ताजा अपडेट »

अग्रहरी सेवा समाजमाको अध्यक्षमा त्रिभुवन

शुक्रबार, १५ असार २०८०

भैरहवा । अग्रहरी सेवा समाजमा त्रिभुवन अग्रहरीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मतिमा चयन भएको छ । शुक्रबार भैरहवामा सम्पन्न अग्रहरी सेवा समाजको चौथो साधारण सभा एवम् अधिवेशनले त्रिभुवनको नेतृत्वमा आगामी कार्यकालका लागि कार्यसमिति चयन गरेको हो ।

समितिको उपाध्यक्षमा दयासागर अग्रहरी, सचिव श्री प्रसाद अग्रहरी, कोषाध्यक्ष मधु अग्रहरी र सह सचिवमा राजकुमार अग्रहरी निर्वाचित भएका छन् । यस्तै सदस्यहरुमा कृष्ण कुमार अग्रहरी, बिभूति प्रसाद अग्रहरी, राजु अग्रहरी, भुवन प्रसाद अग्रहरी, श्यानू अग्रहरी र जनार्दन अग्रहरी निर्वाचित भएको निर्वाचन समिति संयोजक शिव प्रसाद अग्रहरीले जानकारी दिए । समितिको महिला सदस्यहरुमा मीरा देवी अग्रहरी, सुमित्रा देवी अग्रहरी र डाक्टर पारुल अग्रहरी सर्वसम्मतीले निर्वाचित भएका छन् ।

यसअघि समाजको सम्पन्न चौथो साधारणमा बोल्दै पूर्व कानून तथा न्याय मन्त्री बृजेश कुमार गुप्ताले एक अर्काको खुट्टा तानेर भन्दा पनि समाजका सदस्यहरुले एक अर्कालाई सहयोगको भावनामा अगाडी बढ्न आग्रह गरे । उनले अग्रसेन महाराजको सन्तती अग्रहरीहरु रामको बंश रहेको कारण नैतिकता पनि राम जस्तै हुनुपर्ने बताए । “अहिले पैसा र शिक्षा त हामी संग छ, तर संस्कारको कमि छ ।” उनले भने “आफ्लाई रामको बंशज भन्ने हामीहरुले आफ्ना सन्तानलाई घरैबाट राम्रो संस्कार दिन सुुरु गरौ ।”

मधेशी समुदायमा अझै पनि दाईजो प्रथा हट्न नसकेको बताउदै पूर्वमन्त्री गुप्ताले यसलाई निर्मूृल पार्न अग्रहरी युवाहरु अगाडी आउन अपिल गरे । उनले अन्य पेशा जस्तै राजनिति पेशामा आउन युवाहरुलाई आग्रह गर्दै राजनितिबाट पनि समाज सुधार्न सकिने जिकिर गरे ।

अग्रहरी सेवा समाजका अध्यक्ष सियाराम अग्रहरीको अध्यक्षता, पूर्व मन्त्री बृजेश कुमार गुप्ताको प्रमुख आतिथ्यतामा सम्पन्न चौथो साधारण सभामा अग्रहरी सेवा समाजका केन्द्रिय अध्यक्ष योगेन्द्र अग्रहरी, उद्योग बाणिज्य संघ नवलपरासी पश्चिमका अध्यक्ष ओम प्रकाश अग्रहरी, संस्थापक अध्यक्ष जोगेन्द्र अग्रहरी, डाक्टर शकुन्तला गुप्ता, प्राध्यापक बद्री बिशाल गुप्ता लगायतले बोलेका थिए । कार्यक्रमको सञ्चालन समाजका सचिव ओमप्रकाश अग्रहरीले गरेका थिए ।