ताजा अपडेट »

लुम्बिनी स्वतन्त्र सिलाई व्यवसायीद्वारा निःशुल्क आँखा परीक्षण

आइतबार, २१ साउन २०८०

बुटवल । ‘सम्पूर्ण सिलाई व्यवसायीहरु एकजुट हौ’ भन्ने उद्देश्यका साथ स्थापित संस्था लुम्बिनी स्वतन्त्र सिलाई व्यवसायी संघ, रुपन्देहीले बुटवल–२ उजिरसिंहनगरमा निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न गरेको छ । बुटवल लायन्स आँखा अस्पताल र उजिरसिंह माध्यमिक विद्यालय बुटवल-२ मैनाबगरको सह-आयोजनामा भएको शिविरमा संस्थाले आफ्ना व्यवसायी सदस्य तथा कालिगढहरुलाई निःशुल्क आँखा परीक्षण तथा औषधी वितरण गरेको हो ।

आँखा पाक्ने सरुवा रोग बढ्दै गईरहेको अवस्थामा संघले आफ्ना व्यवसायी सदस्य तथा कालिगढहरुको स्वास्थ्यलाई ध्यानमा राख्दै शिविरको आयोजना गरिएको संघका अध्यक्ष कमल छिनालले बताए । बुटवल लायन्स आँखा अस्पतालका कार्यक्रम संयोजक मनोहर न्यौपानेको नेतृत्वमा खटिएको प्राविधिक टोलीले आँखा परीक्षण तथा औषधी वितरण गरेको छ । उक्त शिविरमा ५२५ जनाले निःशुल्क आँखा परीक्षणपश्चात औषधी प्राप्त गरेका छन् । संघले ५० वर्षभन्दा माथिका वृद्धहरुलाई निःशुल्क औषधी उपचारसहित चश्माको समेत व्यवस्था गरेको छ ।

कार्यक्रममा बुटवल उपमहानगरपालिका-२ का वडाध्यक्ष सुनिल शाक्यको प्रमुख आतिथ्यता रहेको थियो । शाक्यले बुटवलमा लुम्बिनी स्वतन्त्र सिलाई व्यवसायीले व्यवसायीको हकहित र सामाजिक कार्यमा योगदान गरेकोमा प्रशंसा गर्दै संघको विकासका लागि वडाका तर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाए । संघका निवर्तमान अध्यक्ष एवं नेपाल टेलरिङ व्यवसायी महासंघका केन्द्रीय सहकोषाध्यक्ष प्रताप परियारले संघले कोभिडको समयमा आर्थिक तथा खाद्यान्न सहयोगदेखि अन्य व्यवसायिक हितका लागि विभिन्न किसिमका सीपमुलक तालिम प्रदान गरेको बताए ।

शिविरमा सहभागी रुपा विकले संघले गरेको मानवीय सेवाको प्रशंसा गरिन् । संघका अध्यक्ष कमल छिनालले बोल्दै संघ व्यवसायीक र सामाजिक कार्यमा अगाडि बढेको बताउँदै आँखा शिविरमा सहयोग गर्नुहुने सम्पूर्ण महानुभावलाई धन्यवाद व्यक्त गरेका थिए । अस्थायी प्रहरी चौकी मैनाबगरका इन्चार्ज रामप्रसाद पराजुली, उजिरसिंह मा.वि. का लेखा प्रमुख कपिल अधिकारी, संघका उपाध्यक्ष मिना चौधरीलगायतको आतिथ्यता रहेको थियो । संघका अध्यक्ष कमल छिनालको अध्यक्षता, संस्थाका सल्लाहकार शम्भु राईको स्वागत मन्तव्यमा भएको कार्यक्रमको सञ्चालन प्रेस सल्लाहकार कृष्ण रणपालले गरेका थिए ।