शुक्रबार विहानैदेखि दिभरजसो झमझम पानी पर्यो । असार-१६ को वर्षाले बुटवल बजारका चारैतिर जलमग्न बन्यो । तिनाउले खतराको तह पार गर्दैगर्दा बाढी मापन केन्द्रले बुटवल बासीलाई एसएमएस तथा अन्य सामाजिक सञ्जालको माध्यमबाट सुरक्षा अपनाउन सचेत गराइरहेको थियो । निरन्तरको वर्षाले बुटवलसँगै जोडिएका चुरे पहाडहरुमा पहिरो खस्ने क्रम पनि जारी नै रह्यो । सहका सडकमा खोलो बग्यो । नबगोस पनि कसरी ? सबै ढल नालीहरू प्लास्टिकजन्य पदार्थले बुजिएका छ्न् ।
दिनहुँ साँझको बेलामा बजारमा देखिने गरेको दृश्य प्रत्येक पसलको अगाडि दिनभरीको प्लास्टिकजन्य वस्तुहरूको थुप्रो राखेर सटर बन्द गरेको देख्न सकिन्छ । प्रत्येक पसलमा अनिवार्य रूपमा राम्रो फोहोरमलाईको भाँडा पनि हुँदैन । न डर छ, न चेतना छ, न कुनै नियम कानुन नै छ । न कुनै नियामक निकाय नै । सरसफाइ गर्ने कर्मचारीहरू बिहान आएर फोहोर उठाउँछ्न् । रातभर हावाहुरी पानीले फोहोर जतासुकै लैजाओस के मतलब भो र ।
फोहोर त उठाउँछ्न् तर सडकको मात्रै । ढल नालीतिर ध्यान जाँदैन किनभने त्यो ढल नाली भनेको फोहोर जम्मा हुने ठाउँ नै हो जस्तो । काम गर्यो झारा टार्यो, पुग्यो । बाहिर हेर्दा सफा नगर देखिने तर भित्र-भित्र जेसुकै होस् । गोलपार्कदेखि राजमार्ग चौराहासम्मको बाटो बर्सेनी बिग्रनुको मुख्य कारण भनेको ढल नालीमा प्लास्टिकजन्य पदार्थ जम्मा हुनु नै हो । ठूलो लगानीमा बर्सेनी संरचनाहरू बनाउने काम हुन्छ । त्यो पनि सुस्त गतिमा । यसरी संरचना बनाउने क्रममा भोग्नु परेको सास्ती त सबैलाई थाहा नै छ । त्यो क्षेत्रका व्यवसायीहरूले पनि ठूलो घाटा बेहोर्नु परेको छ ।
वर्षेनी ठूलो लगानीमा बनाइएका संरचनाको उचित संरक्षण र सम्बर्द्धन नहुँदा बाटो बर्सेनी बिग्रने गरेको छ । बल्लतल्ल धेरै सास्तीका बाबजुद लामो समयमा बनेका सडकको सुरक्षा गर्न पनि त ध्यान जानुपर्ने होइन र ? किन यति उदासिन छन् यहाँका जनता, त्योभन्दा बढी जनप्रतिनिधि ? केमा व्यस्त छ्न् ? हेर्दा सामान्य लाग्ने तर यस्तो सम्वेदनशील कुरामा किन ध्यान जाँदैन ?
वर्षात शुरू हुनुभन्दा पहिले ढल नालीको सरसफाइमा ध्यान दिनुपर्ने हो नि ! बाटोमा खोला बगिसकेपछि अवलोकन गर्नुभन्दा खोला बग्न नदिने उपायको कार्यान्वयन गर्दा ठूलो लगानीको संरक्षण हुने थियो । पीच बाटो बिग्रने मुख्य कारण भनेको बाटोमा पानी जम्मा हुनु नै हो । अर्को कुरा यसरी बगेको बजारको प्लास्टिकजन्य फोहोर तराईका खेतहरूमा पुगेका छ्न् । अहिले किसानलाई धान रोप्ने कि प्लास्टिक टिप्ने भइरहेको छ । माटोमा प्लास्टिक र शिशाका टुक्राहरू मिसिएका छ्न । यसले प्रत्यक्ष असर पार्ने भनेको माटोको उर्वराशक्तिलाई मार्नु नै हो ।
साँच्चिकै भन्ने हो भने सामान्य नागरिकको सुझाव सल्लाह त कार्यान्वयन नै हुँदैन । यो भन्दा अगाडि पनि यसको बारेमा स्थानीय सरकारको प्रतिनिधित्व गर्ने प्रमुख व्यक्तित्व बुटवलका मेयर सापलाई खुल्ला पत्रमार्फत पटकपटक जानकारी नगराइएको होइन । जति भने पनि सरोकारवालाको ध्यान जान सकेको छैन ।
प्रतिक्रिया