ताजा अपडेट »

सोमबारदेखि धकधईमा प्रथम रोहिणी महोत्सव

आइतबार, १७ असार २०८०

भैरहवा । रोट्रेक्ट क्लब अफ सेन्ट्रल रोहिणीको आयोजनामा सोमबारदेखि धकधईमा १३ दिने प्रथम रोहिणी सांस्कृतिक महोत्सव २०८० आयोजना हुँदैछ । नव गठित रोट्रयाक क्लब अफ सेन्ट्रल रोहिणीलाई त्यस क्षेत्रमा पहिचान दिलाउने उद्देश्यसहित महोत्सवको आयोजना गर्न थालेको आयोजकले बताएका छन् ।

न्यू एम के साउण्ड सिस्टमको ब्यवस्थापनमा हुन लागेको महोत्सवमा नेपाल र भारतका प्रख्यात कलाकारको प्रस्तुति रहने रोट्रयाक क्लब अफ सेन्ट्रल रोहिणीका अध्यक्ष रामकृष्ण बरालले जानकारी दिए । “मध्ये असारमा रोपाईबाट थाकेको घर फर्केका किसानलाई रमाईलो गराउने लक्ष्य सहित साँझमा मात्र महोत्सव सुरु हुनेछ ।” बरालले भने “असारे झरिले पनि हाम्रो कार्यक्रमलाई असर पुर्याउने छैन ।” महोत्सवमा नेपाली कलाकार प्रिति आले, ज्योती मगर, प्रमोद जख्मीका साथै भारतीय कलाकार रम्पत हरामी, खेसारीलाल २ लगायत एलिजा ग्रुप डान्स र सोननी ग्रुप डान्सको प्रस्तुती रहने बरालले बताए । यस्तै महोत्सवमा ३ दिनको लागि नेपाल र भारतीय पहलवान बीच कुस्ती प्रतियोगिता पनि गराईने उनले बताए ।

महोत्सवमा बिभिन्न ४० वटा स्टलका साथै बाल उद्यानहरु पनि रहेका छन् । महोत्सवको प्रवेश शुल्क १ सय रुपैया तोकिएका छ। विद्यार्थीलाई भने ५० प्रतिशत छुट दिईने क्लबका कोषाध्यक्ष हसामु अलीले बताए । उनले महोत्सवमा करिब २० लाख खर्च हुने र यसको सबै ब्यवस्थापन न्यू एम के साउण्ड सिस्टमले गर्ने बताए । “यस अघि सामाजिक सञ्जालमा गाउँपालिकाको आर्थिक सहयोगमा कार्यक्रम गरिएको हल्ला गरियो, हामीले कुनै सरकारी निकायबाट आर्थिक सहयोग लिएका छैनौ ।” उनले भने “गाउँपालिकामा कार्यक्रम गरिएकोले पालिकालाई संरक्षक राखेका हौं, त्यसैलाई भ्रमको रुपमा फैलाईयो ।”

प्रतियोगिताको सोमबार साँझ ५ बजे प्रतिनिधि सभा सदस्य छविलाल विश्वकर्माले उद्घाटन गर्ने कार्यक्रम रहेको रोट्रेक्ट क्लब अफ सेन्ट्रल रोहिणीका सचिव ईमरान खाँनले जानकारी दिए ।