ताजा अपडेट »

सुन तस्करी प्रकरण : बुटवलको बालाजीसँगै लक्ष्मीपति पनि मुछियो, दुबै पसलमा शिल

सोमबार, १८ असार २०८०
2 Shares

बुटवल । बुटवलका २ वटा सुन चाँदी पसललाई शिल गरिएको छ । रुपन्देहीको कालिदह नाका हुँदै भारतर्फ लैजादै गर्दा बरामद भएको करिब २ केजी सुन प्रकरणमा बुटवलको अमरपथमा रहेको बालाजी सुनचाँदी पसल र लक्ष्मीपति सुनचाँदी पसलको समेत संलग्ना देखिएपछि शिल गरिएको हो । 

१० असारमा लुम्बिनी साँस्कृतिक नगरपालिका–१३ कालिदह नाका हुँदै नेपालबाट भारत तर्फ लैजादै गर्दा सशस्त्र प्रहरीले सुन बरामद गरेको थियो । सुन बरामद गर्दा पक्राउ परेका व्यक्तिहरुको बयानका आधारमा बुटवलको अमरपथमा रहेको बालाजी र लक्ष्मीपती सुनचाँदी पसलको पनि संलग्नता देखिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको भैरहवा भन्सार कार्यालयले जनाएको छ ।

अहिले बालाजी र लक्ष्मीपती सुनचाँदी पसललाई सिल गरी अनुसन्धान भइरहेकाले विस्तृत विवरण भने खुलाउन नमिल्ने भन्सार कार्यालयका प्रमुख मनिराम अर्यालले बताए ।सुन सहित पक्राउ परेका दाङको घोराही उपमहानगरपालिका १० का हुमानन्द गिरीलाई अहिले जिल्ला अदालतबाट म्याद थप गरि अनुसन्धान सुरु गरिएको छ ।