ताजा अपडेट »

चुलीडाँडाको चर्चा

सोमबार, १८ असार २०८०

बुटवलबाट ३९ किलोमीटर दूरी पार गरेपछि तानसेन बजार पुगिन्छ । त्यहाँबाट १७ किलोमीटर पूर्वदिशामा आर्याभन्ज्याङ्ग बजार छ । यस ठाउँलाई मगर भाषामा लसुन पाइने स्थानका रुपमा लिइन्थ्यो ।
चर्चित गायक राम थापाले आर्यभञ्ज्याङ्गका बारेमा यस्तो गीत गाएका थिए ।
आर्यभञ्ज्याङ्ग घुम्तिमा लेट भयो सानु ।
बल्ल भेट भयो ।

त्यहाँबाट १६ किलोमीटर पक्की, कच्ची बाटो पार गरेपछि पूर्वखोला गाउँपालिकाको वडा नं. २ मा रहेको जल्पाबजार पुगिन्छ । त्यहाँबाट एक किलोमीटरको दूरीमा ढोलीमारा गाउँ छ । यहाँ अहिले १२ घरमा होमस्टे सञ्चालनमा छ । मगरजातिको बाहुल्यता रहेको यस ठाउँमा जापानीज ओके बाजेको बासस्थान समेत छ ।

ढोलीमारा गाउँबाट तीन किलोमीटर उकालो कच्ची बाटो हिडेपछि चुलीडाँडा पर्यटकीय स्थान पुगिन्छ । त्यहाँ आधुनिक प्रवेशद्वारले आगन्तुक पाहुनाहरुलाई स्वागत गरिरहेको पाउन सकिन्छ । समुद्री सतहदेखि एक हजार सात सय मीटर उचाइँमा रहेको चुलीडाँडाबाट तुँवालो नलागेको बेलामा हिमदृश्यहरु लहरै देखिन्छन् । तराईका फाँटहरु मज्जाले हेर्न सकिन्छ । श्रीनगरडाँडादेखि पहाडी चुचुराहरु आँखैमा सजाउन सकिन्छ ।

चुलीडाँडा पछिल्लो पटक पर्यटकहरुका लागि रोजाइको पर्यटकीय गन्तव्य बनेको छ । गर्मीको मौसममा यहाँ दैनिक सयौंका संख्यामा आन्तरिक पर्यटकहरु चिसो हावा खान आइपुगेको स्थानीय पर्यटनकर्मी माया रानाले बताइन् । उनका अनुसार गर्मी मौसममा चुलीडाँडामा नै बास बस्ने गरी समेत पर्यटकहरु आइपुगेका थिए यसपालि ।

चुलीडाँडामा स्थानीय पूर्वखोला गाउँपालिका, वडा कार्यालय, जल्पा, डिभिजन वन कार्यालय, स्थानीय युवा क्लव, स्थानीय बासिन्दाहरु र प्रदेश सरकारले यहाँ भौतिक संरचना बनाउन सहयोग गरेकाले नै भ्यू टावर, स्वागतद्वार, पिङ्ग, सेल्फी सेन्टर, टिकटक सेन्टर, पानीको फोहोरो, बुद्धको स्तूप बनेका छन् । पुरानो मगरजातिको घरकारुपमा परिचित गोलघर समेत बनाइएको छ ।

चुलीडाँडामा बसेर चारैतिरका दृश्यहरु हेरिरहँदा सबै पीर,व्यथा भुलिने स्थानीयहरुले बताउँछन् । उनीहरुका अनुसार चुलीडाँडाको हरियाली र चल्ने सिरसिर्रे हावाले मनै आनन्द बनाउँछ । सुखी भएको महसुस गराउँछ । गाउँलेहरुले चुलीडाँडा उक्लिने स्थानमा सामुहिक किवी खेती गरेका छन् । किवीका बोटहरुले सुन्दरता थपेको देख्न सकिन्छ । २५ रोपनी जग्गामा लगाइएको किवी,फल्न थालेको रहेछ ।

