भैरहवा । सियारी गाउपालिका अध्यक्ष थनेश्वर घिमिरेको घरमा बिष्फोटक पदार्थ राखेको आरोपमा रुपन्देही प्रहरीले घिमिरेको चालक सहित तीन जनालाइ पक्राउ गरेको छ । पक्राउ परेकालाइ प्रहरीले भैरहवामा पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा अध्यक्ष घिमिरेका चालक रुपन्देही कोटहीमाई गाउपालिका वडा नम्बर ४ बस्ने २४ बर्षिय सुरज थारु, सियारी गाउपालिका वडा नम्बर ४ धमसर बस्ने २७ बर्षिय अब्दुल हाकिम खाँन र कोटहीमाई गाउपालिका वडा नम्बर ३ बस्ने २२ बर्षिय सुरज लोहार रहेको रुपन्देही प्रहरी प्रमुख एसपी भरत बहादुर विश्वकर्माले जानकारी दिए ।
बैशाख १ गते सियारी गाउँपालिका वडा नम्बर ४ मा सियारी गाउँपालिकाको अध्यक्ष थानेश्वर घिमिरेको घरपछाडीको पर्खाल नजिकै विष्फोटक पदार्थ फेला परेको थियो । जसलाइ नेपाली सेनाको डिस्पोजल टोलीले डिस्पोज गरेको थियो । यस्तै असार १ गते बिहान सिद्धार्थनगर नगरपालिका वडा नम्बर ४ का भैरव प्रसाद कलवारको शिवम् ईम्पेक्सको (दाना फ्याक्ट्री गोदाम) कम्पाउण्डमा पर्खाल बाहिर विष्फोटक पदार्थ(प्रेसर कुकर बम बिष्फोट भएको थियो ।
सोही दिन मायादेवी गाउँपालिका वडा नम्बर ८ सिटी हस्पिटलको पछाडी रहेको खाली जग्गामा विष्फोटक पदार्थ (प्रेसर कुकर बम) बिष्फोट भएको थियो । यी सबै घटनामा यिनै तीन जनाको संलग्नता देखिएको प्रहरीको आरोप छ । संगठित रुपमा नै आरोपीहरु सहित अन्यले फिरौती रकम माग गर्न घटना घटाएको एसपी विश्वकर्माले बताए । घटनामा अन्यको पनि संलग्नता रहेको प्रहरीको भनाइ छ । उनिहरुको खोजीमा प्रहरी परिचालन गरिएको विश्वकर्माले बताए ।
प्रहरीले आरोपीहरुबाट ५ थान मोबाइल र २ वटा मोटरसाइकल समेत बरामद गरेको छ । उनिहरुमाथी बिष्फोटक पदार्थ सम्बन्धि कसुरमा मुद्दा दर्ता गरिएको प्रहरीले जानकारी दिएको छ । लुम्बिनी प्रदेश प्रमुख प्रहरी नायब महानिरिक्षक उमेशराज जोशीले रुपन्देही प्रहरीको ठूलो सफलता भएको बताए । " संगठित रुपमा फिरौती माग्ने गिरोहलाई नियन्त्रणमा लिन सफल भएका छौ ।" जोशीले भने "रुपन्देहीमा अन्य जिल्लाबाट पनि प्रहरी ल्याएर सुरक्षा कडा बनाएका छौ ।"
प्रतिक्रिया