ताजा अपडेट »

लुम्बिनी प्रादेशिक अस्पतालको अध्यक्षमा भट्टराई

सोमबार, ०६ माघ २०७६

माघ ६,

ग्लोबल आवाज

बुटवल । लुम्बिनी प्रादेशिक अस्पतालको अध्यक्षमा सूर्य बहादुर भट्टराई नियुक्त भएका छन् । सोमबार बसेको प्रदेश ५ को मन्त्रीपरिषद्को बैठकले उनलाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । मानबिकीमा स्नातक गरेका ५५ वर्षीय भट्टराई २०५९ मा पश्चिम नेपाल बस व्यवसायी संघका अध्यक्ष भएका थिए भने पछिल्लो समय रम्भादेवी कलेज अफ मेडिकल साईन्सेजका अध्यक्ष रहेका थिए ।साथै अस्पतालको सदस्यमा रिज्जु श्रेष्ठ (अर्याल) लाई नियुक्त गरिएको छ ।

बैठकले रोल्पा अस्पतालका लागि अध्यक्षमा फविन्द्र अर्याल र सदस्यमा निमकुमारी सिंहलाई नियुक्त गरिएको छ । मन्त्री परिषदले गरेका निर्णयहरु सार्वजनिक गर्नका लागि आयोजित पत्रकार सम्मेलनमा बोल्दै भौतिक तथा पूर्वाधार विकास मन्त्री समेत रहेका चौधरीले प्रदेश सरकारले एक्सो आयोजनाका लागि बजेट विनियोज गरेको समेत जानकारी गराए । प्रदेश स्थापना दिवसका अवसरमा आगामी फागुन १० देखि १२ गतेसम्म दाङको बेलझण्डीमा आयोजना गरिने प्रदेश एक्सोका लागि सरकारले ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको हो ।

कार्यक्रमका लागि विनियोजित बजेट प्रयाप्त नभए पनि त्यसभन्दा माथीको खर्चका लागि सम्बन्धित मन्त्रालयहरुले खर्च गर्ने गरी व्यवस्था मिलाइएको मन्त्री चौधरीले जानकारी गराए । एक्सो आयोजनाका लागि आन्तरिक मामिला तथा कानून मन्त्रालयलाई जिम्मा लगाइएको उनले बताए । मन्त्री परिषद बैठकले प्रदेश विकास पूर्वाधार विकास प्राधिकरणको सिइयो नियुक्तिका लागि ५५ वर्ष ननाघेको कानूनी व्यवस्थालाई परिमार्जन गरी त्यसको ठाउँमा ३५ वर्ष पुरा भएको हुनु पर्ने व्यवस्था गरेको छ ।