बुटवल । लुम्बिनी प्रदेशस्तरीय अन्तरमावि भलिबल प्रतियोगिता बुधबारदेखि बुटवलमा सुरु भएको छ । मदन भण्डारी स्पोर्ट्स एकेडेमी केन्द्रीय भलिबल विभागको आयोजनामा रामनगरस्थित कालिका मानव ज्ञान माविको खेलमैदानमा प्रतियोगिता शुरु भएको हो ।
उदघाटन खेलमा सेन्ट जोसेफले सिद्धार्थ ईङलिस बोर्डिङ स्कुलमाथि २-० को सेटमा जित निकालेको छ । यसैगरी न्यू होराईजन ईङलिस बोर्डिङ स्कुलले दीप बोर्डिङ स्कुललाई २-० तथा उजिरसिह माविले देवदह ईङलिस बोर्डिङ स्कुललाई २-० को सेटमा पराजित गरेको हो ।
मदन भण्डारी स्पोर्ट्स एकेडेमी केन्द्रीय अध्यक्ष ध्रुव आचार्यले कार्यक्रमको उद्घाटन गर्दै खेल र खेलाडीको ब्यवसायिकताको लागि प्रतियोगिताको निरन्तरता जरुरी रहेको बताए । वि.सं. २०६६ साल पुस १७ गते स्थापना भएर खेलकुदका विभिन्न विधामा गतिविधिका साथै नीतिगत रुपमा अन्तक्रिया गर्दै आएको उनले बताए । नेता मदन भण्डारीको सिद्धान्तमा खेल र खेलाडीको भावना मेल खाने भएको पाउने उनले बताए ।
देशभर खेलाडीहरुमा प्रतियोगिता गरिरहँदा खेल र खेलाडीको संस्थाको रुपमा मदन भण्डारी पहिचान बनाउन सफल भएको उनले दाबी गरे । राजनीतिक रुपमा आस्था राख्ने जो सुकै संस्थाको आयोजनामा गरिने खेल गतिविधिमा खेलाडीहरु खेल्नुपर्ने उनले बताए ।
एकेडेमीलाई साझा संगठनको रुपमा उभ्याएको उनले दाबी गर्दै घरघरबाट खेलाडी पहिचान गर्ने र उत्पादनमा अघि बढेको बताए । चैत २३ गतेबाट अन्तर्राष्ट्रिय खेलकुद दिवसको दिन अभियान शुरु गरेर निरन्तर देशका सातै प्रदेशमा खेलकुदका विभिन्न विधामा प्रतियोगिताहरु गरेको उनले बताए ।
राष्ट्रिय टेबलटेनिस, फुट कन्ट्रयाक कराँते, बास्केटबल खुल्ला प्रतियोगिता, सुर्खेतमा रेस्लिङ प्रतियोगिता, झापामा कराते प्रतियोगिता हुँदै समापनका रुपमा लुम्बिनीमा भलिबल गर्न लागेको उनले बताए । उमेर समूहको खेलाडीलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ विद्यालयस्तरको प्रतियोगिता गर्न लागेको उनले बताए ।
कार्यक्रममा प्रदेश खेलकुद परिषद लुम्बिनीका सदस्य सचिव जयप्रकाश भट्टराई खेलकुद आर्थिक समृद्धसँग पनि जोडिएकोहुँदा अब प्रत्यक विद्यालय स्तरबाट नै खेलाडी उत्पादनमा लाग्नु पर्ने बताए । एकेडेमीका केन्द्रीय सदस्य नन्दु काउचा, बुटवल कालिका क्याम्पसका प्राचार्य घनश्याम पाठकले रुपन्देही खेलको उर्वरभूमी भएको बताए । असार १७ गतेसम्म हुने प्रतियोगितामा छात्र १२ छात्रा ७ टिम सहभागी छन । खेल लिगकम नकआउटका आधारमा खेलाइएको प्रतियोगिताका प्रमुख रेफ्री किसन चन्दले बताए । समूह चरण अन्तरगत छात्रतर्फ बुधबारको अन्तिम खेल वर्षाले गर्दा स्थगित भएको छ ।
प्रतिक्रिया