ताजा अपडेट »

'बदमासी गर्ने व्यवसायी'को पक्षमा उभियो रुपन्देही मिष्ठान्न क्याटरिङ्ग तथा पार्टी प्यालेस व्यवसायी संघ

बुधबार, १३ असार २०८०
1 Shares

बुटवल । रुपन्देही मिष्ठान्न क्याटरिङ्ग तथा पार्टी प्यालेस व्यवसायी संघले बदमासी गर्ने व्यवसायीको पक्षमा उभिएको छ । बुटवलमा भएको बजार अनुगमनप्रति असन्तुष्टी व्यक्त गर्दै संघले बुधबार बुटवलमा पत्रकार सम्मेलन गरी सार्वजनिक रुपमै गलत गर्ने व्यवसायीको पक्षमा उभिएको हो । संघले बुटवल उपमहानगरले गरको बजार अनुगमनप्रति असन्तुष्टी व्यक्त गरेको हो ।

असार ६ गते बुटवलको तीनकुनेमा रहेको मनकामना डेरि तथा मिष्ठान्न भण्डारमा उपमहानगरपालिकाले अनुगमन गर्दा अखाद्य बस्तु फेला परेको थियो । उक्त अखाद्य वस्तु जफल गरी नष्ट गरिएकोप्रति ध्यानाकर्षण गराउँदै संघले व्यवसायी तर्साउने काम भएको दाबी गरेको छ । विहानै व्यवसायीले पसल खोल्ने समयमा उपमहानगरपालिकाको अनुगमन टोली आएको बताउँदै उंघले अनुगमन गर्दा विना उपकरण र चेकजांच विनानै अनुगमन गरेको पत्रकार सम्मेलन गरी जनाकारी दिएको छ ।
संघका अध्यक्ष लक्ष्मण पोखरेलले ल्याव टेष्ट विनै अनुगमनमा आएकाहरुले मनलाग्दी शैलीले अनुगमन गर्दा व्यवसायीमा त्रास बढेको भन्दै अखाद्य बस्तु भेटिएको प्रचार गरिएपनि त्यसको पुष्टि अनुगमन समितिले नगरेको बताए । अखाद्य भनेर प्रमाण विनै खाद्य सामग्रीहरु पसल अगाडि नष्ट गरेको भन्दै अध्यक्ष पोखरेलले व्यवसायीलाई अनावश्यक दवाव र तनाव दिने काम गर्न उपमहानगरपालिकालाई आग्रह गरे ।

आफूहरु सधै अनुगमनको पक्षमा रहेको बताउंदै कुनै पनि व्यवसायीलाई व्यक्तिगत रिसिवी जस्तै ठानेर आधार र प्रमाणविना अनुगमन गर्न नपाईने उनले बताए । मनकामना दुध डेरि तथा मिष्ठान्न भण्डारका सञ्चालक तिलकराम खरेलले अनुगमनमा आएको टोलीसंग कुनै पनि उपकरण नभएको र मनोमानी ढंगले फ्रिज खोलेर सामान बरामद गरि नष्ट गरेको बताए । उनले ल्याव टेष्ट विनानै उपमहानगरपालिकालको अनुगमन टोलीले अखाद्य भनि प्रचारबाजी गरेको भन्दै यसबाट व्यवसायलाई ठूलो आर्थिक क्षती पुगेको बताए ।

बुटवल उपमहानगरका अनुगमन शाखा प्रमुख ठगिश्वर पोखरेलले भने सबै प्रक्रिया पूरा गरेर तथा अखाद्य भएकै कारण सामग्री जफत गरेर नष्ट गरिएको बताए । ‘हामीले बरामद गरिएको सामग्रीमा नाङ्गो आखाले देख्न सकिने गरी नै ढुसी लागेको थियो ।’–पोखरेलले भने । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका कर्मचारी, उपभोक्ता हित संरक्षण मञ्च बुटवल तथा स्वयम् डेरी व्यवसायीका प्रतिनिधि समेत उक्त अनगमनमा सहभागी भएको ग्लोबल आवाजसँग बताए । डेरीबाट अखाद्य वस्तुलाई नियन्त्रणमा लिएर नष्ट गरिएको थियो भने त्यहाँ रहेको दुधको नमूना संकलन गरी परीक्षण गरिएको उनले बताए । दुधको नमुनामा समेत फ्याटको मात्रा कम भेटिएको उनले उल्लेख गरे । यसअघिको अनुगमनमा समेत उक्त डेरीमा अखाद्य वस्तु फेला परेको थियो । पटक–पटक सचेत गराउँदा पनि व्यवसायीले अटेर गरेको अनुगमन टोलिले जनाएको थियो ।

संघको ध्यानाकर्षण तथा असन्तुष्टी बारे आफूलाई जानकारी नभएको उल्लेख गर्दै पोखरेलले यदी त्यस्तो नै हो भने छलफलका लागि बोलाएर घटना बारे जानकारी गराउने बताए । आफूहरुले सबै प्रक्रिया पूरा गरी नियम अनुसार नै अघि बढेको बताउँदै उनले अनावश्यक लगाइएको आरोप बारे आवश्यक कारबाहीमा अघि बढ्ले उल्लेख गरे ।