विगत दुई, तीन वर्षको अभ्यास र प्रयासले गर्दा नै आजको चुलीडाँडा पर्यटकीय गन्तव्य बन्न सकेको हो । यहाँ आउने पर्यटकहरुलाई खान, बस्न र सांस्कृतिक कार्यक्रम हेर्नका लागि स्थानीय ढोलीमाराबासीले १२ घरमा होमस्टे सुरु गरेका छन् । स्थानीयहरुले आफ्नौ खेतबारीमा फलेका अर्गानिक सागपातसँगै मिठो भोजन गराउँछन् । मिठो मगरी लवजसहितको स्वागत सत्कार र पुराना सांस्कृतिक कार्यक्रमहरुले होमस्टेमा बस्न आउने पाहुनाहरुलाई सन्तुष्टि दिदै आएको मायाले बताइन् ।

पाहुनाहरुलाई लोकल कुखुराको झोल, घरपाला रक्सी, बसाइ, स्वागत र विहानमा कोदोको रोटी, चिया , लोकल अण्डा खाजा खुवाएर बिदाइ गर्छन् । सो वापत प्याकेजमा हजार रुपैयाँ लिदा रहेछन् । झ्याउँरे, घाँटु, सालैजो, ठूलो नाँच, पञ्चे बाजा नाँच्ने चलन समेत छ तर त्यसका लागि पर्यटकहरुले आफ्नो इच्छा अनुसार आर्थिक सहयोग गर्दा रहेछन् । त्यसका लागि होमस्टे सञ्चालकहरुले रकम तोकेका भने छैनन् । खानाको मेनू नबनेपनि पाहुनाहरुलाई मनग्यै खुवाउन आफूहरुले स्थानीय परिकारलाई महत्व दिएको होमस्टे सञ्चालकहरु बताउँछन् ।

एउटा घरमा एक कोठा,दुईवटा बिस्तारा र चर्पीको उचित व्यवस्थापन गरिएको छ । आगामी दिनमा एटेच बाथरुमसहितको होमस्टे बनाउन स्थानीय होमस्टे सञ्चालकहरु कम्मर कसेर लागेका छन् । पहलसिंह घर्ती,ढोलीमारा सामुदायिक होमस्टेका अध्यक्ष हुन् । कैलाली, कञ्चनपुर, बाँके, बर्दिया, पाल्पामा रहेका सरकारी कार्यालयका कर्मचारीहरु, लमजुंग, रामेछाप अनि बुटवलतिरका आन्तरिक पर्यटकहरु यसपालि ढोलीमारा होमस्टेमा आइपुगेका थिए । गाउँलेहरुले पर्यटकहरुलाई स्वागत,सत्कार र सेवा गर्न पाउँदा खुसी मानेको अध्यक्ष घर्तीले बताए ।

उक्त होमस्टेको उद्घाटन लुम्बिनी प्रदेश वन तथा वातावरण मन्त्रालयका सचिव उद्धव घिमिरेले गत वर्षको मंसीर २४ गते गरेका थिए । आजका मितिसम्ममा पाल्पाको ढोलीमारा होमस्टेमा पाँच सय बढी आन्तरिक पर्यटकहरु आइपुगेको अध्यक्ष पहलसिंहले बताए । भविष्यमा ३५ घरमा होमस्टे सञ्चालन गर्ने लक्ष्य राखेका उनले यतिबेला गाउँलेहरुले होमस्टे तयारीका कामहरु गर्दै आइरहेको बताए ।

होमस्टेका अध्यक्ष पहलसिंहले पूर्वखोला गाउँपालिका वडा नं. २ को वडापालिकासँग होमस्टे सञ्चालनका बारेमा तालिमको माग गरिएको बताए । आफूहरुलाई पाहुनाको स्वागत,सत्कार,खाना पकाउने तालिम र आवासका लागि प्रवन्ध कसरी गर्ने विषयको तालिम आवश्यक रहेको समेत औल्याए । पर्यटकहरु आउन थालेपछि गाउँमा नयाँ रौनक आएको,आर्थिक उन्नतिमा टेवा पुग्न थालेको,नयाँ परिवेश निर्माण भएको र गाउँमा विकासको लहर आएजस्तै भएको महसुस गरेको र नयाँ सिकाई समेत भएको होमस्टेका अध्यक्ष पहलसिंहले सुनाए ।