाल परेको छाता कविताले केही क्षण घोरिन हाल्छ । यो बगिरहेको खोलाको कथा हो कवितामा विमला तुम्खेवा लेख्छिन् –
माफ गर मजाकको पनि हद हुन्छ
म फर्किएर तिमीतिरै उर्लिएँ भने
तिम्रो अस्तित्व समाप्त हुने छ ।
गुरुप्रसाद कुमाल बुल्बुलको (के हुन्छ अब नेपाली आकासमा),अञ्जना इछमफूलको (मान्छे फल्ने रुख ) र कृष्ण बाउसेको (फूलको प्रश्न) कविता पर्यावरणीय कविताका नमूना कविता हुन् । सम्झन लायक कविताहरु हुन् ।
लार्भा मानिसले
खाए यसका हरिया पातहरु
उखेले यसका सम्पूर्ण जराहरु
विस्तारै विस्तारै
खाए पृथ्वीलाई मानिसहरुले
जसरी खान्छन् आमालाई माकुराका बच्चाहरु
पृथ्वीको हत्या शीर्षकको कविता भूपिन खड्काको हो । कति दमदार छ भन्नै पर्दैन ।
मान्छे चराहरुप्रति ऋणी छ –डाक्टर रोशन शेरचनको निवन्ध हो । गतिला कुरा उठाएका छन् चराका बारेमा । साथै उनले आफ्नो निवन्धमार्फत सोधेका छन्–आफ्ना गमलामा खुर्सानीका बोटहरु हुर्किएका छन् तर राष्ट्रिय वनका रुखहरु किन फँडानी भइरहेका छन् ।
यो पुस्तक, वातावरणप्रेमीहरुका लागि अमृत सरह छ । जति पढिन्छ, धेरै वर्ष बाँचिन्छ कि झैं लाग्छ । मनै फुरुङ्ग हुन्छ । मनले शित्तला प्राप्त गर्छ । पर्या साहित्यलाई अघि बढाउन यो पुस्तकले सक्दो सहयोग गर्नेछ । यसबाट सैद्धान्तिक कुराहरु सिकिन्छ । प्रयोगका कुरा पढ्न पाइन्छ । सिर्जनशील बन्ने अवसर प्राप्त हुन्छ । जीवनमा यस्तो पुस्तक पढ्न अवसर पाइएको छ । खुसी लागेको छ । सम्पादकहरुलाई सधैंसधैं यस्तै पुस्तक सम्पादन गर्ने प्रेरणा मिलोस् । हामीले पढ्ने अवसर पाइरहुँ ।
प्रतिक्रिया